Comments Add Comment

फिफा उपाध्यक्ष भन्छन् : अन्तर्राष्ट्रिय फुटबल २०२० मा हुने सम्भावना कम छ

२ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीको कारण अहिले विश्वभर फुटबल प्रतियोगिताहरु प्रभावित बनेका छन् । फुटबल मैदान कहिले फर्कन्छ भन्ने धेरैको चासो छ । डोमेस्टिक लिगहरु स्थिगित छन् भने अन्तर्राष्ट्रिय ठूला प्रतियोगिता सरेका छन् ।

यसैबीच विश्व फुटबलको सर्वोच्च निकाय फिफाका उपाध्यक्ष भिक्टर मोन्ट्याग्लियानीले सन् २०२१ अघि अन्तर्राष्ट्रिय फुटबल हुने सम्भावना कम रहेको बताएका छन् ।

कोन्काफ फुटबलका अध्यक्ष समेत रहेका भिक्टरले कोरोना भाइरसका कारण २०२० मा अन्तर्राष्ट्रिय फुटबल गराउन कठिन भएको बताएका हुन् । उनले कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य स्थिति मात्र नभई खेलाडीहरु ट्राभल गर्नुपर्ने भएकोले समेत अन्तर्राष्ट्रिय खेल प्रभावित हुन सक्ने बताएका छन् ।

एफपीले २०२० मा राष्ट्रिय टिमले फुटबल खेल्छन् त भनेर सोधेको प्रश्नमा भिक्टरले भने, ‘मेरो व्यक्तिगत विचारमा यो केही चुनौतीपूर्ण हुन सक्छ । यो विश्वभर रहेको स्वास्थ्य समस्याहरूले मात्र होइन कि अन्तर्राष्ट्रिय भ्रमणहरु चाँडै सहज बनाउने प्रतिबद्धाको लागि पनि कठिन छ ।’

उनले डोमेस्टिक फुटबल पहिलो प्राथमिकता भएको बताए । कोरोना भाइरस संक्रमणका कारण फिफाले यसअघि नै मार्चदेखि जुन महिनासम्मको सबै अन्तर्राष्ट्रिय फुटबल स्थगित गरिसकेको छ । जसमा विश्वकप छनोटका खेलहरु समेत स्थगित भइसकेको छ ।

यही वर्ष जुन जुलाईमा तय भएको युरोकप र कोपा अमेरिका फुटबल समेत कोरोनाकै कारण एक वर्ष पछि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment