+
+
Shares

भारतमा कोरोनाको पहिलो मृत्युबारे विवाद

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १९:३४

काठमाडौं । मोहम्मद हुसेन सिद्धिकी एक महिनाभन्दा लामो साउदी बसाइँपछि फेब्रुअरीको अन्तिममा भारत फर्किए । उनी साउदी अरेबियामा रहेका डेन्टिस छोरालाई भेट्न गएका थिए ।

भारत आइपुग्दा ७६ वर्षीय इस्लाम धर्मगुरु तथा न्यायाधीश सिद्धिकी केही थकित देखिन्थे । उनलाई हैदराबादको विमानस्थलमा लिन उनको परिवारका चालक पुगेका थिए । त्यहाँबाट उनीहरू चार घण्टाको यात्रापछि गुल्बर्गा पुगे । घर पुग्दासम्म आफ्नो बाबु पूर्ण रुपमा स्वस्थ रहेको उनका जेठो छोरा हामिद फैसल सिद्धिकी बताउँछन् ।

त्यसको १० दिनपछि उनका बाबुको मृत्यु भयो र यो कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा भएको पहिलो मृत्यु थियो । सिद्धिकी साउदीबाट फर्किएको एक सातापछि बिरामी परेका थिए । त्यसको तीन दिनमा उनको मृत्यु भयो ।

उनको मृत्यु एम्बुलेन्समा अस्पताल लैजाँदैगर्दा भएको थियो । उनका परिवारले सिद्दिकीको उपचारको लागि दुई दिनभित्रै दुई सहरका चार अस्पताल चहारेका थिए। चार अस्पतालले उनलाई लिन अस्वीकार गरेपछि पाँचौँ अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो । यो घटनाको कारण समग्र परिवारका सदस्यहरू आक्रोशित बनेका छन् ।

सिद्धिकीको मृत्यु भएको भोलिपल्ट उनीमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको अधिकारीहरूले घोषणा गरेका थिए । ‘हामीलाई अझै पनि उहाँको निधन कोभिड–१९ बाट भएको हो भन्नेमा विश्वास छैन । हामीले मृत्युदर्ताको प्रमाणपत्र पनि पाएका छैनौँ’, अहमद सिद्धिकीले भने ।

उनकाअनुसार धेरै कुराले उनको बाबुको मृत्युले विवाद र द्विविधा सृजना गरेको छ । सिद्धिकी गुलवर्गमा आफ्नो जेठो छोरो र परिवारका साथमा बस्दै आएका थिए । उनले पाँच वर्षअघि नै काम गर्न छाडेका थिए । त्यसपछि उनकी पत्नीको पनि क्यान्सरको कारण मृत्यु भइसकेको छ । सिद्धिकीका साथीहरू उनी निकै उदार व्यक्ति रहेको बताउँछन् । उनी स्थानीय मस्जिदका मानिसको स्याहारमा जुट्ने गरेका थिए ।

मार्च ७ मा सिद्धिकीले आफू बिरामी परेको बताएका थिए । त्योदिन उनी छिट्टै उठेका थिए । उनलाई निकै खोकी लागेको थियो । त्यसपछि उनको परिवारका डाक्टर आए र सामान्य रुघाखोकीको ट्याब्लेट दिएर फर्किए । तर, खोकी निको भएन । उनको ज्वरो बढ्न थाल्यो । मार्च ९ मा गुल्बर्गको एक निजी अस्पतालमा उनलाई भर्ना गरियो । अस्पतालमा उनलाई १२ घण्टा निरीक्षणमा राखियो । त्यसपछि झन् धेरै द्विविधा थपिए ।

उक्त निजी अस्पतालले दुवै फोक्सोमा निमोनिया भएको भन्दै हैदराबादको एक विशेष सुविधा भएको अस्पतालमा रिफर गरियो । रिफर गर्दा कोभिड–१० का शंकास्पद बिरामी हुन् भन्ने उल्लेख गरिएको थिएन । तर, भारतको स्वास्थ्य मन्त्रालयले भने गुल्बर्गको अस्पतालमा उनी कोभिड–१९ को आंशकित बिरामी भएको कारण डिस्चार्ज गरिएको बताएको छ । मन्त्रालयको विज्ञप्तिमा उनको स्वाब अस्पतालमा छँदा लिइएको र परीक्षणको लागि पाँच सय ७० किलोमिटर टाढा बैङ्ग्लोरमा पठाइएको उल्लेख छ ।

तर, परिवारले बिरामीलाई गल्बर्गको अस्पतालबाट अन्यत्र लिएर गएको मन्त्रालयको दाबी छ । मन्त्रालयको विज्ञप्तिमा परिवारले परीक्षण नतिजा नकुरेर जबर्जस्ती बिरामीलाई हैदराबादको निजी अस्पतालमा लगेको उल्लेख छ । हामिद फैसल सिद्धिकी सरकारले आफूहरूलाई किन आरोप लगाइरहेका छन् भन्ने थाहा नभएको बताउँछन् । डिस्चार्ज गर्दा भनेको भए आफूहरूले सरकारी अस्पतालमा नै लैजाने उनको भनाइ छ ।

आफूहरूलाई निजी अस्पतालले डिस्चार्जको समयमा दिएको प्रमाण अझैसम्म पनि सुरक्षित रहेको दाबी गर्छन् । मार्च १० को साँझ सिद्धिकीलाई अक्सिजनसहित एम्बुलेन्समा राखियो र भोलिपल्ट बिहान उनीहरू हैदराबाद पुगे । त्यसपछि उनीहरूले एकपछि अर्को अस्पतालमा उपचारको लागि पुर्‍याए । एक न्युरोलोजिकल क्लिनिकले उनलाई भर्ना लिन मानेन र हैदराबादको सरकारी अस्पतालमा रिफर गर्‍यो । परिवारले सिद्धिकीलाई त्यहाँ पनि लगे । एक घण्टा राख्दा पनि बिरामीलाई हेर्न डाक्टर आएनन् ।

त्यसपछि अन्तिममा उनीहरूले सिद्दिकीलाई विशेष सुविधा भएको अस्पतालमा लगे । यो अस्पतालमा पनि उनले दुई घण्टाभन्दा लामो समयसम्म उपचार गरे । विभिन्न औषधि दिइयो । परिवारले बिरामीलाई दुई दिनदेखि खोकी लागिरहेको र श्वासप्रश्वासमा समस्या आइरहेको बताएका थिए । अस्पतालले भने थप उपचारका लागि अर्को अस्पतालमा रिफर गर्‍यो ।

यद्यपि, अस्पतालको डिस्चार्ज नोटमा परिवारका सदस्यले बिरामीलाई के भइरहेको छ भन्ने जानकारी नदिएको कारण भर्ना गर्न नसकिएको उल्लेख छ । परिवारका सदस्यहरू यो पनि सत्य नभएको दाबी गर्छन् । परिवारका अनुसार अस्पतालले सरकारी अस्पतालमा लगेर कोरोना भाइरस परीक्षण गराएर फिर्ता आउनका लागि भनेका थिए । त्यसपछि परिवारका सदस्यहरू निकै द्विविधामा परे र उनीहरूले गुल्बर्ग फर्किने निर्णय गरे । अर्को बिहान सिद्धिकीले ६ सय किलोमिटरभन्दा लामो दुरी पार गरेपछि सास फेर्न छाडे ।

उनको मृत्युबारे सरकारले जारी गरेको विज्ञप्तिमा उनका परिवारले बिरामीलाई कुनै पनि सरकारी अस्पतालमा नलगेको उल्लेख छ । त्यसको अर्को दिन सञ्चार माध्यमबाट उनका छोराले आफ्ना बाबु भारतमा कोरोना भाइरसबाट मृत्यु हुने पहिलो व्यक्ति रहेको थाहा पाए । सोही दिन उनीहरूले परिवारको चिहानमा सुटुक्क अन्त्येष्टि गरे ।

परिवारका सदस्यहरूकाअनुसार सिद्दिकीले अन्तिम समयमा एम्बुलेन्समा फर्किँदै गर्दा आफ्ना छोरासँग भनेका थिए, ‘मलाई अलिकति पानी देऊ, तिर्खा लागिरहेको छ । मलाई घर लैजाऊ ।’

त्यसपछि सिद्धिकीका परिवार घर फर्किएको थियो । तर, घर नपुग्दै सिद्धिकी सधैंका लागि बिदा भए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?