Comments Add Comment

खुल्ला सीमाबाट कोरोना भित्रिने डर भो, कडाइ गर : राजपा

३ बैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले खुल्ला सीमा नाकाबाट कोरोना भाइरस फैलिने खतरा बढेको भन्दै थप सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाउन माग गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रूप लिइरहेका बेला राजपा संयोजक शरदसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतको नाम नलिई त्यसतर्फका नाकामा थप कडाइ गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेकाले खुल्ला सीमानामा अझ निगरानी बढाउनुपर्ने भएकाले व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्नुपर्छ,’ राजपा संयोजक भण्डारीद्वारा बुधबार सरकारलाई दिइएको चारबुँदे सुझावको तेस्रो बुँदामा भनिएको छ ।

भारतसँगको सीमा विवाद, उसले खडा गरेका बाँधका कारण तराई तथा मधेसका क्षेत्रमा हुने डुबानलगायतमा मौनता साधेको आरोप खेप्दै आएको राजपाले भारतमा कोरोना कहर बढिरहेका बेला नाकामा कडाइ गर्न माग गरेको हो ।

राजपाले उपत्यकाबाट नागरिक बाहिरिएपछि कतिपय स्थानमा झडपको अवस्थासमेत सिर्जना भएको भन्दै यसप्रति गम्भीर बन्न पनि सरकारलाई भनेको छ ।

लकडाउनपछि उपत्यकालगायत देशका विभिन्न भागमा मानिसहरू अलपत्र परेका छन् । त्यस्ता नागरिकका लागि सम्बन्धित वडाबाट तत्काल राहतको व्यवस्था मिलाउन पनि राजपाले माग गरेको छ । यसबारे पटक-पटक सरकारले निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको राजपाको मत छ ।

स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन पनि भण्डारीले माग गरेका छन् । कोरोनाविरुद्ध लड्न सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै उनले लकडाउनको नियम पालना गर्न सबैलाई सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment