+
+

‘स्थानीय तहले ठूलो पहिरो थामिराखेका छन्’

कोरोनाविरुद्ध स्थानीय तहको काम उदाहरणीय

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ वैशाख ४ गते १९:००
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो नाप गर्दै स्वास्थ्यकर्मी ।

घटना १ : विदेशबाट आएको २८ दिनपछि एकै परिवारका तीन जनामा एन्टीबडी पोजिटिभ देखियो । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने उनीहरुलाई मुलपानी नगर अस्पतालमा र्‍यापिड टेस्ट गर्दा संक्रमित देखिएका थिए ।

यो घटना बाहिरिएपछि चर्चा हुनथाल्यो– कोरोनाका बिरामीहरु लुकेर बसेका छन् । प्रहरीले थाहा पाएर च्याप्पै समात्यो । रोग लुकाएर बसेको भनेर उनीहरुलाई सामाजिक सञ्जालमा धेरैले गाली पनि गरे । तर, वास्तविकता अर्कै थियो ।

कागेश्वरी मनहरा नगरपलिकाले विदेशबाट आएकाहरु को कहाँ र कुन अवस्थामा छन् ? भनेर खोजी गर्दै उनीहरुको परीक्षण सुरु गरेको थियो । तीनवटा र्‍यापिड टेस्ट किट्स ल्याई आफैंले दुई स्वास्थ्य्कर्मीलाई तालिम दिएर परीक्षण गरिएको बताउँछन् कागेश्वरी मनहरा नगरपाकिालका नगरप्रमुख कृष्णहरि थापा । त्यही क्रममा परीक्षणका लागि आएका थिए, ती तीन जना ।

‘विदेशबाट आउनेहरुको नियमित जाँच गर्नेक्रममा अपार्टमेन्टको १४ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई कोभिड–१९ पोजिटिभ देखियो । कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठायौं’ मेयर थापाले अनलाइनखबरसँग भने ।

संक्रमितहरुलाई कोरोनाको कुनै लक्षण थिएन । नगरपालिकाहरुले बोलाएर स्वास्थ्य जाँच नगरेको भए संक्रमणबारे उनीहरुलाई नै थाहा नहुने अवस्था थियो । तर, उनीहरुबाट अरुमा सरेर गम्भीर अवस्था उत्पन्न हुन सक्थ्यो । स्थानीय तहको पहलले यो संकट टर्‍यो ।

घटना २ : गत सोमबार रौतहटस्थित इशनाथ नगरपालिकामा एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । रौतहटमै क्वारेन्टाइनमा रहेका ती युवकको जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याएर पुनः जाँच गर्दा पुष्टि भयो र अस्पताल लगियो ।

ती युवक सहित ५ युवा दिल्लीबाट आएका थिए । दिल्लीदेखि मोतीहारीसम्म ट्रकमा आएर दुई दिनको पैदल यात्रामा रौतहट आइपुगेका थिए । उनीहरू सिधै घरमा जान खोजेका थिए तर, बाबुआमाले घरमा पस्न दिएनन् । क्वारेन्टाइनमा पठाए ।

गाउँमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने चेतना कसरी सम्भव भयो ? इशनाथ नगरपालिकाकी उपप्रमुख हुसने आरा भन्छिन्, ‘हामीले कोरोनाबारे स्थानीय भाषामा प्रचार–प्रसार गरेको छौं । भोजपुरी भाषामा माइकिङ तथा पर्चा सामग्री वितरण गरेका छौं । यसबाट सबै गाउँले कोरोनाबाट बच्नका लागि के गर्नुपर्छ भनेर सजग भएका छन् ।’

उनका अनुसार विदेशबाट आएकाहरुलाई घरमा बस्न नदिनु, सामाजिक दुरी कायम गर्नुपर्छ भनेर स्थानीय भाषामै प्रचारप्रसार गरिएको छ ।

घटना ३ : गत चैत १७ गते वीरगञ्जबाट उद्धार गरेर १७ जनाको टोलीलाई कैलाली पुर्‍याइयो । विदेशबाट आएको थाहा पाएपछि उनीहरुलाई लम्कीचुहा नगरपालिकाले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राख्यो ।

‘उहाँहरुलाई पर्सा जिल्ला प्रशासन कार्यालयले पत्रसहित चिसापानीसम्म छोडिदिनुभएछ । त्यहाँबाट उहाँहरु सिधै आ–आफ्नो घर जानुभएछ,’ लम्कीचुहा नगरपालिकाका उपमेयर टीका थापाले भनिन्, ‘गाउँलेले बाहिरबाट आएको भनेर खबर गरेपछि सबैलाई क्वारेन्टाइनमा राख्यौं ।’

रौतहटस्थित इशनाथ नगरपालिकाले जस्तै लम्कीचुहा नगरपालिकाले माइकिङ गरेर स्थानीय स्तरमा जनचेता फैलाइरहेको छ ।

‘हामीले विदेशबाट आए भने खबर गर्नु है भनेका थियौं । उहाँहरुले खबर पनि गर्नुभयो र ती ६५ बर्षीया महिलासहित ५२ जनालाई क्वारेन्टाइनमा राख्यौं । १४ दिन बसेपछि घर जानुभयो तर, रिपोर्ट आउन बाँकी थियो । रिपोर्ट आउँदा एक महिलामा पोजेटिभ देखिएपछि फेरि सबैलाई क्वारेन्टाइनमा राखेका छौं’ उपप्रमुख थापाले अनलाइनखरबसँग भनिन् ।

०००

माथिका तीन घटनामा कोरोना संक्रमित पत्ता लगाउन स्थानीय तहको भूमिका प्रष्ट छ । र, यस्तै खालको सक्रियता र जागरुकता देशभरका धेरै स्थानीय तहहरुमा देखिएको छ ।

स्थानीय भाषामा जनचेतनामूलक सन्देशहरु तयार पारेर रेडियो–टेलिभिजनमार्फत प्रशारण गर्ने, गाउँ गाउँमा माइकिङ गर्दै हिँड्ने, विपन्न र अशक्तहरुका लागि आवश्यक औषधिको जोहो गरिदिने, गाउँ पस्नेको निगरानी गर्ने, पाहुनालाई बास बस्न नदिनेलगायतका कार्य स्थानीय तहले गरिरहेका छन् ।

गुल्मीको मालिका गाउँपालिकाले एक वडाबाट अर्को वडामा जानसमेत अनिवार्य पास लिनु पर्ने व्यवस्था गरेको छ । सुर्खेतको चौकुने गाउँपालिकाले आवजजावत रोक्न कर्णाली नदीमा रहेको झोलुँगे पुलमा बार लगाएको छ । गोरखा सिरानचोक गाउँपालिकाले पाहुना आएकै दिन फिर्ता हुनपर्ने, नभए क्वारेनटाइनमा बस्नु पर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ ।

यतिबेला स्थानीय तहहरुले महामारीका बेला विदेशबाट आउनेहरुको तथ्याङ्क मात्रै लिएका छैनन्, आफ्नो क्षेत्रका नागरिकहरु कहाँ कहाँ छन् ? गाउँवासी/नगरवासीको आर्थिक हैसियत कस्तो छ ? भन्नेमा समेत ध्यान पुर्‍याएर तथ्याङ्क संकलन गरिरहेका छन् ।

घरघरमै गएर परीक्षण, घरघरमै औषधि

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाले प्रत्येक नागरिकको घरघरमै चिकित्सकसहितको टोली लगेर स्वास्थ्य जाँच गरिरहेको छ ।
‘करिब २२ हजार जनसंख्या हो हाम्रो गाउँपालिकाको । अब एउटा टोलमा मात्र परिक्षण गर्न बाँकी छ । अन्यत्र सबैको परीक्षण सकियो,’ गाउँपालिकाका प्रशासकीय अधिकृत भीम कोइरालाले अनलाइनखबरसँग भने ।

उनका अनुसार बाहिरबाट आएका ६ जना क्वारेन्टाइनमा छन् । जाँचका क्रममा कसैमा कोरोनाको लक्षण देखिएको छैन । गाउँपालिकाले दीर्घरोगीहरुलाई एक महिनासम्मका लागि औषधि खरिद गरेर निशुल्क वितरण गरेको छ । अन्य धेरै नगरपालिकाहरुले पनि नियमित औषधि सेवन गर्नेहरुका लागि सहयोग गरिरहेका छन् ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले नागरिकलाई डाक्टरले लेखिदिए बमोजिमको औषधि एक महिनासम्म पुग्नेगरी निशुल्क वितरण गरेको जनाएको छ । मकवानपुरको थाहा नगरपालिकाले नियमित औषधि सेवन गर्नुपर्नेहरुका लागि वडासम्म औषधि पुर्‍याइदिने व्यवस्था मिलाएको छ ।

‘बृद्धबृद्धा तथा वडा कार्यालयसम्म आउन नसक्नेहरुलाई घरघरमै पुर्‍याउने र अन्यका लागि वडा कार्यालयसम्म पुर्‍याउने व्यवस्था मिलाएका छौं’ थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले भने ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन गरेर घर घरमा वितरण गरेको छ । वाइफाइ, खेलकुद, घरायसी वातावरण सहितको क्वारेण्टाइन बनाएर गाउँपालिका बाहिरबाट आएकालाई राख्ने व्यवस्था पनि मिलाएको छ ।

कोरोनाको महामारी रोकिएपछि आउन सक्ने खाद्य संकटतर्फ ध्यान दिने स्थानीय तहहरु पनि भेटिएका छन् । बुटवल उपमहागरपालिका, धरान उपमहागरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको गजुरी गाउँपालिका, सर्लाहीको लालबन्दी नगरपालिको ५ नम्बर वडा कार्यालयलगायतले खाद्य बैंक स्थापना गरेर खाद्यान्नको जोहो गर्न थालिसके ।

गैरसरकारी क्षेत्र, निजि क्षेत्र लगायत जहाँसुकैबाट प्राप्त हुने राहतलाई खाद्यान्न बैंकमार्फत वितरण गर्ने व्यवस्था समेत मिलाइएको छ । बागलुङको ताराखोला गाउँपालिकाले भने गाउँकै उत्पादन मकै, कोदो, फापर खरिद गरेर खान नपाएकाहरुलाई वितरण गरेको छ ।

स्याङ्जाको फेदिखोला गाउँपालिकाले खाद्यान्न वितरण प्रणालीलाई सहज बनाउन अनलाइन खाद्यान्न व्यवस्थापन प्रणाली संचालनमा ल्याएको छ । उक्त गाउँपाकिालका अनुसार नागरिकहरुले घरमै बसेर खाद्यान्न अर्डर गर्न सक्छन् ।

‘स्थानीय तहले ठूलो पहिरो थामिराखेका छन्’

होमनारायण श्रेष्ठ, सिन्धुपाल्चोकको जुगल गाउँपालिको अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष

जब संकट आउँछ, त्यसले उपायहरु पनि जन्माउँछ । त्यस्ता उपायले नै यस्ता महामारी रोक्न सकिन्छ । संघीय सरकारको मात्रै भरले कोरोनाको रोकथामको कल्पना गर्न गाह्रो हुन्थ्यो ।

आफ्नो भूगोभित्र के गर्नुपर्छ ? भनेर स्वस्तस्फुर्त रुपमा काम गर्ने, अरुसँग पनि सिक्ने प्रवृति अहिले स्थानीय तहका जनप्रतिनिधिहरुमा देखिन्छ । स्थानीय तहले देखाएको सक्रियताका कारण हामी अहिलेको अवस्थामा छौं ।

देश संघीयतामा गएपछि कानुनी अधिकार तल आएको छ । आफैँ नियम बनाउनेदेखि बजेटको व्यवस्था गर्न सक्छन् । कानुनी अधिकार प्राप्त हुँदाको र नहुँदाको फरक यसपटक देखिन सक्छ । गाउँ गाउँमा सिंहदरबार भनेको कानुनी अधिकार नै हो ।

कानुनमात्रै नभएर त्यसको अनुभूति जनताले चाहेका थिए । यो संकटमा केही हदसम्म जनताले त्यसको अनुभूति गरेका छन् ।

बजेट पनि एउटा बल हो, शक्ति हो । यसले पनि काम गर्छ । तर, अहिले बजेट भन्दा धेरै काम भएको छ । स्थानीय जनप्रतिनिधिहरु परिचालित भएर जनचेतनामुलक कार्यक्रमहरु गर्ने लगायतका कार्यको कुनै मुल्य हुँदैन ।

सानो–सानो पहिरो गइरहेको ठाउँमा एउटा ढुङ्गा हुन्छ । अर्थात त्यो ढुङ्गोले ठूलो पहिरो रोकिराखेको थाहा हुँदैन । त्यस्तै अहिले स्थानीय तहले ठूलो पहिरो थामिराखेका छन् । तर, त्यो गणनामै आउँदैन । युरोप–अमेरिकामा मानिसहरु अनुशासनमा नबस्दा जस्तो भएको छ, त्यस्तो हुन नदिन हाम्रोमा स्थानीय तहले भूमिका खेलिरहेका छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?