Comments Add Comment

प्रधानमन्त्रीको निर्देशनपछि हिँडेर जाने मजदुर बाटोमै रोकिए

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि गृह प्रशासनले कार्यान्वयन थालेको छ ।

गृहमन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो । विभिन्न स्थानीय तहले अलपत्र मजदुरलाई गाडीमा राखेर आफ्नो क्षेत्रबाट कटाइरहेका बेला गृहको निर्देशनपछि यो पनि रोकिएको छ ।

काठमाडौं‌बाट पैदल हिँडेर घरतर्फ जाँदै गरेका धेरै मजदुर काभ्रे, धादिङ र चितवन जिल्लामा रोकिएका छन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू

गृहको निर्देशनअगावै काभ्रेपलाञ्चोक र चितवन जिल्ला प्रशासनले मजदुरलाई आवतजावतमा रोक लगाउन थालिसकेको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना लकडाउन भनेकै ‘जो जहाँ छौँ, त्यहीँ बस्ने’ भएको बताउँदै भन्छन्, ‘हामीले त्यही भएर रोक लगाएका हौँ। छिटपुट रुपमा आउनेलाई पनि स्थानीय तहसँग समन्वय गरेर यहीँ बस्ने व्यवस्थापन गरिरहेका छौँ ।’

उपत्यकाकै प्रशासनले मजदुरहरुलाई सम्बन्धित ठाउँमै रोके आफूहरूलाई झन् सहज हुने उनले अनलाइनखबरलाई बताए । उनले भने, ‘यसका लागि हामीले उपत्यकाको प्रशासनसँग पनि समन्वय गरिरहेका छौँ ।’

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उच्च सावधानी अपनाउन लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न थालिएको बताए ।

उनका अनुसार मजदुरलाई स्थानीय तहमै खानपिनको व्यवस्था मिलाउन समेत प्रहरीले समन्वय गरिरहेको छ । ‘स्थानीय युवा र जनप्रतिनिधिको पनि साथ भए, लकडाउन कार्यान्वयनमा थप सफलता हासिल हुने देखियो’, ती अधिकृतले भने, ‘त्यही अनुसार हामीले लकडाउन कार्यान्वयनमा पनि स्थानीय युवालाई पनि सहभागी गराउन थालेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment