+
+
WC Series
पोखरा एभेन्जर्स 2025
123/4 (15.3)
VS
२७ बलमा ४३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘धान जोन’ मै उत्पादन घट्यो

रासस रासस
२०८१ मंसिर ८ गते १३:५१

८ मंसिर, काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो ।

गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिकटन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी लक्ष्मी शाहले जानकारी दिए ।

उनका अनुसार जिल्लामा ८०० हेक्टर क्षेत्रफलमा ‘धान जोन’ सञ्चालनमा रहेको छ । क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ५२८ मेट्रिकटनले कमी आएको उनले जानकारी दिए । उत्पादन घटेसँगै उत्पादकत्व घटेको छ ।

गत वर्ष ‘धान जोन’ मा बर्खे धानको उत्पादकत्व ५.२७ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष उत्पादकत्व घटेर चार दशमलव ६१ मेट्रिकटन प्रतिहेक्टर भएको सूचना अधिकारी शाहले जानकारी दिए । धान संकलन गर्ने समयमा भएको वर्षाले धानमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा कमी आएको उनले बताए । कैलालीमा ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएको थियो ।

‘धान जोन’ जिल्लाका जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ९ वडामा सञ्चालनमा छ । लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा किसानलाई बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोग गर्ने गरेको जनाइएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७३/७४ बाट ‘गहुँ सुपरजोन’ र आर्थिक वर्ष २०७४/७५ बाट ‘तेलहन जोन’ सञ्चालनमा छ । ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा तथा ‘तेलहन जोन’ जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिका, भजनी र घोडाघोडी नगरपालिकाका विभिन्न २९ वडा सञ्चालनमा रहेको जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?