Comments Add Comment

‘साथी म घर गएँ है !’

पोखराबाट १८० रोल्पाली मजदुरको उद्धार

११ वैशाख, पोखरा । पोखरा रत्नराज्य लक्ष्मी स्कुल परिसरमा बुधबार बिहानैदेखि ठूलो भिड थियो । ठूला जेब्रा झोला र बोरामा सामान कोचेर आउनेहरूको लस्कर सकिएको छैन । काखमा साना केटाकेटी पनि बोकेर आमाहरू पनि त्यही भिडमा मिसिन आइपुगेका छन् ।

एक महिने लामो लकडाउनको चपेटामा परेपछि सबैको अनुहार समस्याग्रस्त देखिन्छ । तर, बुधबार बिहानै भिडमा भेटिएका उनीहरूको आँखामा भने केही आशाको उज्यालो छाएको थियो । प्रचण्ड गर्मीको कुनै प्रवाह छैन । किनकि उनीहरूलाई रोल्पा पोखरा सम्पर्क समाजले भनेको छ, ‘यहाँ समस्या परेकालाई सुरक्षित गाउँ पुर्‍याउने व्यवस्था गरेका छौँ । सम्पर्कमा आउनुहोला !’

लामाचौरको प्राङ्गणमा देखिएको त्यो भिड रोल्पाबाट मजदुरी गर्न पोखरा आएकाहरूको हो । पोखरामा बस्न लकडाउनले खान, लाउनै मुस्किल परेको र सयौं किलोमिटर टाढा आफ्नो गृह जिल्ला ‘हिँडेर जान्छौँ’ भनेपछि उनीहरू एकीकृत भएर आ-आफ्ना स्थानीय सरकारलाई गुहारे । जसको समन्वय गर्‍यो, रोल्पा पोखरा सम्पर्क समाजले ।

बिहान ६ बजेबाटै जम्मा हुन थालेका उनीहरू साँझ ५ बजेसम्म करिब एक सय ८० को संख्यामा भेला भइसकेका थिए । त्यसमा वृद्धवृद्धादेखि साना बालबालिकासमेत थिए । उनीहरू कतिखेर गाडी आउला र घरको बाटो सोझ्याउँला भन्ने पर्खाइमा थिए ।

नजिक डेरा हुनेहरू फर्किएर खाना खाइवरी आए । तर, टाढा हुनेहरू बिहानैदेखि भोकै थिए । किनकि उनीहरूलाई भनिएको थियो, ‘१२ बजेदेखि यहाँबाट गाडी जान्छ । जो छिटो आयो उसैको पालो पहिले आउँछ ।’ ४ वटा गाडी उनीहरूको नाममा थियो । तर, संख्या धेरै थियो । उनीहरू कोही पनि छुट्न चाहँदैन थिए ।

साँझ करिब साढे ४ बजे बस आयो । बिहानैदेखि बसको पर्खाइमा कहिले खेल्दै त कहिले निदाउँदै बसिरहेका बालबालिकालाई बस आएको आवाजले चाँडै उठायो । प्रहरीले लाइनबद्ध बनाएर गाडीमा चढाएपछि झ्यालबाट चियाउँदै योजना जसरी हात हल्लाउँदै खुसी व्यक्त गरे, ‘बाइबाइ साथी । म घर गएँ है ! पछि आउँछु …।’

रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगर ‘सुन्दर’ले रोल्पादेखि पोखरा आएका प्रायः निर्माण सेवाका मजदुर रहेको र लामो समयको लकडाउनका कारण दैनिकी कष्टकर भएको सुनाए । ‘यहाँ आएका सबै मजदुर नै हुन् । कोही विद्यार्थी पनि छन्,’ अनलाइनखबरसँग उनले भने, ‘सुरुमा लकडाउन खुल्ला र काममा फर्किउँला भन्ने आशमा बसेका उनीहरू अवधि थपिँदै गएपछि समस्यामा पर्न थाले ।’

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी लकडाउनका कारण धेरै मजदुर मर्कामा परेको अध्यक्ष मगरले जानकारी दिए । लकडाउका कारण मजदुरको भान्सा नै निभ्न थालेपछि उद्धार गर्नुपरेको उनले सुनाए ।

‘रोल्पादेखि यो कास्की क्षेत्रमा धेरै ठाउँमा मजदुरी गर्न आएका छन् । एक हजार जनाभन्दा बढी कामदार यहाँ कार्यरत छन्,’ समाजका अध्यक्ष मगरले भने, ‘सम्बन्धित स्थानीय तह र प्रशासनको स्वीकृति बमोजिम पहिलो चरणमा पोखरा क्षेत्रका मजदुरलाई मात्रै उद्धार गरेका छौँ ।’

उनले कास्कीका अन्य क्षेत्रमा अलपत्र परेका मजदुरको पनि उद्धार गर्ने योजना रहेको जनाए ।

तस्वीरहरू : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment