+
+
Shares

शहीदको सपना यही हो ? सराप्छ रगत र आँसुले

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी विद्रोहले भ्रष्ट नेता र तानाशाही सत्ताको सातो खाइदिएको छ र मुलुक परिवर्तनको संघारमा पुगेको छ।
  • साइग्रेस पोखरेलले शहीदको सपना खेर जान नदिन सचेत नेपालीहरूलाई खबरदारी गरिरहेका छन्।

सडकमा शहीदको रगत अझै सुकेको छैन । तिनका आमाबुबाको आँखा अझै ओभाएको छैन । अस्पतालको शय्यामा लडिरहेका घाइतेको पीडा कम भएको छैन । तर, यता राजनीतिक परिदृश्यमा पुरानै शैली हावी हुन थालेका छन् । भ्रष्टहरू उसैगरी आफूलाई पखाल्न लागेका छन् । तिनका आसेपासेहरू उसैगरी उफ्रिन थालेका छन् ।

जालझेल, छलकपट र भ्रमले समाजलाई निमोठ्दैछ । यस्तो स्थितिमा जेनजीको त्याग र बलिदान खेर जाने त होइन ? घुम्दैफिर्दै फेरि उही सत्ता र पद्धतिको पुरनावृत्ति हुने त होइन ? फेरि दलाल, भ्रष्टहरूकै शासन फर्कने त होइन ?

यी प्रश्नहरूले धेरै सचेत नेपालीहरू र आन्दोलनमा होमिएका युवाहरू झस्किएका छन् । उनीहरुले यसतर्फ सर्तक रहन खबरदारी गरिरहेका छन् । साइग्रेस पोखरेल लेख्छन्, ‘शहीदको सपना यही हो ? सराप्छ रगत र आँसुले ।’

साइग्रेस चर्चित स्टोरी टेलर हुन्, जो युवापुस्ता भावना र आवाज बोल्ने गर्छन् । जेन जी पुस्ताको सपना खेर जान नदिन उनले खबरदारी गरिरहेका छन् । यसअघि उनले लेखेका छन्, ‘विचरा तातो गोली खाने भइबहिनीहरूको सपना …। भ्रष्टचारमुक्त देश, जनताको भावना बुझ्ने राज्य । अनि युवाले आनन्दपूर्वक सास फेर्ने सुनौलो भविष्य थियो । तर अब विषय मोडिन लागिसक्यो । यहाँ त कसले घर फोर्‍यो, कसले कताबाट के चोर्‍यो, आन्दोलनमा जानेहरू आतंककारी हुन् भन्ने विषयमा पो वहस हुन थाल्यो ।’

‘भ्रष्ट नेता र व्यवस्था विरुद्ध’ स्वतस्फूर्त उर्लेको लहर थियो, जेन जी विद्रोह । यो कुनै पार्टी थिएन, कुनै समूह थिएन । बरु, हरेक भावनाको एकमुष्ठ पराकम्पन थियो । अन्ततः त्यसले भ्रष्ट नेता–मन्त्रीलाई मात्र लखेटेन्, तानाशाही सत्ताको सातो खाइदियो । र, मुलुक फेरि परिवर्तनको संघारमा आइपुगेको छ । ‘बारम्बार आन्दोलन गर्नुपर्ने कस्तो देश बनायौं हामीले… ?’ साइग्रेस लेख्छन् ।

उनको प्रश्न छ, ‘खोइ त साना बालबालिकालाई गोली हान्ने र आदेश दिनेको छानबिन भएको ? खोइ त शहीदको सपना पूरा गर्न लागेको ?’

फिल्ममेकर एवं अभिनेता रवीन्द्रसिंह बानियाँको प्रश्न पनि यही छ । उनी लेख्छन्, ‘ए बाबा सुविधा मज्जाले लिनू । तर शहीदको सपनालाई थाती नराख । विन्ती । समय घर्किन लाग्यो ।’

जेनजी विद्रोहपछि निरन्तरजसो खबरदारी गरिरहेने मध्येमा पर्छन् उनी । जेनजी आन्दोलनलाई कसैले बदनाम नगरोस्, कसैले त्यसबाट फाइदा नलुटोस्, कसैले त्यसको दुरुपयोग नगरोस भनी बारम्बार उनी सर्तक गराइरहेका छन् ।

चाहे अपराधीलाई पक्राउ गर्नका लागि होस् वा जेनजी पुस्तालाई मतदाता कार्ड बनाउनका लागि, सम्बन्धित पक्षलाई झक्झक्याइरहेका हुन्छन् । सत्तामा बसेर नाती–नातिनी पुस्ताका विद्यार्थी भाइबहिनीलाई निर्मतापूर्वक गोली हान्न लगाउनेलाई तुरुन्त कारबाही गर्न जोडदार माग उठाइरहेका छन् ।

यसअघि बानियाँले एक प्रतीकात्मक फोटोसँगै यस्तो स्टाटस लेखेका थिए, ‘जलेका सरकारी भवन, दलका अफिसहरूमा पुनर्निमाण गर्दा एउटा भित्तामा रङ नलगाई जलेको अवशेषमा एउटा फोटोफ्रेम अनि नजलेका सम्पूर्ण सरकारी कार्यालय र दलका अफिसहरूमा जेन जी विद्रोहको तथा शहीदको सपनालाई सधैं सम्झना राख्न देश जलेका फोटोहरू राख्ने व्यवस्था गरुन् । ता कि भोलिका दिनमा शहीदको सपना कुल्चेर अगाडि बढ्दा के अवस्था आउन सक्छ हरेक दिन सम्झन सकून ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?