Comments Add Comment

लकडाउनले परिवर्तन गरेको बेलायत

२ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सरकारले गरेको कडाइसँगै बेलायतको जीवनयापनको शैलीमा पनि परिवर्तन आएको छ ।

बेलायतले कडाइ शुरु गरेको तीन साता भइसकेको छ । मार्च २३ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सबै अनावश्यक भ्रमण र सार्वजनिक भेलामा रोक लगाउने निर्णय गरेका थिए । उनले सबै मानिसहरुलाई घरमा नै बस्न आग्रह गरेका थिए । घरबाट गर्न नसकिने कुनै कामका लागि मात्र बाहिर जान उनले सुझाएका थिए ।

अहिले बेलायतमा अत्यावश्यकबाहेकका सबै पसल बन्द छन् । रेष्टुरेन्ट, थिएटर, सिनेमा हल र मन्दिर तथा मस्जिद सबै बन्द छन् । र, यसले बेलायतको सामाजिक जनजीवन नै प्रभावित बनेको छ ।

१. सामाजिक दूरी

बेलायतमा लगाइएको लकडाउनको उद्देश्य कोरोना भाइरस नियन्त्रण गर्नु थियो । नेशनल हेल्थ सेर्भिसलाई मृत्युदर घटाउन गरिएको यो एउटा प्रयास हो । मार्च २३ मा लकडाउन घोषणा गरेपछि कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ६ हजार ६५० बाट बढेर ८० हजारभन्दा बढी पुगिसकेको छ ।

तर, बेलायतको सरकारले सामाजिक दूरी कायम राखेको कारण पछिल्लो समय त्यसको असर देखिन थालेको बताएको छ । सरकारका प्रमुख वैज्ञानिक परामर्शदाता प्याट्रिक भेलेन्सले बेलायती नागरिकले सामाजिक दूरी कायम राखेको कारण यो भाइरसको महामारी अब धेरै नबढ्ने बताएका छन् । साथै मानिसहरुले कुनै कामको लागि सकेसम्म फोन वा इन्टरनेट लगायतका साधनको प्रयोग गर्न थालेका छन् ।

२. यात्रामा कमी

स्वाभाविक रुपमा लकडाउनपछि बेलायतमा यात्रामा पनि कमी आएको छ । पछिल्लो केही सातामा बेलायतमा सार्वजनिक यातायातको प्रयोगमा व्यापक कमी आएको छ । तर, यो क्रम लकडाउनभन्दा पनि अघि नै चलेको थियो । त्यतिबेलादेखि नै धेरै मानिसहरुले घरबाट नै काम गर्न शुरु गरेका थिए ।

फेब्रुअरीको शुरुदेखि अप्रिलको शुरुसम्ममा बेलायतमा सडक, रेल र ट्युबलगायत यातायातको प्रयोगमा ६० प्रतिशत कमी आएको थियो ।

३. हावाको गुणस्तरमा सुधार

बेलायतमा लकडाउनको व्यवस्था गरिएपछि वायु प्रदूषणमा पनि उल्लेख्य कमी आएको छ । बेलायतमा नाइट्रोजन डाइअक्साइडको स्तर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत कम देखिएको छ । विशेषगरी कारहरुबाट निस्किने यो ग्यास वातावरणको लागि हानिकारक मानिन्छ ।

४. सेवा सुविधाको माग बढ्यो

बेलायतमा लकडाउन शुरु भएपछि युनिभर्सल क्रेडिटको लागि करिब सात लाख २३ हजार मानिसले आवेदन दिएका थिए । यीमध्ये चार लाख ७३ हजारले शुरुका आठ दिनमा आवेदन दिएका थिए ।

यो संख्या सामान्य अवस्थाको तुलनामा १० गुणा बढी हो । युनिभर्सल क्रेटिड बेलायतमा कर्मचारीहरुलाई प्रदान गरिने मासिक भुक्तानी हो । यो सुविधा लिएपछि विभिन्न किसिमका प्रकारका सुविधा पाइँदैन । महामारीको समयमा काममा जान नसक्नेले अन्य सुविधा लिनुभन्दा यो कोषबाट पैसा लिनु फाइदा हुने भएकाले धेरैले यसमा आवेदन दिएका हुन् ।

५. लामो समयसम्म टिक्ने खाद्यान्नको बिक्रीमा वृद्धि

लकडाउन शुरु गरिएपछि बेलायतको सुपरमार्केटको व्यापार ४४ प्रतिशत बढेको थियो । मानिसहरु अभाव हुन सक्ने आशंका धेरै सामग्रीहरु खरिद गरिरहेका थिए । तर, औसत व्यापारमा भने सात दशमलव ५ प्रतिशत कमी आएको थियो ।

यो क्रममा अनलाइनबाट आएको अर्डर पुर्याउन पनि स्टोर तथा सुपरमार्केटलाई कठिन भएको थियो । यस किसिमको अर्डरमा धेरैजसो लामो समयसम्म पुग्ने खाद्यान्न थिए । खाद्यान्नबाहेकका कपडाजस्ता उत्पादनको सुपरमार्केटको व्यापारमा भने ४५ प्रतिशत कमी आएको थियो ।

६. घरेलु हिंसा बढ्यो

लकडाउनपछि बेलायतको राष्ट्रिय घरेलु हिंसाको लागि व्यवस्था गरिएको नम्बरमा आउने कल २५ प्रतिशत बढेको थियो । यो हेल्पलाइन सञ्चालन गर्ने रेफ्युज कम्पनीका अनुसार अहिले यसमा दैनिक सयौं कलहरु आउन थालेको छ ।

यो क्रम बेलायतमात्र नभई विश्वभर देखिएको छ । फ्रान्समा पनि ३२ प्रतिशत घरेलु हिंसा बढेको समाचार सार्वजनिक भएको थियो । स्पेनमा पनि १२ प्रतिशत घरेलु हिंसाका घटना बढेका थिए ।

यद्यपि समग्र अपराध भने इंगल्याण्ड र वेल्समा २० प्रतिशत घटेको थियो ।

– बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment