
७ वैशाख, काठमाडौं । लकडाउन उल्लङ्घन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ परेका छन् ।
कपिलवस्तुको मायादेवी गाउँपालिका-७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका-७ का स्थानीय हुन् ।
लकडाउनको समयमा मस्जिदमा प्रार्थना नगर्न पटक-पटक गरिएको आग्रह पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी दीपशमशेर राणाले अनलाइनखबरलाई जानकारी दिए ।
उनीहरूलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उनीहरूलाई के गर्ने भन्नेबारे निर्णय हुने एसपी राणाले जानकारी दिए ।
कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले धार्मिकस्थलमा भिडभाड नगर्न सार्वजनिक अपिल गर्दै आएको छ । प्रशासनको आग्रहपछि पनि मस्जिद, मन्दिरलगायतमा भिडभाड बढेपछि नियन्त्रण प्रयास थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4