Comments Add Comment

दोस्रो चरणमा कोरोना फैलिएको होक्काइडोबाट सिक्नुपर्ने पाठ

५ वैशाख, काठमाडौं । जापानको होक्काइडो द्वीप एक समय कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सफलताको कथा रच्ने अवसर नजिक थियो ।

यो क्षेत्रमा भाइरस नियन्त्रणका लागि सामाजिक दुरी, ट्रेसिङ, आइसोलेसन लगायतका कामलाई तीव्रता दिएको थियो । यससँगै उल्लेख्य मात्रामा यहाँ बिरामीको संख्या र नयाँ संक्रमितको संख्यामा कमी पनि आएको थियो ।

तर, दोस्रो चरणमा यो भाइरस फैलिँदा भने होक्काइडोले यसलाई नियन्त्रणमा लिन सकेन । अहिले यो क्षेत्र दोस्रो चरणमा संक्रमित फैलाउने ‘स्पोटलाइट’ क्षेत्रको रुपमा देखिएको छ ।

फेब्रुअरीको अन्तिममा जापानमा होक्काइडो आपतकालीन अवस्था घोषणा गर्ने पहिलो क्षेत्र बनेको थियो । यो क्षेत्रमा भाइरस नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्न सबैलाई आग्रह गरिएको थियो ।

साथै ठूला सभा हुने क्षेत्रमा रोक लगाइएको थियो । यो नियमका कारण मार्चको मध्यसम्म नयाँ संक्रमितको संख्या एक दिनमा एक वा दुईको संख्यामा झरिसकेको थियो ।

त्यसपछि बिस्तारै लकडाउन खुकुलो बनाइयो । अप्रिलको सुरुसम्ममा पुनः विद्यालयहरु खुल्न थालिसकेका थिए । तर, लकडाउन हटाएको २६ दिनपछि यो क्षेत्रमा अहिले पुनः लकडाउन लगाइएको छ । र, मुलुकमा कोरोना भाइरसको संक्रमित बढेसँगै बिहीबार राष्ट्रव्यापी आपतकालको घोषणा गरेको छ ।

सफल कथा रच्ने अवसर

गत साता मात्र होक्काइडोमा एक सय ३५ नयाँ कोरोना भाइरसका संक्रमित देखिएका थिए । यसपटक भने यो क्षेत्रमा जापानभन्दा बाहिरबाट आएको आएको पुष्टि भएको छैन । यी संक्रमितमा कोही पनि विदेशी थिएनन् ।

साथै, उनीहरु पछिल्लो एक महिनामा जापानबाहिर पनि गएका थिएनन् । यसबाट के बुझ्ने ? भारइसले महामारीको रुप लिनुपूर्व नै आवश्यक कदम चाल्ने हो भने नियन्त्रण गर्न सकिन्छ ।

सुरुमा यो क्षेत्रमा कोरोना भाइरस नियन्त्रणबाहिर गएको थिएन । त्यसैले परीक्षण, ट्रेसिङ र आइसोलेसनको काम सजिलो रह्यो । यसले सफल इतिहास रच्ने अवसर पनि दियो । तर, दोस्रो चरणमा होक्काइडोले पहिलाको जस्तो प्रभावकारी काम गर्न सकेन ।

जापान र दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण करिब एकै किसिमले फैलिएको थियो । दक्षिण कोरियाले मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै व्यापक मात्रामा परीक्षण बढायो ।

तर, जापानमा भने यो क्रम उल्टो देखियो । जापानमा पहिलो संक्रमित भेटिएको तीन महिनाभन्दा लामो समय भइसकेको छ । परीक्षण भने निकै कम संख्यामा मात्र भएको छ ।

सुरुमा जापान सरकारले ठूलो संख्यामा परीक्षण गर्नु स्रोत साधनको दुरुपयोग मात्र हुने बतायो । अहिले भने आफ्नो नीति परिवर्तन गरेको छ । तर, विभिन्न कारणले परीक्षणको दर अझै सुस्त छ । जापानको स्वास्थ्य मन्त्रालयलाई कोरोना भाइरसका संक्रमित बढे अस्पतालले माग धान्न सक्दैन भन्ने डर छ ।

साथै परीक्षणको जिम्मा सरकारभन्दा पनि स्थानीय स्वास्थ्य केन्द्रको थियो । यस्ता स्थानीय केन्द्रमा पर्याप्त मात्रामा कर्मचारी र उपकरणको अभाव छ ।

यस्तै, कारणहरुले गर्दा अहिले जापानका अधिकारीहरुलाई मुलुकमा कुन हिसाबमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ भन्ने पनि राम्रोसँग थाहा छैन । यही कारणले जापानमा अहिले उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण बढ्यो  ।

विशेषज्ञका अनुसार होक्काइडोबाट समग्र विश्वले पहिलो चरणमा यो भाइरस रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेपनि परीक्षणमा जोड नदिने हो भने यो महामारी फैलाउन समय लाग्दैन भन्ने सिक्न सकिन्छ । परीक्षण नबढाइ सामुदायिक संक्रमण तथा अस्पतालबाट हुने संक्रमण रोक्न सकिँदैन ।

अघिको यात्रा

अहिले होक्काइडोको अवस्था मानिसको अपेक्षाभन्दा धेरै फरक बनिसकेको छ । यो भाइरसलाई नियन्त्रणमा लिन नसक्दा होक्काइडोको कोरोना भाइरसविरुद्धको लडाइँ पनि लम्बिएको छ । होक्काइडोमा अहिले पुनः लकडाउन गरिएको छ ।

यद्यपि जापानको लकडाउन अन्य मुलुकमा लगाइएको लकडाउनको तुलनामा भने खुकुलो मानिन्छ । लकडाउनमा पनि यहाँका अधिकांश मानिसहरु काममा जान्छन् । विद्यालयहरु बन्द भए पनि पसल र बारसम्म पनि खुला हुन्छन् ।

विशेषज्ञहरूका अनुसार कडा लकडाउनविना जापानमा कोरोना भाइरसको संक्रमण रोकिने सम्भावना कम छ । अहिले जापानमा मुलुकभर आपतकालीन अवस्था घोषणा गरिएको छ । यो अवस्था मे ६ सम्म जारी रहनेछ ।

यो अवधिमा जापानको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै प्रभावित बन्नेछ । कोरोना भाइरसको महामारी सुरु भएसँगै विश्वभर नै लगाइएको यात्रामा प्रतिबन्धले जापानको पर्यटन क्षेत्र यसै पनि प्रभावित बनिसकेको छ ।

यो महामारीबारे काम गरिरहेका होक्काइडोका एक अधिकारी जापानमा लकडाउन अझै लामो समयसम्म रहन सक्ने बताउँछन् । यस किसिमको कडाइ अब खोप पत्ता नलागुञ्जेलसम्म पनि जारी रहन सक्ने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment