३ वैशाख, बुटवल । लकडाउनपछिको सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘खाद्य बैंक’ स्थापना गरेको छ ।
न्यून आय भएका परिवार र सबै प्रकारका मजदुरलाई खाद्यान्न वितरणका लागि खाद्य बैंक स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकाको कार्यालय र १७ वटै वडा कार्यालयमा स्थापना गरिएको खाद्य बैंकमा दाताहरुले चामल, दाल, नुन, तेल जम्मा गर्नसक्ने छन् । दाताहरुले आफूलाई पायक पर्ने स्थानमा खाद्यान्न जम्मा गर्न सक्ने र त्यसको अभिलेख राख्ने गरी व्यवस्था मिलाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । ‘कोरोना महामारीको कारण भएको लकडाउनबाट प्रभावित परिवारलाई बांड्ने खाद्यान्न जम्मा गर्न खाद्य बैंक स्थापना गरिएको हो,’ घिमिरेले भने, ‘कैयौं व्यक्तिसँग नगद रकम नहुने तर खाद्य वस्तु हुने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंक उपयुक्त हुनेछ ।’
खाद्य बैंकमा संकलन भएको खाद्यान्न टोल विकास संस्थामार्फत् खाद्य अभाव भएका परिवारलाई वितरण गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । कोरोना भाइरसको जोखिम जस्तै अन्य विपद् र संकटका बेला पनि खाद्य बैंकलाई निरन्तरता दिइने उनले बताए । खाद्य बैंक स्थापनाले चामललगायत खाद्यान्न पर्याप्त मात्रामा संकलन हुने नगरपालिकाको अपेक्षा रहेको प्रवक्ता श्रीले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4