Comments Add Comment

कृषि क्षेत्र चलायमान नराखे भोकमरीको खतरा

६ वैशाख, काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले केही दिनअघि एक पत्रमार्फत देशमा खाद्य संकट र भोकमरी आउन सक्ने खतरातर्फ स्थानीय तहहरूलाई सचेत गराए। तत्काल प्रभावकारी हस्तक्षेप नभए कोरोना र भोकमरीसँग एकैसाथ जुध्नुपर्ने अवस्था आउन सक्ने उनको संकेत थियो ।

गत चैत २४ मा मन्त्री भुसालले पठाएको सो साझा पत्र सात सय ५३ स्थानीय तहमा पुगिसकेको छ । तर, अहिले प्राय: स्थानीय तहहरू कोरोनाविरुद्धको लडाइँमै केन्द्रित रहेकाले अरु कुरा सोच्न पनि भ्याएका छैनन् । मन्त्रीको पत्र त्यसै दराजमा थन्किएको छ ।

सरकारले कोरोनाको महामारी रोक्न घोषणा गरेको देशव्यापी लकडाउनको चौथो हप्ता पूरा हुन लाग्यो । यसबीचमा देशमा धेरै समस्याहरू उत्पन्न भइसकेका छन् । अझै लकडाउन लम्बिएमा कोरोनालेभन्दा पहिले भोकले मरिने चिन्ता विपन्न वर्गमा व्याप्त हुन थालेको छ ।

लकडाउनका कारण आपूर्ति प्रणाली बिग्रिएको छ । एकातिर किसानले उब्जाएका तरकारीले बजार पाएका छैनन् भने अर्कोतिर उपभोक्ताले सहज रुपमा तरकारी किन्न पाएका छैनन् । किसानहरूले सडकमा दूध पोखेका छन् । खेतीमा ट्याक्टर चलाएका छन् । जिउँदा कुखुराका चल्ला खाल्डोमा पुरेका छन् ।

नयाँ उत्पादनका लागि मल–बिउ जस्ता अत्यावश्यक वस्तुको अभाव चुलिँदै गएको छ । कोरोनाले बिग्रिएको अन्तरदेशीय आपूर्ति प्रणालीका कारण पैसा हुनेहरूले पनि सहज रुपमा वस्तु किनेर उपभोग गर्न सक्ने अवस्था छैन । यी सबै सन्दर्भहरूले के संकेत गर्छन् भने मन्त्रीले भनेजस्तै भविष्यमा नेपाल खाद्य संकट र भोकमरीको दलदलमा पर्ने खतरा टड्कारो छ ।

आयातमा निर्भर नेपालको अर्थतन्त्र र कोरोनाले बिग्रिएको विश्व आपूर्ति व्यवस्थाको लहरोका कारण नेपालले ठूलो मूल्य चुकाउने मन्त्री भुसाल बताउँछन् ।

उनले भनेका छन्, ‘वैदेशिक रोजगारीबाट फर्कनेहरूको संख्या बढ्नेछ भने हरेक वर्ष बयस्क हुने जनसंख्यालाई रोजगारीकाे अभाव हुँदै जानेछ जसका कारण बेरोजगारी र गरिबी एकसाथ बढ्दै जानेछ ।’

विश्वकै कृषि उत्पादन कमजोर रहँदा आयात प्रभावित हुने र भएका उत्पादन महँगो मूल्यमा पनि खरिद गर्न नसकिने अवस्था आउन सक्ने उनको भनाइ छ ।

कृषि क्षेत्रमा कोरोनाको प्रहार

पोल्ट्री, तरकारी, दुग्ध र मासुमा कोरोनाको असर व्यापक रुपमा देखिन थालेको कृषि मन्त्रालयको ठहर छ । किसानका उत्पादन खेर जाने अवस्था आइसकेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी बताउँछन् । सरकारको विवरण अनुसार गत वर्षको उत्पादनको तुलनामा करिब १० प्रतिशत नोक्सानी भइसकेको छ ।

अझै एक साता लकडाउन लम्बिए यो नोक्सानी सात प्रतिशत बढ्ने मन्त्रालयको अनुमान छ । अघिल्लो वर्ष १४ लाख ७५ हजार मेट्रिक टन दूध, दुई लाख ४८ हजार मेट्रिक टन मासु, एक अर्ब सात करोड वटा अण्डा उत्पादन भएको थियो । यस्तै, ४१ लाख ७५ हजार मेट्रिक टन मौसमी तरकारी उत्पादन भएको थियो । त्यसो त प्लटिङ जस्ता समस्याका कारण खाद्यबाली लगाइएको जमिनको क्षेत्रफल घट्दो क्रममा छ ।

कृषिजन्य वस्तुको उत्पादन

कृषि मन्त्रालयका अनुसार यस वर्ष ५५ लाख ५० हजार आठ सय ७८ मेट्रिक टन धान, २० लाख ४० हजार मेट्रिक टनभन्दा धेरै गहुँ, तीन लाख मेट्रिक टन कोदो, २६ हजार मेट्रिक टनभन्दा धेरै फापर र जौ उत्पादन भएको छ । गहुँ र जौको उत्पादन अघिल्लो वर्षभन्दा बढी भएको रेग्मीले बताए । यस्तै, दलहन बालीमा पनि खासै ठूलो असर देखिएको छैन ।

प्रमुख दलहन बाली मुसुरो दुई लाख ३४ हजार मेट्रिक टनभन्दा धेरै हुने मन्त्रालयको अनुमान छ । यस्तै, तेलहन बाली तोरी, सनफ्लावर लगायतको कुल उत्पादन साढे दुई लाख मेट्रिक टन हाराहारी हुनेछ । ३२ लाख मेट्रिक टनभन्दा धेरै आलु उत्पादन भइसकेको छ ।

मन्त्रालयका अनुसार फलफूलतर्फ सुन्तला, स्याउ, भुइँ र रुख कटहरमा कोरोनाको असर परेको छैन । करिब ११ लाख ५० हजार मेट्रिक टन फलफूल उत्पादन भएका छन् । सवा दुई लाख मेट्रिक टन हाराहारी उत्पादन रहेको मसलाबालीमा पनि कोरोना असर नदेखिने मन्त्रालयले जनाएको छ ।

कृषि उपजको उपभोग

आार्थिक सर्वेक्षण २०७५/७६ अनुसार सो आर्थिक वर्षको फागुनसम्म कृषिजन्य उत्पादन एक खर्ब ३८ अर्ब छ करोडको आयात भएको थियो । आर्थिक वर्ष ०७६/७७ को आठ महिनामा ७६ अर्ब ५५ करोड १४ लाख बराबरको कृषिजन्य वस्तु आयात भइसकेको भन्सार विभागले जनाएको छ ।

यो अवधिमा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरको दुई लाख दुई हजार मेट्रिक टन फलफूल, ११ अर्ब ९८ करोड रुपैयाँ बराबरको दुई लाख ३८ हजार मेट्रिक टन दलहन गेडागुडी, ४० अर्ब ८२ करोड बराबरको १० लाख ४३ हजार मेट्रिक टन खाद्यान्न (धान, गहुँ, मकै, चामल, पिठो, जौ, लगायत) र ११ अर्ब ३८ करोड रुैपयाँ बराबरको ४ लाख २३ हजार मेट्रिक टन तरकारी नेपालले आयात गरेको छ ।

त्यसो त कृषि मन्त्री घनश्याम भुसालले आयात प्रणालीको अहिलेको सिलसिला टुट्न सक्ने आकलन गरेका छन् । भन्सार विभागको विवरण पनि कृषिमन्त्रीको आशंकासँग मेल खान्छ । लकडाउनको पछिल्लो तीन हप्तामा तरकारी बाहेकका खाद्य वस्तुको आयात पूर्ण ठप्प नै छ । हरियो तरकारी तथा फलफूलको आयातमा पनि सामान्य अवस्थामाभन्दा संकुचन आएको भन्सार विभागका महानिर्देशक सुमन दाहाले बताए ।

‘कृषिको चक्र नबिगारौँ’

कोभिडबाट बाँच्दै कृषिको प्रणालीलाई सुस्तरुपमा भए पनि चलायमान राख्नुपर्ने विज्ञहरू बताउँछन् । कृषि विज्ञ सालिकराम गुप्ताको भनाइमा चैते धान रोपाइँ प्रभावित भइसकेको छ ।

‘जम्मा ४० प्रतिशत मात्रै चैते धान रोपाइँ भएको छ, मल, बिउको अभाव देखिएको छ,’ गुप्ताले भने ।

सरकार, निजी क्षेत्र र सबै पक्ष मिलेर कृषि चक्र सुचारू नगरे भविष्यमा थाम्नै नसक्ने समस्या आउन सक्ने चेतावनी उनले दिए । ‘स्वदेशको उत्पादनले धान्दैन, थप उत्पादनमै समस्या देखिने भयो, आयात त हाम्रो वशमै छैन,’ उनले भने ।

बारीमा तरकारीहरू कुहिने अवस्था अन्त्य हुनु पर्ने गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment