Comments Add Comment

र्‍यापिड टेस्टमा झापाका युवकमा देखियो एन्टिबडी पोजेटिभ

४ वैशाख, विराटनगर । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।

२७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनमा कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न नमुना संकलन गरी विराटनगरस्थित प्रयोगशालामा पठाइएको छ ।

ती युवक र उनको परिवारका चार सदस्यको पनि स्वाब विराटनगरको कोशी अस्पतालमा रहेको प्रयोगशालामा ल्याइएको छ । उनी दुबईबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले हल्दिबारीमा ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको जनाएको छ । त्यस क्रममा १९ जनाको थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि विराटनगर ल्याइएको छ ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेसिया, बराइन, ओमनलगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

८ सय २१ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश एकमा हालसम्म धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अञ्चल अस्पतालमा कोरोना परीक्षण ल्याब सञ्चालनमा छ ।

हालसम्म कुल ८ सय ३९ जनाको कोरोना संक्रमण परीक्षण भएको छ । जसमा आरडीटी विधिबाट पाँच सय ५५ जना र दुई सय ८४ जनाको प्रयोगशाला परीक्षण गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ । आरडीटी टेस्ट गत शनिबारदेखि सुरु भएको छ ।

प्रयोगशालामा ५० महिला र २ सय ३४ पुरुषको नमुना परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment