Comments Add Comment

वीरगञ्जमा पसल अगाडि भिड, दुरी कायम गराउँदैमा प्रहरी हैरान

६ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित माइस्थान मन्दिरको छेउमा शितल खोजेर बसेका पन्नालाल पटेलको हातमा दैनिक उपभोग्य समानको सूची छ ।

बाराको प्रसौनी गाउँपालिका १ बाट आएका उनी माइस्थानको किराना पसल वरपर भिड देखेपछि एक छिन रोकिए । कोभिड–१९ को संक्रमणबाट बच्न भिडभाडबाट टाढै बस्नुपर्छ भन्ने बुझेका उनी सुरक्षित हुनका लागि सडक पेटीको छहारीमा पुगेका थिए ।

‘औषधी लिनु थियो, आउँदा अरु समान पनि लैजाऔं भनेको धेरै भिड छ’ पटेलले भने ‘सधैं यहाँबाट समान लैजाने हुँदा उधारोमा पनि दिन्छन् ।’

वीरगञ्जमा बसेका तीन भारतीय नागरिकमा कोभिड १९ संक्रमण देखिएपछि यो क्षेत्र संक्रणको जोखिममा छ । तर पसलको भिड देख यहाँका मानिसहरु अझै डराएका छैनन् ।

विहान ७ बजेसम्म मात्र खोल्ने नियम परिवर्तन गरी शनिबारदेखि उपभोग्य सामानको पसल खोल्ने समय बिहान ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ । दिनमा पाँच घण्टा खुल्ने भएपनि पसलमा भिड घटेको छैन । चर्को घामको परवाह नगरी सर्वसाधरण बजारमा निस्किएका छन् ।

उपभोग्य सामान किन्ने पसलमा अत्यधिक भिड भएपछि सर्वसाधारणबीच भौतिक दूरी कायम गर्न प्रहरी नै खटिएको छ । सबैभन्दा भिड वीरगञ्जको माइस्थान क्षेत्रमा देखिएको छ । स्थानीय स्तरमा खाद्यान्न सामग्री उपलब्ध नहुँदा टाढा टाढाबाट समेत सर्वसाधरण यहाँ आइपुगेका छन् ।

वीरगञ्ज–१८ भिश्वाका चन्द्रदेवप्रसाद साहले टोलमा समान नपाएकाले माइस्थान नै आउनुपरेको बताए । ‘पाइहाल्यो भने पनि थोरै पाइन्छ, महंगो हुन्छ’ साहले भने ।

आनन्द प्रजापतिले पनि साहकै कुरामा सहमति जनाए । बजारको भिड कम गर्न गाउँ टोलमा अत्यावश्यक समान पाउने व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्ने तर्क उनको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी भने वितरण प्रणाली बिग्रेका कारण स्थानीय स्तरमा खाद्यान्न सामग्री सकिएको बताउँछन् । ‘शुरुदेखि नै सप्लाई चेनलाई बिग्रन नदिउँ, वीरगञ्ज उद्योग वाणिज्य संघको मद्दत लिएर खाद्य सामाग्री टोल टोलमा पुर्‍याउनुपर्छ भन्दै आएको हो । तर प्रशासनले मेरो कुरालाई बेवास्ता गर्दै आयो’ उनले भने ।

वितरण प्रणाली टुटेका कारण अब स्थानीयस्तरमा खाद्य सामग्री पुर्‍याउन सजिलो नभएको उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यक सामान खरिद गर्न जाँदा सावधानी अपनाउन ग्राहकलाई आग्रह गरेको छ । संघका अध्यक्ष गोपाल केडियाले विज्ञप्ति निकालेर ११ देखि ३ बजेकोसम्म पसल खुल्ने भएकाले भिड नगरी सामान किन्न आग्रह गरेका छन् । ग्राहक ग्राहकबीच र ग्राहक र ब्यापारीबीच निश्चित दूरी कायम गर्न र मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।

सवारी पासको दुरुपयोग

केडिया आँखा अस्पतालमा कार्यरत प्रकाश वर्मा र अर्का एक युवक प्याज किन्न भन्दै माइस्थान निस्किएका थिए । प्रहरीले उनीहरु चढेको मोटरसाइकल रोकेपछि बर्माले आफू स्वास्थ्यकर्मी भएको बताए ।

धेरै समय बिरामीको उपचारमा खटिनुपर्ने हुँदा समय मिलाएर अत्यावश्यक वस्तु किन्न आउँदा पनि प्रहरीले दुख दिएको बर्मा गुनासो गर्छन् । तर प्रहरी अधिकारीहरु भने स्वास्थ्यकर्मीलाई खाद्यान्न किन्न सवारी चलाउन नदिएको तर्क गर्छन् ।

यसरी छुटको दुरुपयोग गर्नेमा वीरगञ्ज महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसमेत छन् । कतिपयले औषधी खरिद गर्ने र बिरामी जँचाउने बाहनामा लकडाउन उल्लंघन गरेको प्रहरी अधिकारीको भनाइ छ ।

खाद्यान्न सामाग्री खरिद गर्दा सवारी साधन प्रयोग नगर्न आग्रह गरे पनि अटेर गरेपछि ४६ मोटरसाइकल र दुईवटा कार नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
गण्डकबाट विर्तास्थित एडभान्स अस्पताल पुगेर आएको दावी गर्ने अनुवर आलमको मोटरसाइकल प्रहरीले माइस्थानमा नियन्त्रणमा लियो । अस्पताल पुगेर श्रीमतीको जाँच गराएर फर्केको बताए पनि उनले प्रमाण देखाउन सकेनन् ।

हजुरबुवाको मृत्यु भएका कारण आवश्यक सामान गरिद गर्न वडा कार्यालयको सिफारिस लिएर आएका शोभाकान्त पण्डित चढेको मोटरसाइकल पनि प्रहरीले खोसिदियो । समस्या अवगत गराएपछि मात्र प्रहरीले उनलाई जान दियो ।

जुन कामका लागि सवारी साधन सञ्चालन गर्न दिइएको हो त्यो भन्दा अर्को काममा समेत प्रयोग गर्ने प्रवृत्ति देखिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाही बताउँछन् ।

औषधी व्यवसायीद्वारा विरोध

नेपाल औषधी व्यवसायी संघ नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारीलाई वीरगञ्जको घण्टाघरमा प्रहरीले दुव्र्यबहार गरेको भन्दै औषधी व्यवसायीले शनिबार बेलुका केहीबेर पसल बन्द गराएका थिए ।

औषधी पसल बन्द गराउँदै हिँडेका तीनजना औषधी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले भने औषधी व्यवसायीको पास लिएर तरकारी किन्न निस्केका कारण सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment