Comments Add Comment

‍‍‍… अनि ट्रकमा ११२ जना कोचिएर धार्केदेखि पथलैयासम्म पुगे

फाइल तस्वीर

७ वैशाख, काठमाडौं । शुक्रबार राति करिब १० बजे । धादिङको धुनीबेँसी नगरपालिका-५ धार्केको विनायक इँटा उद्योग परिसरबाट एक हुल मानिसहरू तीन किलोमिटर हिँडेर राजमार्गमा निस्किए ।

लकडाउनका कारण २५ दिनदेखि अलपत्र परेका उनीहरू अब आफ्नै घर जानुको विकल्प थिएन ।

राजमार्गको एकछेउमा एउटा कोइला बोक्ने ट्रक खडा थियो । स-साना बालबालिका र पोको पुन्तुरो बोकेका बयस्कहरू तँछाडमछाड गर्दै ट्रकमा चढ्न थाले । उनीहरूको चहलपहलले राजमार्ग वरपरको मानिसहरूको ध्यान त्यतैतिर खिचियो । यत्रो संख्याको मानिस एउटा ट्रकमा कसरी जालान् भनेर वरपरका मानिसहरूले घरबाटै नियालिरहेका देखिन्थे ।

इँटा उद्योग मालिकले घर जानका लागि एउटा मात्रै ट्रकको व्यवस्था गर्दा पनि मजदुर खुसी देखिन्थे । इँटा उद्योग मालिकले उनीहरूलाई चितवन, हेटौंडा हुँदै बाराको पथलैयासम्म पुर्‍याउने जिम्मा लिएको थियो ।

इँटा उद्योगमा काम गर्ने पर्सा ठोरीका सरोज प्रजाका अनुसार राति १० बजेतिर हिँडेको ट्रक बिहान झिसमिसेमा पथलैया पुगेको थियो । ‘घर फर्कन पाएको खुसीमा ट्रकमा कसरी कोचिएर यात्रा गर्‍यौँ भन्ने कुरा पनि बिर्सियौँ’ सरोजले भने ।

श्रीमती र दुई छोराछोरीसहित इँटाभट्टामा काम गर्न धादिङ आएका सरोजसहित एक सय १२ जना शनिबार बिहान ५ बजे पथलैयामा झरेका थिए । त्यहाँबाट ५ घण्टा हिँडेर पर्साको बडनिहारमा पुगे । त्यहाँ स्थानीयले खानपिन र सुवर्णपुरसम्म जाने ट्याक्टरको बन्दोबस्त गरिदिएका थिए ।

लकडाउनका कारण अलपत्र परेका उनीहरू पर्साको ठोरी गाउँपालिका २ र चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका हुन्। महिला, बालबालिका तथा पुरुष गरी एक सय १२ जनाको डफ्फालाई बडनिहारबाट ठोरी गाउँपालिकाको सुवर्णपुरसम्म पुर्‍याउने व्यवस्था त्यहाँका स्थानीय अगुवाले गरेका थिए ।

सुवर्णपुरमा सबै जनाको स्वास्थ्य जाँच गरिएपछि गाउँपालिकाले टिपरमार्फत ठोरी पुर्‍याएको थियो । गाउँ पुगेपछि ठोरी हेल्थपोस्टमा पनि सबै जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

स्वास्थ्य अवस्था सामान्य पाइएपछि होम क्वारेन्टाइनमा बस्ने सुझाव दिँदै सबैलाई घर पठाइएको ठोरी गाउँपालिका-२ का वडाध्यक्ष किशोर तामाङले बताए । ‘आफ्नै गाउँ फर्किन पाएकाले घरमा भएको मीठोमसिनो खाएर बाँचिने भइयो भन्ने लागेको छ’ सरोजले घर पुगेपछि टेलिफोनमा भने । कोरोना भाइरसकोभन्दा पनि एक पेट खाना नपाएर नै मरिन्छ कि भन्ने चिन्ता अब हटेको उनले सुनाए ।

‘कात्तिकमा स-साना छोराछोरी र श्रीमती लिएर कमाउन गएका थियौँ । तर, हात लाग्यो शून्य अवस्थामा ज्यान बचाएर धन्न घर फर्कन पायौँ’ सरोजले भने ।

लकडाउनका कारण इँटाभट्टाको काम रोकिएपछि उनीहरू अलपत्र परेका थिए । रोगलेभन्दा पनि भोकले मर्ने चिन्ताले छटपटाएका उनीहरू लकडाउनको २६ औं दिनमा घर पुगेका हुन् । प्रजाले भने, ‘गरिब मजदुरको कुरा कसले सुन्ने ? घर जानका लागि सबैसँग हारगुहार गर्दागर्दै बल्ल २६ दिनको दिन घर आइपुगेका छौँ ।’

लकडाउन सुरु हुँदा पनि उनीहरूको काम रोकिएको थिएन । खुल्ने आशामा बस्दाबस्दै उनीहरूसँग भएको अलिअलि पैसा पनि सकिँदै गयो । तर, उद्योग सञ्चालकले खाद्यान्नको व्यवस्था गरेनन्, स्थानीय तहले उद्योग सञ्चालकले नै राहत दिनुपर्ने भन्दै तर्कियो। त्यसपछि उनीहरुले घर जाने विकल्प खोजेका थिए ।

धुनिबेँसी नगरपालिका ५ का वडाध्यक्ष कृष्णकुमार रेग्मीले लकडाउनलगत्तै प्रत्येक उद्योगका सञ्चालकलाई मजदुर घर पठाउन पत्राचार गरेपनि अटेरी गरेकाले मजदुरले दुख पाएको बताए । ‘बनाएका इँटाहरू थन्क्याउन बाँकी रहेका कारण उहाँहरूले हाम्रो कुरालाई मान्नुभएन । मजदुर घरफिर्ता पठाउने पहल स्थानीय तहबाट नभएको पनि होइन तर त्यसबेला सफल हुन सकेनौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment