Comments Add Comment

विश्व अर्थतन्त्रमा कोरोनाको असर शताब्दीयताकै खतरनाक : विश्व बैंक

११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र सबैभन्दा खतरनाक मोडमा पुगेको विश्व बैंकले विश्लेषण गरेको छ ।

पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै विश्व बैंकले कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षति गर्ने प्रक्षेपण गरेको हो ।

विश्व बैंकका अनुसार कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुकको कुल गार्हस्थ उत्पादनमा औसत –८.७४ प्रतिशत गिरावट आउने भएको छ । किनकी यस शताब्दीमा देखिएका अन्य महामारीको तुलनामा कोरोनाको फैलावट ठूलो छ ।

यसले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको छ । यसअघिका महामारीको क्षेत्र कम भएकाले त्यसको अर्थतन्त्रमा परेको प्रभावसमेत कम भएको विश्व बैंकले उल्लेख गरेको छ ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको पुनरुत्थानका लागि लामो समय लाग्ने अनुमान विश्व बैंकले गरेको छ

यसअघि सन् २०१४–१६ सम्म फैलिएको इबोलाका कारण अति प्रभावित मुलुकको जीडीपीमा ८.१४ प्रतिशतसम्म गिरावट आएको थियो । तर, इबोलाको असर भने अफ्रिकी मुलुकमा मात्र बढी थियो ।

एक शताब्दीयता सबैभन्दा बढी प्रभाव पारेको अर्को महामारी भने स्पेनिस फ्लु हो । सन् १९१८–२० मा चीन, भारत, इण्डोनेसिया, रसिया र अमेरिकालाई सबैभन्दा प्रभावित बनाएको यो फ्लुले कोभिड जस्तै संसारभर असर पारेको थियो ।

त्यसबेला विश्व अर्थतन्त्रको वृद्धिदर शून्यभन्दा तल झरेको विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विश्व बैंकले नेपालमा भने चालु आर्थिक वर्षमा १.५ प्रतिशतदेखि २.८ प्रतिशतसम्म रहने अनुमान गरिएको थियो ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको पुनरुत्थानका लागि समेत लामो समय लाग्ने अनुमान विश्व बैंकले गरेको छ । अहिले सरकारहरुले गरेको अनुमानभन्दा धेरै गहिरो संकट यसले पार्ने र आगामी २४ महिनासम्म अर्थतन्त्रमा कोरोनाको असर न्यूनीकरणमा लाग्ने विश्व बैंकले समेत समेत गरेको छ ।

आर्थिक गिरावट (अति प्रभावित मुलुकको अर्थतन्त्रमा आधारित)

स्पेनिस फ्लु (१९१८–२०) : ०.८२ प्रतिशत

सार्स (२००२–४) : ३.०५ प्रतिशत

स्वाइन फ्लु (२००९–२०१०) :  –२.६४ प्रतिशत

मार्स (२०१२) : –३.६९ प्रतिशत

इबोला (२०१४–१६) : –८.१४ प्रतिशत

कोभिड १९ (२०१९–२०) : –८.७४ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment