Comments Add Comment

बुटवलमा खोप लगाउन सुरु, ६ हजारलाई लगाइने

११ वैशाख, बुटवल । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई बुटवल उपमहानगरले सुरु गरेको छ ।

प्रतिकोरोनाको प्रभावकारी अभियानसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरिएको हो । सेवा अवरुद्ध हुन नदिन स्वास्थ्यकर्मी पीपीई लगाएर काममा खटिएका छन् ।

कोभिड-१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी सँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको जनाएको छ ।

बुटवलमै खोप भण्डारण केन्द्रसमेत सञ्चालन गरिएको छ । यहाँ बालबालिका र गर्भवतीहरुले सहज ढंगले खोप लगाउन पाउने ब्यबस्था मिलाइएको छ ।

उपमहानगरपालिकाले बाल स्वास्थ्यलाई ख्याल गरेर पीपीइ लगाएका स्वास्थ्यकर्मीमार्फत खोप कार्यक्रम सुरु गरेपछि बाबालिकाहरु लाभान्वित भएका छन् ।

खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीईसहितका स्वास्थ्यकर्मीहरु पालो बाडेर खटिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्रयाइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह गरेको छु, प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी छ,’ उनले भने ।

‘रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रबन्ध मिलाएर भए पनि सुरु गर्नुपर्छ भनेर लागेका हौं,’ उनले सुनाए ।

कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ ।

जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीईसहितका स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था मिलाइएको छ ।

पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरी समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् ।

बीसीजी, पेन्टा, ओपीभी, एफआईपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ ।

कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।

‘हामी पिपिई लगााएरै खटेका छौं, बुटवल ११ बुद्धनगरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा ९५ जनालाई खोप लगायौं, यो क्रम जारी छ,’ शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक पुजन ज्ञवालीले अनलाइनखबरसँग भने ।

बुटवलमा हाल वर्षभरिमा ५५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेपवीहिव १२ हजार ३८०, एमआर ११ हजार ६७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्याङ्कमा छ ।

बालबालिकालाई आवश्यक पर्ने खोपहरुमा बीसीजी, डीपीटी, पीभीसी, पोलियो, दादुरा रुबेला, टीडी-टीटी जे.ई हुन् ।

बालबालिकालाई निश्चित रोगबाट बचाउन अगि्रम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ ।

बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् । यी सबै निःशुल्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment