Comments Add Comment

गाईको भोक मेटाउन भौतारिएका रामबहादुरको दुःख

१ वैशाख, काठमाडौं । ‘भोकजत्तिको खतरनाक चिज केही रहेनछ, मान्छेले त भोक अभिव्यक्ति गर्नसक्छ, खाना जोहो गर्न सक्छ तर, जनावरले …?’

यत्ति भनेर उनी केही छिन चुप बसे । अनि केही सोचेझैं गरेर फेरि भने, ‘लकडाउन भएको तीन साता भइसक्यो, मान्छेहरु त खाना नपाएर पैदल गाउँ हिँडे भन्ने समाचार सुन्छु, यी जनावर कहाँ जाउन, के खाउन ? बिजोक नै हुने भो…।’

उनले यसो भनिरहँदा सामुन्ने रहेका गाईहरु ठाडो घाँटी लगाएर उनलाई नै हेरिरहेका थिए । गाईतिर हेर्दै उनले थपे, ‘ल ल चिन्ता नलेऊ । अब तिमीहरुलाई खानाको जोहो गर्छु…।’

उनी हुन् रामबहादुर न्यौपाने, जो आफूलाई ‘गोपाल’ भन्न रुचाउँछन् । उनले पशुपति क्षेत्रमा सडकमा छाडा छोडिएका २ सयभन्दा बढी गाईवस्तु पालिरहेका छन् ।

१५ वर्षदेखि गाईवस्तुको खाना जोहो गर्न संघर्षरत उनको समस्याको पहाड झन् अग्लो भएको छ ।

गाईतिर हेर्दै भन्छन्, ‘समस्या बुझेर होला भोकाए पनि होहल्ला गर्दैनन्, एकोहोरो मतिर हेरेर बसिरहन्छन् । यिनीहरुलाई पनि थाहा छ नि, अहिले खानेकुरा जम्मा गर्न गाह्रो छ ।’

उनी मानिससँगझैं गाईहरुसँग संवाद गर्छन् । उनका क्रियाकलाप देख्दा लाग्छ, उनी गाईको भाषा बुझ्छन् र गाईले उनको । अरुका लागि नयाँ भएपनि यो उनको दैनिकी हो । यथार्थ हो । तर तीन सातादेखि उनको दैनिकी फेरिएको छ । गाईहरुको भोक मेट्न नसकिने हो कि भन्ने डरले छटपटाइरहेका छन् ।

सोध्छन्, ‘लकडाउन लम्बियो भने त कसरी खानेकुरा जोहो गर्नु, अहिले नै हम्मे परिसक्यो…।’

लकडाउन नहुँदा पनि उनलाई गाई पाल्न समस्या नै थियो । तर इच्छाशक्तिका अगाडि समस्या सानो लाग्यो । लकडाउनले समस्या झन थपिदिएको छ । तै पनि हार मानेका छैनन् । कहिले तरकारी पसलमा गएर बिग्रेका तरकारी ल्याउँछन् त कहिले फलफूल । तर २०० वटा गाईको भोक मेट्न कहाँ सजिलै सकिन्छ र ?

त्यसैले उनी भन्छन्, ‘भोकभन्दा ठूलो यथार्थ र भोक मेट्न भन्दा ठूलो धर्म त के होला र ….’

तर १५ वर्षदेखि निर्वाह गरिरहेको धर्म निर्वाह गर्न उनलाई अहिले भने निकै गाह्रो भइरहेको छ । भन्छन्, ‘खानेकुरा जुटाउन दिनभर हिँडिरहेको छु तर पाउन मुस्किल हुँदै गएको छ ।’

०००

यतिबेला हामी गौशालास्थित नन्दी सेवा आश्रममा छौं । जसरी देशको माहोल फेरिएको छ, त्यसरी नै यहाँको माहोल पनि फेरिएको छ । मन्दिर छिर्ने मुख्य गेटदेखि आर्यघाटसम्म चहल(पहल शून्य छ । न त फूल बेच्नेहरु देखिन्छन्, न मन्दीरमा पूजा गर्नेहरू । आर्यघाटबाट धुवाको मुस्लो पनि पहिलेको तुलनामा कम छ । यो सबै हेर्दा लाग्छ, पशुपति क्षेत्र विश्रामको मुडमा छ ।

तर त्यही क्षेत्रको एक कुनाको परिदृश्य भने फरक छ । त्यहाँ भोक छ, त्यसलाई पूर्ति गर्न नसकेको अदृश्य शोक छ । शान्त देखिन्छन् तर छट्पटाहट नै छट्पटाहट छ । आत्मसम्मानको ख्याल गर्दै बेचैनी लुकाए पनि गाईप्रतिको मायाले रामबहादुर बोल्दैछन्, ‘भोग्दै जाउँ अझै के के भोग्नुपर्छ…।’

यति भनेर उनले आफ्नो मोटरसाइकलमा ट्रली जोडे । पशुपति क्षेत्रबाट गौशाला हुँदै ज्ञानेश्वरतीर लागे । बिहानको समय तरकारी तथा फलफूल पसलहरु खुल्लै थिए । सबै पसलमा गएर बिग्रिएका फलफूल तथा तरकारी दिन आग्रह गरे ।

कसैले ट्रलीमा ल्याएर हाल्दिए त कसैले ‘छैन’ भनेर फर्काए ।

त्यहाँबाट उनी नक्शालस्थित तरकारी बजारमा पुगे । जहाँ दुई युवाले बेच्न नमिल्ने तरकारी जम्मा गरेर राखेका थिए । त्यसलाई ट्रलीमा हालेर उनी गौशालातिर लागे ।

यसरी नै उनी दिनको ४ देखि ५ राउण्ड तरकारी खोज्न बजार पुग्छन् । जोहो गरेर ल्याएर गाईलाई खुवाउँछन् । जसोतसो दिन कट्छ । साँझ परेपछि फेरि त्यही चिन्ता, ‘भोपल कहाँबाट के ल्याएर गाईवस्तुलाई खुवाउने ?’

सोच्दा सोच्दै निदाउँछन् । बिहान उठेपछि उनको दैनिकी त्यसरी नै सुरु हुन्छ ।

००००

१४ वर्षअघिसम्म उनको जिन्दगी सामान्य थियो । जागिर खान्थे । अफिस जान्थे । अरु कुरा सोच्ने फुर्सद हुन्नथ्यो । जिन्दगी रमाइलैसँग चलिरहेको थियो ।

अफिस आउँदा जाँदा सडकमा गाईहरुलाई गाडीले हानेको देख्थे । कतिपय ठाउँमा कुकुरहरुले बिरामी गाईहरु लखेटिरहेको देख्थे । भर्खरै जन्मिएका बाच्छाहरु सडकमा बिजोक अवस्थामा भेट्थे । यो सबैले उनको कन्पारो तात्थ्यो, गाईवस्तुलाई यसरी बिजोग पारेर सडकमा छोड्नेलाई मनमनै गाली गर्थे ।

आफैंलाई प्रश्न गर्थे, एक मानो दूध बचाउन भर्खरै जन्मेको बाच्छालाई सडकमा छाडेर के गर्दैछ मान्छे ?

‘जीवनभर दूध खाएको गाईलाई बुढी भएपछि सडकमा छोड्न कहाँबाट हिम्मत आउँछ मान्छेलाई ?’

आफ्नो प्रश्नले आफैंलाई नमज्जाको पीडा हुन्थ्यो । तर बिजोग देख्दा पनि केही गर्नसक्ने अवस्था थिएन ।

एकदिन पशुपति क्षेत्रबाट ‘मर्निङ वाक’ गरेर फर्किदै थिए । किराँतेश्वर जंगल नजिकै बाच्छो कराएको सुने । आवाज पछ्याउँदै जाँदा पाखोमा बाच्छो फसेको देखे । अर्को बाच्छो बाटोमा बसेर कराइरहेको थियो । मान्छेहरुलाई बाटामा देख्दा त्यो बाच्छोले जोडले कराउँदै सहयोग माग्दोरहेछ । तर कसैले पनि उद्धार गरेका रहेनछन् । त्यो देखेपछि त्यतिकै हिँड्न मनले मानेन । उनले बाटो हिँड्ने मानिससँग सहयोग मागे, तर कसैले टेरेनन् ।

उनले बाच्छोलाई सुम्सुमयाएर ‘चुप्पा खाँदै’ आश्वासन दिए, ‘म मानिसहरु लिएर उद्धार गर्न आउँछु ।’

त्यसपछि बाच्छो कराउन छोड्यो ।

उनी त्यहाँबाट त्यही क्षेत्रमा ड्युटीमा रहेका प्रहरी अधिकृतलाई भेट्न गए । प्रहरीले १० जना जवान पठाइदिए । बल्लतल्ल त्यो बाच्छोलाई भिरबाट निकालियो ।

प्रहरी जवानहरु आफ्नो बाटो लागे ।

रामबहादुर केही क्षण त्यहीँ बसे । त्यहीँबाट केही घाँस खोजेर खुवाए र अगाडि बढे । अलिपर पुगेर हेर्दा त त्यो बाच्छोले उनलाई नै पछ्याइरहेको थियो । उनले फर्काउन कोसिस गर्दा पनि पछि लागिरह्यो । मानिसको भिड नै जम्मा भयो ।

उनले अनुरोध गरे, कसैको घरमा राख्ने ठाउँ छ भने लगेर पाल्नुस्, मेरो घरमा त राख्ने ठाउँ छैन ।

मानिसहरुले जवाफ दिए- अरुले एक मुठी दूधका लागि यसरी बिजोक पारेर सडकमा छोड्छन् । हामी अरुले गरेको पाप स्याहारेर बस्न कहाँ सक्छौं ?

उनीहरुको कुरा जायज थियो । तर रामबहादुर ‘कन्भिन्स’ हुन सकेनन् । त्यो बाच्छो झन्- झन् पछि लागेपछि उनी भावुक भए । आँसु आयो । थप उद्धार नगरी मन मानेन ।

‘मोटरसाइकल लिएर आउनुस्, जरुरी काम छ,’ एकजना साथीलाई त्यहीँबाट फोन गरे । साथी हतारिँदै आइपुगे । बाच्छोको उद्धार गर्न लागेको देखेपछि साथीले छक्क पर्दै भने, ‘जरुरी भनेर यस्तो मजाक गर्ने? दिमाग खुस्क्यो कि क्या हो ?’

उनी साथीको कुरा सुन्नेवाला थिएनन् । त्यो बाच्छोलाई घर लिएर गए । घर जानासाथ ललितपुरको खोकना गएर पाँच लिटर शुद्ध तोरीको तेल लिएर आए । अण्डा किनेर ल्याए । अनि बाच्छोको स्याहारमा जुटे । केही दिनमा बाच्छो तगडा भयो ।

एक सातापछि उनी झिसमिसैमै मर्निङवाकमा गएका थिए । बागमती करिडोरको बाटो हुँदै जोरपाटी जाँदै गर्दा एउटा गाई सडकमा लडिरहेको देखे । नजिकै गएर हेर्दा त गाडीले हानेर क्षतविक्षत पारेको रहेछ । दिमाग रन्थन्नियो । थुचुक्क भुईँमा बसे । मनमा अर्कै आक्रोश र तरंग फैलियो । बैचनी बढ्दै गयो ।

‘कानुन भएको देश भएको भए राष्ट्रिय जनावर गाईको यस्तो अवस्था हुन्थ्यो । कुकुरको सेवा गर्ने संस्था छ, मान्छेको सेवा गर्ने संस्था छ । तर, राष्ट्रिय जनावर गाईको यस्तो विजोग हुँदा त्यसको सेवा गर्ने कुनै संस्था किन छैन ?’

मन मष्तिकमा प्रश्नहरु घुमिरहे ।

आफ्नै प्रश्नले दिमागमा झट्का दियो । प्रश्नको झट्का र मनको घाउले समाधान सोच्यो ।

हठात प्रण गरे, अब यस्ता बेवारिसे गाईलाई म पाल्छु ।

परिवारलाई आफ्नो निर्णय सुनाए । परिवारका सबै सदस्य स्तब्ध भए । छोराछोरीले आश्चर्यमा पर्दै भने, ‘अरुका बाउले छोराछोरीका लागि घर जग्गा जोडिदिन्छन्, हाम्रो बाउको दिमाग खुस्किएको कि क्या हो ? बेवारिसे गाई पाल्ने रे !’

छोराछोरीको कुरा सुनेर उनले उग्र हुँदै जवाफ फर्काए, ‘म त्यस्तोखालको बाउ परिनँ । गाउँमा जन्मेँ, हुर्कें र तिमीहरुलाई यहाँ ल्याएर शिक्षा दिएँ । अब आफ्ना लागि आफैं गर्नू ।’

उनको कुराले छोराछोरी चुप भएनन् । असम्भव कुरा नआँट्नु भनेर सम्झाए । विभिन्न बाधा अड्चन आउँछ भन्दै तर्साए । तर उनी आफ्नो निर्णयबाट पछि हटेनन् ।

0000

न्यौपाने हरेक दिन गाईको सेवा गर्ने प्रस्ताव बोकेर विभिन्न सरकारी संस्था धाउँथे । कतैबाट सकारात्मक जवाफ आउँदैनथ्यो ।

उनी सरकारी हाकिमलाई गएर भन्थे, ‘गाईको सेवा गर्ने संस्था खोल्ने हो भने सडकका माग्ने, वृद्धवृद्धा र अपांगहरु सबैको व्यवस्थापन गर्न सकिन्छ । त्यो काम म गर्न सक्छु ।

सबै हाकिमको एउटै जवाफ हुन्थ्यो, तपाईँको ‘आइडिया’ त सही हो, तर हामीसँग बजेट छैन ।’

तर उनले हिम्मत हारेनन्, बरु ‘जस्तो पर्ला त्यस्तै टर्ला’ भनेर आफैं संस्था दर्ता गर्ने विचार गरे । साथीभाइ आफन्तले विश्वास नगर्दा सडकमा तरकारी बेच्नेहरुसँग नागरिकता मागे र २०६१ सालमा नन्दी सेवा आश्रम दर्ता भयो ।

संस्था दर्ता त भयो, काम कसरी गर्ने ?

परिवारका सदस्यले विश्वास गरेकै थिएनन् । आफन्त र साथीभाइ पागल भन्थे । एक्लै बस्दा सोच आउँथ्यो, सबैले पागल(पागल भन्छन्, साँच्चै म पागल त भइनँ ?’

प्रश्न प्रश्नमै सीमित राखेर कर्ममा जुट्थे ।

अनेक ठाउँ धाउँदा-धाउँदा उनी निराश भइसकेका थिए । अन्तिम विकल्पका रुपमा एक दिन पशुपति क्षेत्र विकास कोष गए । सदस्य सचिवमा डा. गोविन्द टण्डन थिए । टण्डनले केही सहयोग गरिदिन्छन् कि भन्ने न्यौपानेको झिनो आशा थियो ।

टण्डनले प्रस्ताव सुनेपछि सोधे, ‘सक्नुहुन्छ यो काम गर्न ?’

उनले ‘जसरी पनि सक्छु’ भने । सुनेर टण्डनले फेरि भने, ‘यस्तो भन्नेहरु धेरै आउँछन तर ..।’

टण्डनले कुरा टुंग्याउन नपाउँदै न्यौपानेले भने, ‘अहिले मलाई सबैले पागल भनिरहेका छन्, तर म यो काम गरेरै देखाउँछु । सफल भइनँ भने कि त जोगी बन्छु, कि त मर्छु ।’

उनको कुरा सुनेर टण्डन गम्भीर भए । र, पशुपति क्षेत्रमै आश्रम बनाउन जग्गा मिलाइदिए । त्यही ठाउँमा उनले गाईहरु राख्न मिल्ने आश्रयस्थल बनाए । गौशाला आसपासका ३९ वटा छाडा गाईहरु ल्याएर उद्दार गरे र, तिनीहरुको सेवामा जुटे ।

काम सुरु गरेपछि बल्ल उनले थाहा पाए कि गाई पाल्ने काम त गाह्रो रहेछ । औषधिउपचार र घाँसपरालमै भएको पैसा सकियो । बाहिर सहयोग माग्दा कसैले पत्याएनन् ।

‘सकियो भने मानव सेवा गर्नेहरुलाई सहयोग गर्ने हो, जनावरलाई सेवा गरेर कहाँ सकिन्छ र ?’ सहयोग माग्न जाँदा उनले जवाफ पाउँथे, ‘कति ठूला–ठूला समाजसेवीहरुलाई त सहयोग गर्न सकिएको छैन, तपाईंको के विश्वास ?’

मानिसहरुको यस्तो जवाफले मनमा चस्का पस्थ्यो । काम गर्न गाह्रो भइरहेको थियो । तर पनि उनले हिम्मत हारेनन् र निरन्तर १५ वर्षदेखि गाईवस्तुको सेवा गरिरहेका छन् ।

उनको थप संघर्षकथा पढ्नुस्

सडकका बेवारिसे गाईबाच्छा पाल्ने रामबहादुरको कथा

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment