Comments Add Comment

सर्वेन्द्र खनाल र महेश बस्नेतलाई के पुरस्कार दिने प्रधानमन्त्रीज्यू ?

११ वैशाख, काठमाडौं । देशमा अहिले कोरोना भाइरसको ‘ट्रेसिङ’ अर्थात् खोजी चलिरहेको छ । सिङ्गै देश लकडाउनमा छ । यहीबेला बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ) जनकपुरधाममा डा. सुरेन्द्र यादवलाई खोज्नतिर लागे ।

कोरोनासँग लड्नका लागि डाक्टर यादवको खोजी भएको होइन । खनाल, बस्नेत र श्रेष्ठ ‘राजनीतिक भाइरस’ले पोलेर डाक्टर खोज्नतिर लागेका हुन्।

बुधबार बिहान ११ बजेतिर उनीहरूले समाजवादी पार्टीका सांसद डा. यादवलाई ट्रेसिङ गर्न सफल भए । सफल नहुन् पनि कसरी, पूर्वआइजी सर्वेन्द्र ‘खतरा कमाण्डर’ मानिन्थे प्रहरी संगठनमा हुँदा ।

रातारात उठाएर काठमाडौं ल्याइएका सांसद यादव भन्छन्, ‘हामीसँग पनि पीएसओ थियो । पीएसओबाट पनि लोकेसन ट्रेस भइहाल्छ । म यहाँ छैन भन्न पनि मिलेन । मेरो मोबाइल आफ्नै गाडीमा छुटेको थियो, घरमा खबर थिएन । म जनकपुरका लागि निस्केको थिएँ ।’

सर्वेन्द्र, महेश र किसानले आफूलाई काठमाडौं लैजाने गरी भेट्न आएको सांसद यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरबाटै जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस ‘अपहरण’मा परेका सांसद यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगे

डा. यादव भन्छन्, ‘मैले यहाँ काठमाडौंमा आइसकेपछि बुझेँ कि यस्तो-यस्तो कुरा छ । उहाँहरूको त्यस्तो किडन्यापै गर्नेजस्तो त थिएन । तर, लकडाउनका बेलामा मेरो काठमाडौं आउने विचार थिएन ।’

प्रधानमन्त्रीकै नाम लिएर खनाल, बस्नेत र श्रेष्ठले समाजवादी पार्टी फुटाउने कार्यमा सक्रियता देखाएका थिए र त्यसैका लागि उनीहरूलाई थप एकजना सांसद चाहिएको थियो ।

डा. यादव भन्छन्, ‘त्योबेलामा मलाई केही थाहा थिएन । बाटोमा आउँदा उहाँहरूले अहिलेको बेलामा सहयोग गर्नुपर्छ भनेर भन्नुभयो । उहाँहरूले अध्यादेश त ल्याउनुभयो, अध्यादेशबारे जुन कुराहरू उठ्यो, त्यसबाट उहाँहरूले म्यानेज गर्न खोजेको मलाई आभास भयो ।’

यो पनि पढ्नुहोस एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्‍यो भन्ने दबाव आयो : डा. सुरेन्द्र यादव

यो राजनीतिक घटनामा केपी ओलीका दायाँ हात मानिने नेकपाका सांसदहरू संलग्न हुनु त आश्चर्यजनक होइन तर पूर्वआईजीपी सर्वेन्द्र खनालकै संलग्नताचाहिँ आश्चर्यजनक हो । खनालले प्रधानमन्त्री ओलीलाई खुसी पार्नका लागि यस्तो अराजनीतिक धन्दामा संलग्नता देखाएको बुझ्न गाह्रो छैन।

सांसद यादव भन्छन्, ‘एकचोटि प्रधानमन्त्रीजीले भेट्न चाहनुभएको छ भनेर भन्नुभएको थियो आइजीपी साहेबले ।

लकडाउनपछि आएर भेट्छु भन्ने सोचेको थिएँ । तर, उहाँहरू अचानक पुग्नुभयो । गाउँ नजिकमा आएर फोन गरेपछि हाम्रो संस्कारले त नआउनू भन्न मिल्दैन । काठमाडौं आउँदा मनसाय बुझेपछि म आफैँ पनि पन्सिइहालेँ ।’

यो घटनाले प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रश्न उठाएको छ । राजनीतिमा ओली अपराध कर्मसमेत गर्न पछि पर्दैनन् भन्ने आशंका यो घटनाले जन्माएको छ ।

यो पनि पढ्नुहोस ‘सरकारी संरक्षण’मा म्यारियट होटलमा राखिएका सांसदको भागाभाग

आफूसित सरोकारै नभएको अन्य दलको सांसदलाई लकडाउनका बेला घरमा फोन गर्न पनि नदिई नियन्त्रणमा लिने सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई अब मन्त्री बनाएर पुरस्कार दिने कि कारबाही गर्ने प्रधानमन्त्रीज्यू ?

अनि, राजनीतिको घीनलाग्दो खेलमा इमान्दार सिपाही भएर लागेबापत पूर्वआइजीपी सर्वेन्द्र खनाललाई पनि कुनै नियुक्तिको पुरस्कार पो दिने हो कि ?

होइन भने, तीनैजनामाथि कानुनी कारबाहीको आवश्यकता देखिएको छ ।

यो घटना अपहरणकै शैलीमा भएको देखिन्छ । यदि ‘अपहरण’ नै होइन भने पनि अरूको दल फुटाउनका लागि प्रधानमन्त्रीको निर्देशनमा गरिएको अपराध कर्मचाहिँ पक्कै हो ।

‘प्रधानमन्त्रीले बोलाउनुभएको’ भन्दै रातारात काठमाडौं ल्याउनु र स्वयं प्रधानमन्त्रीले फोनमा भोलि बिहान बालुवाटारमा भेटौँ भन्नुले यो घटनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नताको दाबीलाई बल पुर्‍याउँछ ।

यो पनि पढ्नुहोस हामीले पार्टी फुटाउन लागेको भन्ने १०१ प्रतिशत गलत हो– इस्तियाक राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment