Comments Add Comment

कोरोना संक्रमण देखिएको ठाउँलाई पूर्ण लकडाउन गर्छौं : मुख्यमन्त्री राउत

३० चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । यसका लागि संघीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको उनले बताए ।

प्रदेश २ को वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसबारे आफूलाई पनि जानकारी आएको बताउँदै मुख्यमन्त्री राउतले यो क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर संक्रमितको उपचारको व्यवस्था मिलाउन लागिपरेको बताए । ‘बाहिरबाट आएका तीन जना जमातीमा संक्रमण भएको जानकारी पाएलगत्तै गृहमन्त्रीसँग छलफल गरेको छु’ उनले भने, ‘यो क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर अरु कदम चाल्ने विषयमा हाम्रो कुराकानी भएको छ ।”

संक्रमत देखिएका तीनै जना लकडाउनभन्दा पनि पहिला नै भारतबाट आएको जानकारी आफूले पाएको मुख्यमन्त्री राउतले जनाए । ‘उनीहरु लकडाउनको समयमा आएका होइनन् । केही महिनाअघि नै नेपाल आएको जानकारी प्राप्त भएको छ’ उनले भने, ‘अहिले सीमा नाकामा धेरै कडाइ गरिएको अवस्था छ ।”

भारतबाट कोही पनि नआउन् भनेर गाउँका मानिसहरुमा सकारात्मक जागरुकता आइसकेको उनले बताए । ‘गाउँमा नयाँ मान्छे आउनेवित्तिकै स्थानीयले क्वारेन्टाइनमा पठाइदिने काम गरिरहेका छन्’ मुख्यमन्त्री राउतले भने, ‘स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायले समेत यसमा सघाइरहेका छन् ।’

संघीय सरकारले पहल गरिदिएन

प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेशमा कोरोना परीक्षण सुस्त गतिमा भएको विषयमा भने आफ्नो समस्या सुनाए । ‘के गर्ने ? कहाँबाट ल्याउने ? यही त समस्या छ’ उनले भने, ‘हामीसँग पैसा छ, तर सामान पाइरहेको अवस्था छैन ।’

संघीय सरकारले कोरोना परीक्षण गर्ने एउटा मेसिन पठाए पनि त्यसको क्षमता थोरै मात्र भएको भन्दै उनले ठूलो मेसिन भएको भए परीक्षण केही द्रूत गतिमा गर्न सकिने बताए ।

‘यसमा त संघीय सरकारले पहल गरिदिनुपर्ने हो । तर भइरहेको छैन’ उनले भने, ‘हामी सम्बन्धित निकायमा कुरा गरिरहेका छौं । कुनै यस्तो दिन छैन कि संघीय सरकारका सम्बन्धित मन्त्रीहरुसँग कुरा नगरेको होस् ।’

सबै मिलेर कोरोनाको महामारीविरुद्ध लड्नुपर्ने भन्दै उनले संघीय सरकारको ध्यानाकर्षण गराए ।

यो पनि पढ्नुहोस कोरोना संक्रमितको सम्पर्कमा रहेका २६ जना वीरगञ्जको क्वारेन्टाइनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment