Comments Add Comment

विदेशमा अलपत्र नेपालीको उद्धार गर : राप्रपा

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका नेपाली नागरिकलाई उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राप्रपाले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गरी नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि माग गरेको छ ।

त्यस्तै आफू बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौं किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पु¥याउन पनि राप्रपाले माग गरेको छ ।

त्यस्तै विभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि राप्रपाले आग्रह गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पार्ने हुँदा नेपालमा त्यसको प्रभाव न्युनीकरण गर्न अहिलेदेखि नै अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबद्र्धन कार्यक्रम तयार पार्न पनि आग्रह गरेको छ ।

राप्रपाले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसंगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीबाट प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउन पनि राप्रपाले माग गरेको छ ।

कोरोना भाइरसको प्रकोपले अल्पविकसित देश झन् बढी प्रभावित भएको भन्दै राप्रपाले सरकारले अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई बर्षसम्मको लागि व्याज मिनाह गर्ने प्रस्ताव राख्न सुझाव दिएको छ । त्यस्तै नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तीमा ५० प्रतिशत मिनाहाको प्रस्ताव पनि अन्तर्राष्ट्रिय मञ्हरुमा राख्न राप्रपाको सुझाव छ ।

राप्रपाले सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

‘…सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment