Comments Add Comment

भूकम्पको ५ वर्ष : नेपालमा चिनियाँ सहयोग परियोजनामा प्रगति कति ?

१२ वैशाख, काठमाडौं । नेपालमा विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेको भूम्पपछि पुनर्निर्माणको लागि चीनले विभिन्न पाँच क्षेत्रका २५ पुनर्निर्माण परियोजनालाई अनुदान दिएको छ ।

ती पाँच क्षेत्रहरुमा संरचना निर्माण, हिमाली क्षेत्रको बसोबास, ऐतिहासिक सम्पदा पुनर्निर्माण, संकटको पूर्वतयारी र स्वास्थ्य रहेका छन् । अहिले यीमध्ये १२ परियोजना पूरा गरिसकेको र बाँकी १३ परियोजनाहरुको काम पनि भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यसैबीच चीनले आफूले पुनर्निर्माणको लागि नेपालसँग गरेको सबै प्रतिबद्धता पूरा गरिने बताएको छ । यहाँ नेपालमा चीनको सहयोगमा बनेका केही परियोजनाबारे उल्लेख गरिएको छ ।

१. चक्रपथ सुधार परियोजना

चीनकै सहयोगमा सन् १९७७ मा निर्माण भएको २७ किलोमिटरको चक्रपथको १० किलोमिटरको सडकखण्ड सुधार परियोजना सन् २०१८ को डिसेम्बरमा सम्पन्न भएको थियो । दुईतर्फ गरी आठ लेनको यो सडकखण्ड सुधारको क्रममा कलंकीमा अण्डरपास पनि निर्माण गरिएको थियो ।

२. तातोपानी सीमा स्टेशन निरीक्षण परियोजना

सन् २०१२ को डिसेम्बरमा शुरु भएको यो परियोजना सन् २०१५ को अप्रिलमा भूकम्पको कारण रोकिएको थियो । त्यसपछिको भारी वर्षा, बाढी, पहिरो र अन्य प्राकृतिक विपतका कारण यो परियोजना सन् २०१८ को अप्रिलमा मात्र शुरु भएको थियो र त्यसको एक वर्षपछि सन् २०१९ को अप्रिलमा सकिएको थियो । परियोजना निर्माणको क्रममा आएका विभिन्न किसिमको कठिनाइ तथा चुनौतीलाई पार गर्दै तातोपानी सीमा निरीक्षण स्टेशन निर्माण सकिएको थियो । साथै झाङमु (चाङमु)–कोदारी बन्दरगाह पुनः खुलेको थियो ।

३. भूकम्प निरीक्षण नेटवर्क परियोजना

सन् २०१९ को अक्टोबरमा यो नेटवर्क सञ्चालनमा आएको थियो । राष्ट्रिय सिस्मिक डेटा सेन्टर काठमाडौंमा स्थापना गरिएको थियो । एक डेटा ब्याकअप सेन्टर प्रदेश १ को विराटनगरमा स्थापना गरिएको थियो । साथै निरीक्षणको लागि नेपालको उत्तरी क्षेत्रमा १० ओटा सिस्मिक अब्जर्भेटरी राख्ने काम भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । यसले निरीक्षणका साथै तीन म्याग्निच्युट वा सोभन्दा बढीको भूकम्प आउँदा पूर्वसूचना दिने काम गर्छ ।

४. दरबार हाइस्कुल निर्माण परियोजना

भूकम्पको क्रममा भत्किएको काठमाडौंको दरबार हाइस्कुलको पुनर्निर्माण सन् २०१८ को जुलाईमा शुरु गरिएको थियो । अहिले यसको पुनर्निर्माणको काम सकिएको छ । चार हजार दुई सय वर्गमिटरमा फैलिएको यो भवनमा ४० भन्दा धेरै कक्षाकोठा छन् ।

६. निजामती अस्पताल परियोजना

निजामती अस्पताल (सिभिल हस्पिटल) सेवा सन् २००८ को सेप्टेम्बरमा निर्माण सम्पन्न भएको थियो । अहिले यो  काठमाडौंको मिनभवनमा छ । ११ हजार वर्गमिटरमा फैलिएको यो अस्पतालमा एक सय २० भन्दा बढी शय्या छन् । यसले सर्वसाधारणलाई चिकित्सा सेवा प्रदान गर्दै आएको छ । यसको स्तरोन्नति तथा मर्मतको काम सन् २०१८ को सेप्टेम्बरबाट शुरु भएको छ । चिनियाँ सहयोगमा अतिरिक्त एक सय १७ शैय्याको नयाँ सर्जिकल भवन निर्माण हुँदैछ ।

५. अरनिको राजमार्ग दीर्घकालीन मर्मत परियोजना

सन् १९६७ मे महिनामा पहिलोपटक खुलेको अरनिको राजमार्ग भूकम्पको कारण क्षतिग्रस्त बनेको थियो । यसको मर्मतको लागि चीनले दीर्घकालीन मर्मतको परियोजना अघि सारेको छ ।

७. धरहरा निर्माण

१८ औं शताब्दीमा शाहवंशको पालामा निर्माण गरिएको काठमाडौंको नौ तले धरहरा भूकम्पमा भत्किएको थियो । यसको पुनर्निर्माणको काम सन् २०१७ को नोभेम्बरमा शुरु गरिएको थियो । अहिले यसको निर्माण कार्य भइरहेको छ ।

८. भूकम्पपछि चीन सरकारले दिएको तेस्रो चरणको आपतकालीन राहत सामग्रीहरु काठमाडौं पठाएको थियो ।

९. चिनियाँ मेडिकल टोलीले भूकम्पपछि नेपालमा सैन्य उपचार र महामारी रोकथाममा सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment