Comments Add Comment

बारीमै कुहिन थाल्यो तरकारी

७ वैशाख, भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउन समस्या भएपछि उनीहरू मारमा परेका हुन् ।

सानो बजार क्षेत्रका कारण उत्पादित तरकारीले बजार नपाएपछि व्यवसायिक तरकारी खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

स्थानीय हाटबजारहरू बन्द भएपछि किसानको तरकारी बिक्री हुन छाडेको छ। केही किसानले सामान्य रूपमा डोकोमा बोकेर ल्याएर थोरै मात्रामा बिक्री गरेपछि व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका कृषकको तरकारी भने खपत नभएको हो ।

जसका कारण उनीहरूको तरकारी बारीमा कुहिन थालेको छ। भोजपुर नगरपालिका-५ का स्थानीय कृषक गीता विष्टले भनिन्, ‘बजारमा तरकारी बिक्रीका लागि लैजान नपाएपछि धेरै समस्या भएको छ, उत्पादित तरकारी गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।’

हप्तामा शनिबार र बुधबार लाग्ने स्थानीय बजार बन्द भएपछि काउली, बन्दा, आलु, सागलगायत तरकारी बारीमै कुहिन थालेको उनीहरूको भनाइ छ । खेतीपातीको सिजनमा लकडाउन भएपछि कामदार, बिउबिजन ल्याउन नसकिएको किसानले बताउने गरेका छन् ।

तरकारी बिक्री नभएपछि घर गर्जो टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । स्थानीय कृषक कमला थापाले भनिन्, ‘तरकारी बिक्रीबाट घर खर्च जोहो गर्न निकै सजिलो थियो, बिक्री नहुँदा सबै तरकारी कुहिएर खेर गयो, बिक्रीका लागि लैजाने ठाउँ छैन, लकडाउनका कारण हामी कृषकलाई पनि धेरै समस्या थपिएको छ ।’

भोजपुरको बोखिम, पोखरे, टक्सार, आमचेक लगायत ठाउँका कृषकले मुख्य गरेर सदरमुकाममा तरकारी बिक्रीका लागि ल्याउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment