Comments Add Comment

सागमा पदक जित्ने खेलाडीले पाउन थाले सरकारले दिएको नगद पुरस्कार

बुधबारसम्म सबै खेलाडीले पाउने, प्रशिक्षकले तत्काल नपाउने

२ वैशाख काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगर पुरस्कार पठाउन थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पहिलो चरणमा पदक जित्ने विभिन्न खेलाडीको खातामा गरी ५ करोड रुपैयाँ पठाएको जानकारी दिए ।

‘हामीले फागुन महिना भित्र नै पुरस्कार वितरण गर्ने गरी प्रधानमन्त्रीको समय मेत लिइसकेका थियौँ । त्यहीबेला प्रथानमन्त्री हस्पिटल भर्ना हुनुभयो र रोकियो’ उनले भने, ‘त्यसपछि कोरोना भाइरसले प्रभावित भयो । चैत मसान्तभित्र खेलाडीको खातामै पुरस्कार पठाउने तयारी थियो । तर केही कारणले गर्दा ढिलो भयो ।’

पदक जित्ने कतिपय खेलाडीले भने अहिलेसम्म पुरस्कार पाएका छैनन् । मंगलबार सर्भर डाउन भएर केही खेलाडीको रकम हाल्न नमिलेको र बुधबारसम्म सबै खेलाडीले बैंक खातामा रकम पाउने सिलवालले बताए ।

गत मंसिरमा काठमाडौं पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २०७ पदक जितेको थियो । सागलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेताका लागि पुरस्कार घोषणा गरे पनि खेलाडीले रकम पाएका थिएनन् ।

राखेप सदस्य सचिव सिलवालले खेलाडीले बुधबारसम्म पुरस्कार पाए पनि प्रशिक्षककले भने तत्काल नपाउने बताए । ‘प्रशिक्षकहरुको हकमा पेस्की फर्छौट बाँकी छ । त्यो क्लियर गरेपछि रकम पठाउनेछौँ’ सिलवालले भने ।

मन्त्रालयका प्रवक्ता मानबहादुर बिकले खेलाडीहरुको पुरस्कारका लागि ८ करोड ४५ लाख रुपैयाँ बैंक खातामा पठाएको बताए । उनका अनुसार खेलाडीको पुरस्कारका लागि अर्थ मन्त्रालयबाट २३ करोड ७७ लाख ३३ हजार ६ सय निकासा भएको थियो ।

मन्त्रालयले खेलाडी, प्रशिक्षकलगायत छ सय २८ जनालाई पुरस्कार रकम पठाउनुपर्नेछ । त्यसमा चार सय ९१ जना खेलाडी छन् । खेलाडीको पुरस्कारवापत १८ करोड ३७ लाख रुपैयाँ खर्च हुने राखेपले जनाएको छ ।

१३ औ सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले ९ लाख, रतत जित्ने ६ लाख र कास्य जित्नले ३ लाख रकम पाउनेछन् । यस्तै टिम इभेन्टसमा स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाख रुपैयाँ दरले पाउने घोषणा प्रधानमन्त्रीले गरेका थिए ।

फुटबललाई मात्र २ करोड 

सरकारले घोषणा गरेको पुरस्कारअनुसार सागमा स्वर्ण पदक जितेको राष्‍ट्रिय फुटबल टिमले १ करोड २० लाख रुपैयाँ पाउनेछ । त्यस्तै रजत जितेको महिला फुटबल टिमले ८० लाख रुपैयाँ पाउनेछ । महिला र पुरुष फुटबल टिमा सदस्यले गरी २ करोड रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

४ स्वर्ण, २ रजत र ३ कास्य जितेकी पौडी खेलाडी गौरिका सिंहले ६२ लाख रुपैयाँ पाउनेछिन् । यस्तै करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले पनि २–२ स्वर्ण जितेका थिए । उनीहरुले १५/१५ लाख रुपैयाँ पाउनेछन् ।

पुरस्कारसम्बन्धी संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जित्ने खेलको मुख्य प्रशिक्षकले ५ लाख, रजत जित्ने खेलको प्रशिक्षकले ३ र कास्य जित्ने खेलको प्रशिक्षकले २ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै सहायक प्रशिक्षकमा स्वर्ण जित्नेकोले ३ लाख, रजत जित्नेकोले २ लाख र कास्य जित्नेकोले एक लाख रुपैयाँ पाउनेछन् ।

यो पनि पढ्नुहोस सागका पदक विजेता खेलाडीको पुरस्कारमा कर नकाटिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment