Comments Add Comment

‘नयाँ वर्षको शुभकामना ! चाउचाउ, च्युरा बोक्नुहोला, सुरक्षितसँग जानुहोला !’

१ वैशाख, काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा पनि काठमाडौं उपत्यकामा कुनै उल्लास थिएन । लकडाउनका कारण सडक सुनसान थियो । एकाध ठाउँमा सुरक्षाकर्मी तैनाथ थिए । मानिसहरु आ–आफ्नै घरभित्र थन्किएका थिए ।

रात छिप्पिँदै गएपछि बालबच्चासमेत भएको एउटा समूह लगनखेलतिर अगाडि बढ्दै गरेको देखियो ।

रातको करिव १० बजेतिर भेटिएको यो समूहलाई लगनखेलमा रहेका एक प्रहरी जवानले रोके ।

उनीहरु केही डराए । र, महेन्द्रको सालिकलाई घेरा हालेर बनाइएको पेटीमा बसे ।

अर्का प्रहरी जवान आइपुगे । दुबैले सोधीखोजी गर्न थाले ।

‘कहाँबाट आएको ? कता जान लागेको ?’

समूहमा रहेका सबैभन्दा पाको जस्ता देखिने पुरुष बोले, ‘खान नै केही नभएपछि जानैपर्‍यो सर !’

प्रहरीसँग बोल्ने उनी ओखलढुंगा, सुनकोसी गाउँपालिका–१ बलेखुका कैलाश खड्का रहेछन् । ज्याला मजदुरी गर्ने उनी परिवारसहित कीर्तिपुर, भत्केको पाटी नजिकै विष्ट गाउँमा बस्दै आएका रहेछन् ।

उनीहरुले दुईसाता लामो लकडाउन त झेले । तर, अझै लम्बिन्छ भन्ने सुनेपछि आत्तिए । अनि घर (ओखलढुंगा) जाने सुर कसेर ६ वर्षको छोरालाई लिएर रातपरेपछि निस्किए ।

यसकी आमाचाहिँ खोई त ? प्रहरी जवानको प्रश्न भइँमा खस्न नपाउँदै कैलाशले भने, ‘तिमीहरु बाउछोरा जाऊ, हामी यहीँ बस्छौं, मरे पनि यहीँ मर्छौं’ भनेर मानेनन् ।

ममीचाहिँ किन यतै बसेको त ? को छ अरु ? प्रहरी जवाफले फेरि सोधे ।

खड्काले जवाफ फर्काए, ‘ठूली छोरीहरु सबै यहाँ छन् ।’

प्रहरीले यहीँ (काठमाडौंमै) बसे हुने रहेछ नि भन्दै सम्झाए । राहत पाए, नपाएको सोधे । तर, उनले अड्डी कस्दै भने, ‘सकिहाल्छ नि जान ।’

०००००

कैलाशसँगै ओखलढुंगाकै तीर्थबहादुर सुनुवार पनि श्रीमती र दुई सन्तान लिएर घरतिर हिँडेका रहेछन् । समूहमा केही किशोर–किशोरी पनि थिए ।

स–साना बालबालिका देखेपछि प्रहरीले फेरि सोधे, ‘ठाउँठाउँमा प्रहरीले रोक्छ । १४ दिनसम्म पनि राख्न सक्छ । यहीँ बस्ने–खाने व्यवस्था भयो भने बस्नुहुन्छ ?’

तीर्थबहादुरकी श्रीमती बोलिन्, उहाँ (कैलाश) अर्जेन्ट काम परेर सल्लाहले नै हिँड्नुभएको हो ।’

कैलाशले थपे, ‘बुवाको बरखी छ, त्यही भएर हिँडेको हो ।’

वुबाको गत वर्ष जेठमा निधन भएको र बार्षिक कार्यका लागि पनि गाउँ जानुपरेको उनले सुनाए । ‘लकडाउन फेरि थपिन्छ भने, त्यही भएर जान लागेको हो’ उनले थपे ।

प्रहरी जवानहरु कुनै हालतमा जान नदिने गरी त प्रस्तुत भएनन्, तर सम्झाइरहेका थिए । ‘यति सानो बच्चा बोकेर त घर पुग्न १० दिन लाग्छ होला’ एक प्रहरी जवानले भने ।

कैलाशले तुरुन्त जवाफ फर्काए, ‘लाग्दैन सर, तीन दिनमा त पुगिहालिन्छ नि ।’

आज कहाँसम्म पुग्ने त ?

‘भकुण्डेबेंसी त पुगिन्छ होला नि’ तीर्थबहादुरले अनुमान गरे ।

प्रहरी जवानद्वयले राति हिँड्न दिए पनि बिहान भएपछि प्रहरी र स्थानीय तहले रोक्न सक्ने, गाउँमा पनि रोग लिएर आएको भनेर आरोपित गर्न सक्ने भन्दै डर देखाए ।

एक प्रहरी जवानले भने, ‘मैले पनि घरमा फोन गरेर बुहारी घर ल्याइदिन्छु भन्दा बुवाममीले ‘नल्याऊ, १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ भन्छन्’ भन्नुभयो । तपाईहरुलाई पनि गाउँमा गएपछि त्यसरी नै क्वारेन्टाइनमा राख्छन् होला ।’

समूहमा रहेकाहरुले पनि आफूहरुले बाटो–बाटोमा प्रहरीले रोक्ने, एक घण्टासम्म राख्ने गरेको पनि सुनेको बताए । तर, उनीहरु घर जाने अडानमा अडिग रहे । घर गएर बरु छुट्टै बस्ने तर, काठमाडौंमा नरोकिने बताए ।

‘हामी ज्यामी काम गरेर खाने हो । यहाँ बसेर काम गर्न नपाएपछि खानै गाह्रो भयो’ तीर्थबहादुरकी श्रीमतीले भनिन् ।

प्रहरी जवानद्वयको केही जोर चलेन । उनीहरुले हारे । त्यसपछि चाउचाउ, च्युरा, पानी बोक्न सुझाउँदै भने, नयाँ वर्षको शुभकामना, सुरक्षितसँग जानुहोला !’

सोधपुछका क्रममा प्रहरीले रोक्ला कि भन्ने डरमा रहेका उनीहरु हुन्छ–हुन्छ भन्दै लगनखेलबाट अगाडि बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment