Comments Add Comment

‘अध्यादेशले प्रदेश-२ सरकारलाई असर गर्दैन’

९ वैशाख, जनकपुरधाम । सरकारले राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि अनेक अड्कलबाजी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जोडबलमा आएको यो अध्यादेशले समाजवादी र राष्ट्रिय जनता पार्टी फुटाउने हो कि नेकपामा नै फुट ल्याउँछ भन्नेमा मानिसहरूको आ-आफ्नै अड्कल छ ।

तर, प्रदेश-२ का सत्ता साझेदार दलका नेताहरूले भने अध्यादेशले सरकारलाई असर नगर्ने बताएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले यसलाई गलत समयमा आएको गलत अध्यादेश भनेका छन् । समग्र विश्व कोरोना महामारीसँग लडिरहेको अवस्थामा यो अध्यादेश ल्याउनुहुँदैनथ्यो । गलत समयमा गलत काम भएको छ’ उनले भनेका छन् ।

सरकारलाई स्थायित्व दिने वातावरण बन्न थालेको बेला त्यसलाई बिथोल्ने गरी अध्यादेश आएको उनले बताए । समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, ‘यो अध्यादेशले प्रदेश सरकारको समीकरणमा कुनै किसिमको फरक पार्दैन ।’

सत्ता साझेदार राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल पनि त्यो अध्यादेशले प्रदेश सरकारमा कुनै समस्या नपार्ने दाबी गरेका छन् । ‘कोरोनाबाट बच्नुपर्ने र जनतालाई राहत दिनुपर्ने अवस्थामा यो अध्यादेश ल्याउनु ठिक होइन’ उनले भने, ‘तर यसले हाम्रो सरकारमा कुनै समस्यामा पार्दैन ।’

फुटबल खेलको उदाहरण दिँदै सोनलले भने, ‘जसरी खेलको नियम परिवर्तन गरिन्छ, त्यो नियम कमजोर खेलाडीमाथि मात्र होइन, मजबुत भनिएका खेलाडी पनि त्यसको सिकार हुन्छन् । त्यसैले यो नियम परिवर्तनले कोही पनि अछुतो रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment