+
+
Shares

राहतमा कुहिएको दाल प्रकरण : नगर प्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

सुरेश बिडारी सुरेश बिडारी
२०७७ वैशाख १० गते १३:३४

१० वैशाख, वीरगञ्ज । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। नगर प्रमुख यादवसहित १२ जनाविरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन-२०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । मंगलबार नै उनलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो । प्रशासनबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बुधबार प्रहरीले नगर प्रमुखका काकाको छोरा रोशन भनिने रविन्द्र यादवलाई पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा राहतको नाममा कुहिएको दाल वितरणमा जनप्रतिनिधिहरू फस्दै गएको देखिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

नगरप्रमुख यादवसहित मंगलबार प्रहरीले यादव आइस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव र कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारीलाई समेत नियन्त्रणमा लिएको थियो ।

यसअघि प्रहरीले ५ जना वडा अध्यक्ष, १ जना वडा सचिव लगायतलाई नियन्त्रणमा लिइसकेको थियो । वडा नं १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनार, वडा नं ७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं १३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नं २६ का महेश साह, वडा नं २० का सचिव खेदु मियाँ, कलैया-७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगञ्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आइस एन्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं २० वसन्तपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आइस एन्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्समा छापामारी गरेर २५ किलोको तीन सय ८० बोरा दाल सिलबन्दी गरेको थियो । सोही दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराउँदा दाल गुणस्तरहीन प्रमाणित भएको थियो ।

प्रहरीले सोमबार पुनः छापामारी गरेर थप २२ हजार पाँच सय किलो रहरको दाल बरामद गरेको छ । स्टोर्समा ५० किलोको चार सय ५० बोरा दाल बरामद भएपछि नमुना संकलन गरी परीक्षणका पठाउनुको साथै कोल्ड स्टोर्समा सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?