Comments Add Comment

भारतबाट भित्र्याइएको टमाटर खाल्डोमा पुरियो

४ वैशाख, दाङ । लकडाउनको बेला लुकिछिपी भारतबाट भित्राइएको टमाटर दाङका व्यवसायीले नियन्त्रणमा लिएर खाल्डोमा गाडेका छन् ।

कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बुटवल, चन्द्रौटाहुँदै दाङ भित्र्याइएको ८५ क्यारेट टमाटर बेलदमारको जंगलमा लुकाइराखेको अवस्थामा उद्योग वाणिज्य संघ दाङको अगुवाइमा नियन्त्रणमा लिइएको हो ।

सो टमाटरलाई सर्वपक्षीय रोहबरमा बुधबार सिस्ने खोला किनारमा खाल्डो खनेर गाडिएको उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । उक्त टमाटर दुई  टनभन्दा बढी रहेको व्यवसायीको भनाइ छ ।

यसअघि भारतबाट भित्र्याइएको फलफूल राखिएको तुलसीपुर बजारको एक सटरमा गत चैत २३ गते सिलबन्दी गरिएको थियो ।

लुकिछिपी भारतीय तरकारी र फलफूल भित्रिन थालेपछि स्थानीय व्यापारीहरुले प्रहरी प्रशासनको समन्वयमा निगरानी बढाएका छन् । बुधबार लमही-घोराही सडकखण्डमा पर्ने बेलदमार भन्ने स्थानको जंगलमा एक ट्रक लुकाइएको सूचना व्यापारीहरुले पाएका थिए । सोही सूचनाको आधारमा छापा मार्दा लु १ च १९६२ नम्बरको सेतो मिनी ट्रकमा टमाटर फेला परेको थियो ।

ट्रक चालकले सुरुमा बाँकेको नेपालगञ्ज जान लागेको तर बाटो बिर्सिएर घोराहीतर्फ जाने जंगलमा आइपुगेको बताएका थिए । सोधपुछको क्रममा पछि भारतसँग सीमा जोडिएको कपिलवस्तुको बजार कृष्णनगरस्थित साह फ्रुट ट्रेडर्सले भारतीय टमाटर दाङको ‘कैलाश साहु जी’ कहाँ पठाएको खुलेको थियो ।

दाङको ‘कैलाश साहु जी’ भन्ने व्यक्ति को हो भन्ने नखुलेको र ‘कैलाश साहु जी’को भनेर ट्रक चालकलाई दिइएको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

‘बिल पनि नभएको, कहाँ लैजान लागेको हो, कसको हो भन्ने पनि स्पष्ट नभएपछि हामीले सो टमाटर नष्ट गर्‍यौँ,’ उद्योग वाणिज्य संघ दाङका अध्यक्ष भुसालले भने ।

चालकले भने आफू कृष्णनगरको पुरानो थाना छेउको बासिन्दाको भएको र बुटवल गएर टमाटर लोड गरेर ल्याएको बताएका छन् । उनीहरुसँग कृष्णनगरदेखि नेपालगञ्ज जाने सवारी पास छ ।

टमाटर नष्ट गरी गाडीमा रहेका दुई जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment