Comments Add Comment

सशस्त्रले महिला कुटेको भन्दै भिस्वावासीको विरोध

१० वैशाख, वीरगञ्ज । सशस्त्रले महिला कुटेको भन्दै पर्साको छिपहरमाई गाउँपालिका-५ भिस्वाका बासिन्दा विरोधमा उत्रिएका छन् ।

भिस्वा सीमा नाका हुँदै भारत पुगेर तरकारी खरिद गरेर फर्किएका महिलाहरूलाई लखेटेर कुटपिट गरेको भन्दै स्थानीयले लकडाउन उल्लङ्घन गर्दै सीमा सुरक्षार्थ खटिएका सशस्त्रको विरोध गरेका हुन् ।

स्थानीय बासिन्दाले सशस्त्र प्रहरीमाथि ढुंगासमेत प्रहार गरेको र सशस्त्र प्रहरीले पनि भिडलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय र सशस्त्र प्रहरीबीच तनाव बढेपछि थप सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको थियो ।

सीमापारि सिक्टा बजारबाट तरकारी किनेर आइरहेकी दुई जना महिलालाई भिस्वा सीमा नाकामा खटेका सशस्त्र प्रहरीले कुटपिट गरेपछि स्थानीय सशस्त्र प्रहरीको विरोधमा उत्रिएको स्थानीय आलोक कुशवाहाले बताए । ‘लकडाउन सुरु भएदेखि भिस्वामा तरकारी र खाद्यान्नको पसल खुलेको छैन’ उनले भने, ‘ सीमावर्ती भारतीय बजार जान पनि पाइएको छैन, दुईजना महिला गएर तरकारी लिएर आएछन्, सशस्त्र प्रहरीले कुटपिट गर्‍यो । त्यसैले गर्दा स्थानीय आक्रोशमा आएका हुन् ।’

सशस्त्र प्रहरीले आफ्ना लागि तरकारी र खाद्यान्न सीमावर्ती बजारबाट ल्याउने गरेको आरोप स्थानीयको छ । यद्यपि, सशस्त्र प्रहरीले आरोप झुठो भएको बताएको छ ।

नेपाली बजारभन्दा खाद्यान्न सामग्री सस्तो पाइनेे हुँदा सीमावर्ती क्षेत्रका बासिन्दाले किनमेलका लागि भारतीय बजार रोज्ने गर्छन् ।

अर्का स्थानीय इमरान समानीले कि भारतमा लाग्ने बजारमा जान दिनुपर्ने कि भिस्वामा आवश्यक समानको प्रवन्ध हुनुपर्ने बताउँछन् ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले स्थानीय र सशस्त्र प्रहरीबीच विवाद भएको र स्थानीयलाई सम्झाइबुझाई घटना साम्य पारिएको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले लकडाउनमा सीमावर्ती बजार जान खोजेका महिलालाई रोक्दा स्थानीयले विरोध गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment