Comments Add Comment

क्वारेन्टाइनमा बस्नेको पीडा : लामखुट्टेले बस्नै दिएन

५ वैशाख, जनकपुरधाम । ‘ठूलठूला लामखुट्टेले बस्न दिएको छैन । यहाँ कसरी बस्न सक्छु ?’ धनुषाको शहीद नगरपालिका वडा नम्बर ३ स्थित जनता एकाई माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तेजनारायण साफीले भने ।

भारतमा मजदुरी गर्दै आएका साफी लकडाउनका बाबजुद वैशाख १ गते घर आइपुगेका थिए । स्थानीयले उनलाई क्वारेन्टाइन पठाइदियो । उनी त्यही दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । तर व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ ।

‘विद्यालयको कोठामा बस्ने व्यवस्था मिलाइएको छ’ उनले अनलाइनखबरसँग भने, ‘कोठा पनि फोहोर छ । लामखुट्टेले राति मात्र होइन, दिउँसो पनि बस्न समेत दिएको छैन । कहिले त खाना पनि राम्रोसँग पाकेको पनि हुँदैन ।’

क्वारेन्टाइनमा अहिले भारतबाट आएका दुई महिलासहित पाँच जनालाई राखिएको छ । तर शौचालय एउटै छ ।

स्वास्थ्यकर्मीहरुले थर्मल गनबाट ज्वरो नाप्ने गरेका छन् । तर सेनिटाइजर लगायतको व्यवस्था छैन । नगरपालिकाले भने क्वारेन्टाइनका लागि ५ लाख बजेट छुट्टयाएको बताएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द झा भन्छन्, ‘बजेट भएकाले यहाँ बस्नेका लागि सबैथोक हुनुपर्ने हो । के भएको रहेछ म बुझ्छु ।’

सिरहाको औरही गाउँपालिका ५ स्थित क्वारेन्टाइनमा बस्नेहरुको हालत पनि यस्तै छ । ‘खाना ल्याएर भुइँमै राखिदिन्छन्’ एक सातादेखि त्यहाँ बस्दैआउका परमानन्द झाले गुनासो गरे, ‘हामीलाई अछुतजस्तो व्यबहार भइरहेको छ ।’

भारतबाट फर्किएका झालाई सुन्दर जनता माविको क्वारेन्टाइनमा रादिखएको छ । ‘खाजाखाना ल्याउनेले भुइँमै राखेर हिँडछ’ उनले अनलाइनखबरसँग भने, पानीजस्तै दाल र झोलबाला तरकारी खाँदाखाँदै हैरान भएको छु ।’

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित भूपेन्द्र संस्कृत माविमा बनाइएको क्वारेन्टाइनमा भुइँमा म्याट ओछ्याइदिएको छ । यहाँ बस्नेहरुलाई त्यसमै सुत्नुपर्ने बाध्यता छ । ज्वरो नाप्ने थर्मल गन समेत छैन भने मास्कको समेत अभाव छ ।

सप्तरीको सप्तकोशी, बोदे बर्साइन नगरपालिकाले बनाएको क्वारेन्टाइनमा म्याटमै सुत्नुपर्ने बाध्यता छ । विद्यालयहरुमा नै क्वारेन्टाइन बनाएको भएसिन त्यसलाइै व्यवस्थित गर्न सम्बन्धित स्थानीय तहले चासो नदिएको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment