Comments Add Comment

प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएकाहरू भन्छन् : धेरै दिन त यहाँ बस्दैनौँ

६ वैशाख, काठमाडौं । दाङकी वसन्ती घर्ती सिन्धुलीमा ज्याला मजदुरीको काम गर्थिन् । काम चलुञ्जेल ठिकै थियो । जसै देशमा लकडाउन भयो, सिन्धुलीमा हात मुख जोर्न गाह्रो भयो । केही दिन सरकारको बाटो हरिन्, राहत पनि पाइन् ।

तर, सरकारले दिएको एक पटकको राहतले कतिञ्जेल पुग्थ्यो र ? उनले दाङ फर्किने विचार गरिन्। गाडी खुल्ला कि भनेर केही दिन बाटो पनि हेरिन् । तर, न गाडी खुल्ने छाट देखियो, न थप राहत पाउने सम्भावना रह्यो ।

त्यसपछि उनी सात जनाको समूहमा सिन्धुलीबाट दाङ जाने भन्दै हिँडिन् । रात दिन गरेर चार दिन हिँड्दा उनी थानकोटस्थित त्रिभुवन पार्कमा आइपुगिन् ।

तर, उनीहरुलाई काठमाडौं क्षेत्र नम्बर १० की सासंद अञ्जना विशंखेले थानकोटमै रोकिन् र रोक्दै भनिन् ‘यतै बस्नुस् । खान बस्नको व्यवस्था गरिएको छ ।’

वसन्ती भन्छिन्, ‘अहिले यही बसिरहेका छौँ। उहाँहरुले घर जाने गाडीको व्यवस्था गरिदिने भन्नुभएको छ ।’

बर्दियाका जंगबहादुर चौधरी पनि शुक्रबार नै परिवारसहित भक्तपुरबाट बर्दिया जान भनेर पैदल हिँडेका थिए । थानकोट आइसकेपछि उनलाई पनि रोकियो । ‘राति नहिँड्नुस्, बिहान गाडीको व्यवस्थापन गर्छौँ भनेर रोकेका थिए’ जंगबहादुरले भने, ‘खाना त दिएका छन्, अब गाडीको व्यवस्थापन पनि गर्लान् नि ।’

दक्षिणकालीको सिकाली इँटाभट्टामा काम गर्ने प्रकाश राना मगरसहितको ४० जना पनि त्रिभुवन पार्कमा बसिरहेका छन् । लकडाउन सुरु भएदेखि उनको साहु इँटाभट्टा नफर्किएकाले खान उनीहरूलाई खानाको अभाव भयो । त्यसपछि दाङ जान हिँडेको बताउने उनीहरू भन्छन्, ‘अहिलेसम्म क्लियर कुरा छैन् । यही राख्ने पनि भनिरहेका छन् । धेरै दिन बस्दैनौँ, आफ्नै घर जान्छौँ।’

पैदलै घर हिँडेका सर्वसाधारणलाई काठमाडौं क्षेत्र नम्बर १० ले थानकोट स्थित त्रिभुवन पार्क व्यवस्थापन गरेको छ । करिब तीन सय जनाभन्दा बढी घर जान लागेका मानिसहरूलाई त्यहीँ खाने र बस्ने व्यवस्था गरिएको छ । सांसद विशंखेका अनुसार घर पठाउन गाडीको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment