Comments Add Comment

चैत ५ मा नेपाल आएका थिए काठमाडौंका नयाँ संक्रमित, यात्रुको सूची खोज्दै प्रहरी

२ वैशाख, काठमाडौं । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले सम्पर्क सूची केलाउन थालेको छ ।

र्‍यापिङ टेस्ट किट (आरडीटी) बाट तीन जनामा संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको पीसीआर टेस्टबाट दुई जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो व्यक्तिको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छैन ।

नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)का अनुसार उनीहरु ५ चैतमा कतार एयरवेजको फ्लाइट नम्बर ६४४ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानमा १ सय ५३ जना यात्रु सवार थिए ।

यात्रुको सूची मगाएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी प्रहरीले गरिरहेको छ । ‘मंगलबार मात्र कोरोना पुष्टि भएकाले अहिले सबै व्यक्तिको खोजी सुरु भइसकेको छ’, प्रहरी प्रधान कार्यालय, नक्सालका एक अधिकृतले अनलाइनखबरसँग भने ।

विमानमा सवार अधिकांश व्यक्ति विभिन्न जिल्लामा पुगिसकेको सुरक्षा संयन्त्रको भनाइ छ । ‘धेरै संख्यामा यात्रुहरु बाहिर पुगिसक्नुभएको छ, त्यसैले अब हामीले खोजी थाल्नु भन्दा पहिले आफू बसेको स्थानमा रहेका प्रहरीसँग सम्पर्क गरिदिनु हुन अनुरोध छ’, ती अधिकृतले भने ।

अपार्टमेन्टमा ४ सय परिवार

प्रहरीकाअनुसार संक्रमण देखिएको परिवार अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएको थियो ।

ब्लकमा कति जना छन् भन्ने अहिले खुलिसकेको छैन । यद्यपि प्रारम्भिक सूचनामा अपार्टमेन्टमा ४ सय भन्दा बढी परिवार बस्दै आएको पाइएको महानगरीय प्रहरी प्रभाग, काँडाघारीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

अपार्टमेन्टमा ५ वटा भवन छन् ।

त्यहाँको अध्यक्ष र सचिवलगायतका पदाधिकारी छनोटका लागि ८ चैतमा चुनाव भएको थियो । र, अहिले कोरोना संक्रमण देखिएकाहरु पनि चुनावमा सहभागी भएको अनुमान छ ।

अपार्टमेन्टमा बसेकाहरु लकडाउनको समयमा पनि बाहिर आउजाउ गर्ने गरेको पाइएको छ । धुलिखेलका एक व्यक्तिले पनि लकडाउनको समयमा पनि अपार्टमेन्टमा नियमित आउजाउ गरिरहेको पाइएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाकाअनुसार उनको प्रारिम्भक परीक्षण भइसकेको छ ।

‘प्रारम्भमा गरिएको र्‍यापिड टेस्टमा नतिजा नेगेटिभ आएको छ’, तिम्सिनाले अनलाइनखबरसँग भने, ‘विस्तृत नतिजाका लागि पीसीआर टेस्ट गर्ने तयारी गरिरहेका छौं ।’ स्वाब संकलन गरेर धुलिखेल सामुदायिक अस्पतालमा पठाइएको तिम्सिनाले बताए । उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

सनसिटीमा संक्रमण देखिएको सूचना आएपछि उनी प्रशासनको सम्पर्कमा पुगेका थिए ।

प्रहरीको घेराबन्दीमा अपार्टमेन्ट

हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएका प्रहरी टोलीले अपार्टमेन्टमा घेराबन्दी गरेको छ ।

हाल ५ जना प्रहरी त्यहाँ खटिएका छन् । उनीहरुलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरी पीपीई दिइएको छ । ‘अहिले मास्क, पञ्जा लगाएर उहाँहरु खटिनुभएको छ । आवश्यकताअनुसार पीपीई पनि प्रयोग गर्नुहुन्छ’, बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले भने, ‘रोटेसनका आधारमा त्यहाँ खटिने टोली फेरिँदै आएको छ ।’

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीकाअनुसार हालसम्म भित्र रहेका व्यक्तिले खाद्यान्न वा अन्य कुनै कुराको आवश्यकता भएको बारे बताएका छैनन् ।

तर, केही समस्या पर्न सक्ने आशंकामा कुनै गाडी छेऊमा राखेर भित्र सामान पठाउने व्यवस्था मिलाउन लागिएको उनले बताए । बोगटीका अनुसार कुनै किसिमका अफ्ठ्यारो वा आवश्यकता परे गेटमा रहेका प्रहरीलाई सम्पर्क गर्न अपार्टमेन्टमा बसेका व्यक्तिहरुलाई भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment