Comments Add Comment

खेलाडीलाई प्रशिक्षकको सुझाव : दिनमा एउटा फिल्म हेर्नुहोस्

लकडाउनमा पनि खेलाडीले सेड्युलमा चल्नुपर्छ

कोरोनाको महामारीले गर्दा अहिले विश्वभरकै खेलक्षेत्र ठप्प छ । नेपालमा पनि कुनै खेलकुद गतिविधि भएका छैनन् । नेपालको खेलकुद मात्र नभएर सबै क्षेत्र जिरो लेभलमा छ ।

अहिले त हामीले चाहेर पनि खेलक्षेत्रलाई माथि उकास्न सक्दैनौँ । यो सरकार र समाजको प्राथमिकतामा नै पर्दैन । हामीले अहिले केवल आश्वासन दिन सक्छौँ । खेलाडीको मनोबल उच्च राख्ने पहल गर्न सक्छौँ ।

खेलकुद क्षेत्रमा कोरोनाको दीर्घकालीन असर अन्य क्षेत्रको जस्तै हो । अब फेरि सम्पूर्ण खेलाडीहरुले शून्यबाटै सुरु गर्नुपर्ने हुन्छ । तथापि नेपाल ओलम्पिक कमिटीले खेलाडीहरुको लागि मनोवैज्ञानिक कक्षा सुरु गरेको छ । यसमा म पनि कोचको भूमिकामा छु । यसले थोरै भए पनि खेलाडीलाई सपोर्ट गर्छ ।

टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ । हामी घरमै लकडाउनमा बसेर पनि त्यसको लागि केही तयारी गर्न सक्छौँ । यसले राम्रो सन्देश पनि जान्छ र खेलाडीको मनोबल पनि उकास्छ । खेलाडीले यो बेला पनि आफ्नो अनुशासन भुल्नु हुँदैन । लत्तो छोड्नु हुँदैन ।

अहिलेको अवस्थामा खेलाडीहरुले दैनिक सेड्युलमा काम गर्‍यो भने राम्रो हुन्छ । लकडाउनको शुरु–शुरुमा परिवारसँग बस्दा ठिकै थियो । अब लकडाउनको समय लामो भएकोले धेरैलाई दिक्क लाग्न पनि थालेको छ । अब के गर्ने भन्ने खालको कुरा आउँछ । त्यसैले सेड्युल बनाउन खेलाडीलाई आग्रह गर्छु ।

जस्तै, मैले पहिलाको जस्तो ६ नै बजे उठेर स्पोर्ट्स भेन्युमा जानुपर्छ भन्ने छैन । पहिला आठ घण्टा सुत्नेमा अब नौ घण्टा सुतिएला । बिहान ७ बजे उठौँ । तर सेड्युल बनाएर पालना गरौँ ।

बिहान उठेर आफ्नो काम गरिसकेपछि एक्सरसाइज सुरु गर्नुपर्‍यो । एक–दुई घण्टा एक्सरसाइज गरेपछि ब्रेकफास्ट खाऔँ । लन्च खाऔँ । दिनको एउटा फिल्म हेरौँ । अहिले खेलमा केन्द्रित हुनेभन्दा पनि ‘सेल्फ मोटिभेट’ हुने प्रयास गर्दा राम्रो हुन्छ ।

युट्युबमा नेपाली मात्र होइन, बलिउड फिल्म छन्, हलिउड फिल्म छन् । खेलाडीको रियल लाइफमा बनेका धेरै फिल्महरु छन् । जस्तै मेरी कोम, दंगल, पंगा, भाग मिल्खा भाग आदि । धेरै त्यस्ता फिल्महरु छन् जसले खेलाडीको जीवन संघर्ष र सफलताको बयान गर्छन् । ती फिल्म दिनको एउटा हेर्दा धेरै कुरा सिक्न सकिन्छ । दिन पनि मज्जाले कट्छ । आज हेरेको फिल्मले भोलिपल्ट पनि एउटा उर्जा कायम भइरहन्छ ।

यो त भयो लकडाउनमा समयको सदुपयोग गर्ने कुरा । अब पछि के होला ? कोरोना कहिले हट्ला ? नेपाली खेलकुद फेरि कहिले मैदानमा फर्किएला ? भन्ने सबैको चासो छ । नयाँ वर्ष पनि लाग्यो । यस्तो बेला नयाँ जोस–जाँगर हुने बेला हो । नयाँ अपेक्षा हुने बेला हो । तर, अहिलेको समय त्यस्तो छैन ।

नयाँ वर्ष लागे पनि कोरोना भाइरस कसैले पनि नियन्त्रण गर्न सकिरहेको छैन । अब सबैभन्दा ठूलो अपेक्षा भनेको त्यो नियन्त्रण होस् भन्ने नै हो । हाम्रो सबैभन्दा ठूलो चाहना र कामना त्यही नै हुन्छ ।

संसारमा रहेका सबै मानिसको स्थिति जस्तो छ हाम्रो पनि त्यही नै हो । त्यो अलिकति नियन्त्रित भयो भने पनि भोलिको दिनमा हामी कसरी जीवन चलाउने भन्ने कुरो आउँछ । सबैभन्दा ठूलो कुरो त जीवन नै हो, स्वास्थ्य नै हो । त्यो भएपछि मात्र अन्य कुराहरु सोचिन्छ ।

संसारमा जति पनि बलिया राष्ट्रहरु छन्, उनीहरुले समेत कोरोनाको समाधान गर्न सकिरहेको छैनन् । उनीहरुले कसरी उपचार गर्छन्, कसरी नियन्त्रण गर्छन् भन्नेमा अहिले सबैको चासो भएकोले हाम्रो पनि त्यही छ ।

अब २०७७ साल फागुनमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी छ । तर, अहिलेको परिस्थितिले गर्दा पक्कै पनि राष्ट्रिय खेलकुदमा प्रभाव पार्छ र पारेको पनि छ । तयारीको हिसाबले के कति गर्न सकिन्छ भन्ने मुख्य कुरा हो । दक्षिण एसियाली खेलकुदको जस्तै द्रूत गतिमा काम गर्न सकियो भने त्यो पनि राम्रो हुन्छ ।

अब राष्ट्रिय खेलकुदका लागि तयारी गर्न पनि कोरोना भाइरसकै प्रभाव छ । यो कहिले रोकिन्छ र त्यसपछि अर्को कदम चाल्ने भन्नेमै रोकिएका छौँ । कोरोना रोकिएपछि राष्ट्रिय खेलकुदको लागि पनि काम अगाडि बढ्ला ।

अहिले हामी सकारात्मक हुने समय हो । कोरोनाको संक्रमण चाँडै सकिन्छ र हामी नियमित क्रियाकलापमा फर्कन्छौँ भन्ने भावना बलियो हुनुपर्छ । आफू बाचौँ र अरुलाई बचाऔँ भन्ने भावना प्रबल हुनुपर्छ ।

अन्य मानिसहरुलाई पनि यो लकडानउमा दिन काट्न गाह्रो भएको होला । उनीहरुले पनि खेलाडीले जस्तै सेड्युल बनाउने हो भने राम्रो हुन्छ । एकले अर्कोलाई सिकाउन सक्छ । सबै समाजमा रहेको व्यक्तिलाई सिकाउँदै गयो भने यो लकडाउनको समय विस्तारै कट्दै जान्छ ।

प्रस्तुति : गोविन्दराज नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment