Comments Add Comment

पूर्वमा लुकिछिपी भारतबाट छिर्नेहरु रोकिएनन्

जनप्रतिनिधिहरु भन्छन् – परिवारले पनि सूचना लुकाउँछ

६ वैशाख, विराटनगर । लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका ६ जनालाई नियन्त्रणमा लिई मदरसामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी पश्चिम कुशाहास्थित सप्तकोशी नदीबाट डुंगामार्फत नेपाल आउने क्रममा ११ जनामध्ये ७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ ।

सीमा क्षेत्रमा कडाइ गर्दागर्दै पनि चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गर्ने क्रम राक्न नसकिएको सीमा क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । स्थानीय तहमा रहेका सुरक्षाकर्मीले मात्रै सिमानाको रेखदेख गर्न नसकेपछि कतिपय ठाउँमा स्वयंसेवकका रुपमा युवाहरु परिचालन गरिएको छ ।

मोरङको धनपालथान गाउँपालिकाले सिमानाबाट घुसपैठ हुनेलाई रोक्नका लागि ३० जना स्वयंसेवक युवा परिचालन गरेको छ । स्वयंसेवक युवाले लाठी लिएर सीमा क्षेत्रमा गल्ती गर्ने गरेका छन् ।

मुख्य नाकामा सुरक्षा चेक जाँचमा कडाइ गरिए पनि मकैबारी तथा खेतबाट समेत भारतमा रहेका नेपालीहरु प्रवेश गरेका छन् ।

सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भारतको बिहार राज्य पुरै लकडाउन भए पनि त्यहाँबाट लुकिछिपी नेपाल आउनेलाई रोक्न गाह्रो भएको बताउँछन् ।

भारतबाट आउनेको तथ्यांक राख्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको भएपनि भारतबाट आएकाहरु लुक्ने गरेकाले फेला पार्न कठिन भएको धनपालथान गाँउपालिकाकी उपाध्यक्ष नसिमा बानुले बताइन् ।

यस्तो छ पालिकाको अवस्था

सुनसरीको कोसी गाँउपालिकाको २० किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको छ । यहाँबाट भारत प्रवेश गर्ने ६ वटा नाका छ । ती नाकामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

लकडाउनका बेला पनि भारतबाट नेपालीहरु फर्किरहेका गाउँपालिका अध्यक्ष ऐउव अन्सारी बताँउछन् । नेपाल प्रवेश गरेकालाई राख्न दुई वटा मदरसामा क्वारेन्टाइन बनाइएको छ । विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिएको गाउँपालिकाको भनाइ छ । तर भारतबाट आएकाहरु लुक्ने गरेका छन् ।

सुनसरीकै हरिनगर गाउँपालिकाको हरिनगरमा घुर्ना घुस्की र बासमतिया भुटाह मुख्य नाका भए पनि ८ किलोमिटर खुल्ला सीमा भएकाले लुकीछिपी आउने क्रम जारी छ । विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको तर परिवारले सूचना लुकाउने हुनाले यकीन तथ्यांक नभएको गाउँपालिकाले जनाएको छ । दशगजा क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको अध्यक्ष गफार अन्सारीले बताए ।

सुनसरीको देवानजञ्ज गाउँपालिकामा ५ किलोमिटर खुल्ला सीमा २ वटा मुख्य नाका छन् । साहेवगञ्ज र कप्तानगञ्ज नाकामा सुरक्षा निगारानी कडा छ । तर खेतबाट समेत मानिसहरु नेपाल आएको सूचना आइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताए । पालिकामा अहिलेसम्म विदेशबाट फर्किएका १२ जना घरमै निगरानीमा छन् ।

सुनसरीको बर्जु गाँउपालिकामा ६ किलोमिटर खुल्ला सिमाना र ५ वटा भारत जाने आउने मुख्य नाका छ । पुरानोकट्टी टोल, वमरीचोक, हरवुरी, इटहरी र फारम नाकामा सुरक्षाकर्मी छन् । तर खुल्ला सिमाना रहेको स्थानबाट नेपाल प्रवेश भइरहेकाले जोखिम रहेको अध्यक्ष रघुनाथ चौधरीले बताए । विदेशबाट आएका ४० जना हाल होम क्वारेन्टाइनमा छन् ।

मोरङको रतुवामाई नगरपालिकाका ४ वटा मुख्य नाका सोनापुर, थालगाक्षी, घारु चोक र चिनिमारीमा सुरक्षा पोष्ट खडा गरिएको छ । तर बक्राह खोला र रतुवा खोलाको बगरैबगर भारतमा कामका लागि गएकाहरु फर्कने गरेका छन् ।

मोरङकै सुनबर्षी नगरपालिकाले खुल्ला सिमाना क्षेत्रमा बोर्डर सिल गरेको जनाएको छ । नगरपालिकाका मेयर कालीप्रसाद दासले मुख्य दुई नाका सुनबर्षीमा सिक्टी र बरडङ्गा नाकामा कडाइ गरिएको बताए । यति गर्दा पनि भारतबाट आउनेहरु नरोकिएको दासले बताए । उनका अनुसार तीन दिनअघि मात्रै भारतबाट केहि मानिसहरु आएको खबर छ र उनीहरुको खोजी भइरहेको छ ।

मोरङकै धनपालथान गाउँपालिकामा ३ वटा नाका भारतसँग जोडिएका छन् । ती नाका बन्द भए पनि केही दिनअघि भारतबाट लकडाउनकै बेला २५ जना नेपाल आएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । उपाध्यक्ष नसिमा बानुले खुल्ला सिमानाका कारण भारतबाट नेपाल आउने नरोकिएकाले युवाहरुलाई समेत परिचालन गरिएको बताइन् ।

मोरङको जहदा गाँउपालिकाको भारतसँग जोडिएको नाका पोखरीया, डुमरीया, लंकाटोल, भुटाहा र परिजामा कडाइ गरिएको छ । भारतबाट आएकाहरुलाई निगारानी गर्ने काम भइरहेको अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए ।

मोरंगको रंगेली नगरपालिकाले बैआन, धनापट्टी, चोपरा मुख्या नाका क्षेत्रमा कडाई गरेको छ । भारतबाट लुकीछिपी नेपाल छिर्ने क्रम नरोकिएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रंगेलीमा ‘प्रहरी म’ कार्यक्रम सञ्चालन भएको छ । प्रहरी म कार्यक्रममा युवाहरुले सिमानाबाट नेपाल छिरेकाहरुको सूचना नगरपालिकामा पुर्याउने छन् । नगरपालिकाले ३ सय जना स्वास्थ्यकर्मी कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि तयार गरिएको मेयर दिलिप बगेडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment