Comments Add Comment

जरायोको सुकुटी भनेर फेसबुकमा लेख्ने होटल सन्चालक पक्राउ

१२ वैशाख, काठमाडौं । कतिपयले सामाजिक सन्जालमा आफ्ना हरेक गतिविधि सार्वजनिक गर्छन् । यस्तै बानीका कारण दाङका एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् ।

गढवा गाउँपालिका वडा नम्बर ६ का शिवराज पुन पक्राउ परेका हुन् । उनले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेका थिए ।

फेसबुकमा राज पुन नाम रहेका उनले लेखेका थिए, ‘लकडाउनको टाइम पास, आजको नास्ता जरायोको सुकुटी ।’ गढवा बजारमा होटल खोलेका पुनले कराइमा मासु पकाइरहेको फोटो राखेर यो स्टाटस लेखेका थिए ।

जरायो संरक्षित जनावर हो । त्यसैले संरक्षणकर्मीहरुले पुनको स्टाटसबारे वन कार्यालयलाई जानकारी गराउँदै अनुसन्धानको माग गरे । त्यसलगत्तै शुक्रबार बिहान प्रहरीले उनलाई पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाएको थियो ।

तर, अनुसन्धानको क्रममा पुनले जरायोको नभइ राँगाको मासु पकाएको खुलेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाका इन्सपेक्टर मोहनसिंह राठौरले भने, ‘उनले जरायोको मासु पकाएको भनेर लेखे पनि अनुसन्धानको क्रममा राँगाको मासु पकाएको थाहा भयो । त्यसपछि आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडियो ।’

प्रहरीका अनुसार पुनले पनि जरायोको मासु नभएको बयान दिएका छन् । आफूले नभइ अरुले नै आफ्नो फेसबुकमा सो फोटो अपलोड गरिदिएको पनि उनले बताएका छन् ।

त्यसपछि वन कार्यालयले गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बालचन्द्र हमालको जिम्मा लगाएर पुनलाई छाडेको छ ।
अहिले भने पुनको फेसबुक स्टाटस डिलिट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment