
१ वैशाख, गौर । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
दिल्लीको ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी त्यहाँबाट तीन जना साथीहरुसँग हिँडेका थिए । मोतिहारीसम्म औषधिको ट्रक चढेर आएका उनी हिँडेरै आए र चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेका थिए ।
‘परिवारका सदस्यहरु बाहिरै राखेछन् । भोलिपल्ट हामीले ल्याएर क्वारेन्टाइनमा राखेका थियौं’ नगपालिकाका सूचना अधिकृत कृष्णानन्दन कुमारले अनलाइनखबरसँग भने । नगरपालिकाले सबैलाई विदेशबाट कोही आए स्वास्थ्य जाँच गराएर मात्र घरमा प्रवेश गराउनुपर्छ भन्ने प्रचार गरेका कारण उनको परिवार समेत भएको उनले सुनाए ।
उनलाई वडा नम्बर ३ मा रहेको जनता उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो । जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये उनमा संक्रमण देखियो ।
क्वारेन्टाइनमा उनीसँगै एउटै कोठामा राखिएका चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमितलाई वीरगञ्ज लगियो
संक्रमित युवकलाई उपचारका लागि सोमबार साँझ वीरगञ्ज लगिएको छ ।
रौतहटमा कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल छैन । गौरमा रहेको नर्सिङ्ग इन्सटीच्यूटलाई लाई आइशोलेसन सेन्टर बनाउने भनिए पनि तयार भएको छैन । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुने ईशनाथ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख नन्दकिशोर गुप्ताले बताए ।
परिवारका सबै सदस्य क्वारेन्टाइनमा
संक्रमित युवक घरमा बसेका थिएनन् । तर घरमा पुगेर झोलाहरु राखेका थिए ।
अब परिवारका सदस्यहरुलाई पनि क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । उनको घरमा आमाबुवा, दुइ भाइ, एक बहिनी छन् भने श्रीमती माइतीमा छिन् ।
प्रतिक्रिया 4