Comments Add Comment

सिनेमा हलहरू अभूतपूर्व संकटमा

सञ्चालक भन्छन्- '२-३ वर्षको नाफा अब नसोचे हुन्छ'

१५ वैशाख, काठमाडौं । देश एक महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनको असर सबै क्षेत्रमा परिरहेकै छ । तर, केही क्षेत्रहरू अत्यधिक मारमा छन् । त्यसमध्ये एक हो नेपाली चलचित्र क्षेत्र ।

लकडाउन घोषणा हुनुभन्दा केहीदिन अगावैदेखि चलचित्रसम्बन्धी सबै गतिविधि ठप्प भएका थिए । सरकारले चैत ६ गतेबाट भिडभाड हुने विभिन्न स्थानहरूसँगै चलचित्र हलहरू बन्द गर्न आदेश दिएका थियो । त्यसयताका ३८ दिन चलचित्र हलहरू सुनसान छन् भने हल मालिकहरूलाई दैनिक करोडौं घाटा भइरहेको स्थिति छ ।

पछिल्लो केही वर्षयता नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्स हलहरुको निर्माण क्रम बढेको थियो । काठमाडौंमा मात्र नभएर मोफसलमा पनि थुप्रै मल्टिप्लेक्स हल खुलेका छन् । कोरोनाका कारण जारी लकडाउनले यी मल्टिप्लेक्सहरुमा गरिएको ठूलो लगानी संकटमा परेको छ ।

देशभर अहिले करिब दुई सयवटा विभिन्न खाले हल सञ्चालनमा छन् । सिङ्गल र मल्टिप्लेक्स हलको संख्या ६० र ४० प्रतिशतको अनुपातमा रहेको छ । काठमाडौंभित्रका सिङ्गल हलहरू बिस्तारै अपग्रेड हुँदै गएको पाइन्छ भने भने मल्टिप्लेक्सका लागि करोडौ‌ं रकम हल सञ्चालकहरूले लगानी गरिरहेका छन् । यसैले, पनि सम्पूर्ण हल बन्द हुँदा यो क्षेत्रमा अरबौं रकम घाटा लागिसकेको छ ।

सरकारसँग आशा

चलचित्र हलहरूको संगठन चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानकाअनुसार अहिले सञ्चालनमा रहेका हलहरूको खर्च सात लाखदेखि ३५-४० लाखसम्म छ । सिंगल हलहरूको तुलनामा मल्टिप्लेक्सको खर्च अत्यधिक हुन्छ ।

प्रधान भन्छन्-‘कतिपय मल्टिप्लेक्स त गत वर्षदेखि मात्र सञ्चालनमा आएका थिए । एउटाले ६ करोडभन्दा बढी लगानी गरेका छन् । यस्ता हलहरूलाई संकट निकाल्ने विषयमा सरकारले सोच्न आवश्यक छ ।’

संघले हलका सञ्चालकले बैङ्कबाट लिएको ऋणको किस्ता पछि धकेल्न सरकारलाई आग्रह गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाइएको छ । तर, बैङ्कको व्याज तिर्ने समय मात्र पछि धकेलेर स्थिति सहज नहुने हल सञ्चालक बताउँछन् ।

‘हलहरू बन्द भए पनि विद्युतको डिमान्ड चार्ज, कर्मचारीको तलबमा हल सञ्चालकले रकम खर्च गर्नैपर्छ । यसैले, हामीले अहिले चलचित्र विकास बोर्ड, उद्योग वाणिज्य महासंघमार्फत पनि सरकारलाई राहतको लागि अपिल गरेका छौँ’, मधुसुदनले भने ।

हलहरू बन्द हुँदा अहिलेसम्म कति घाटा भयो भन्ने यकिन तथ्यांक निकाल्न मुस्किल छ। किनकि, हरेक समय हलमा सँधै एउटै अनुपातमा व्यापार हुँदैन । तर, फागुण, चैत र वैशाख महिना हलहरूले राम्रो कमाइ गर्ने सिजन हो । यही बेला हल बन्द हुँदा अरबभन्दा बढी घाटा लागेको छ । यसको पूर्ति गर्न हल सञ्चालकहरूलाई सहज छैन ।

‘२ वर्षको नाफा गुमायौँ’

काठमाडौंको नयाँ वानेश्वरमा वान सिनेमाज सञ्चालनमा आएको धेरै भएको छैन । गत वर्षबाट मात्र सञ्चालनमा आएको यो हलमा ८ करोडको लगानी भएको छ । यो हलका सञ्चालकमध्येका एक प्रज्ज्वल शमशेर जवराले अनलाइनखबरसँग भने- ‘हाम्रो हलमा महिनामा ३५ लाखभन्दा बढी खर्च छ । कर्मचारीहरूको तलबमा मात्र सात लाख खर्च हुन्छ ।’

जबराले अगाडि भने-‘दर्शकसँग सिधै जोडिने भएकाले पनि हलको व्यापार ठप्प नै छ । यो अवधिमा हामीले अब दुई वर्षमा हुने नाफा गुमाएका छौँ।’

वान सिनेमाजमा ५५ जना कर्मचारी काम गर्छन् । उनीहरूलाई तलब दिइरहेको राणाले बताए । अबको ३ वर्ष हल नाफामा नजाने उनको प्रक्षेपण छ । यसैले लकडाउन खुलेपछि सरकारले कुनै खालको राहत प्याकेज ल्याउनुपर्ने उनी बताउँछन् ।

हल भत्काउने चेतावनी

सेलिब्रेटीहरूलाई ठूलो भिड देखाउनुपर्यो वा निर्मातालाई चलचित्र हिट भएको प्रमाण पेश गर्नुपर्‍यो भने सबैभन्दा अगाडि आउने नाम हो गोपीकृष्ण मुभिज । गोपीकृष्ण मुभिजको बाल्कोनीमा गएर ७ वटा पर्दामा चलचित्र हेर्न आएका दर्शकको अगाडि उभिएर कलाकारले हात हल्लाएपछि स्टारडम देखिन्थ्यो । तर, विगत एक महिनादेखि यो हल पनि बन्द छ ।

यो हलमा ६५ जना कर्मचारीले काम गर्छन् । हलका म्यानेजर प्रदीप दाहालकाअनुसार, अहिले कर्मचारीलाई पेस्की रकम दिइएको छ । ओभरटाइम काम गर्ने कर्मचारी कोही पनि नभएकाले उनीहरुले अरू व्यवसाय त गर्न पाएका छन् । तर, हलको खर्च धान्न यसका सञ्चालकलाई धौधौ परेको छ ।

यो हलको महिनामा १५ लाख हाराहारी खर्च रहेको दाहालले बताए । उनले भने- ‘महिनामा हुने खर्च जसरी पनि निकाल्नैपर्छ । यसमाथि, हामीले दैनिक ५० हजार ब्याज नेपाल बैङ्कलाई तिर्दै आएका छौँ। यो रकम, जसरी पनि तिर्नैपर्छ ।’

दाहालकाअनुसार लकडाउन अझै केही महिना लम्बिएको खण्डमा हल नै भत्काउने योजनासम्म बुनिएको छ । उनले भने – ‘हामी यसै पनि ३ वर्ष भित्रमा गोपी, कृष्ण लगायतका हल भत्काएर मल्टिप्लेक्स बनाउने तयारीमा थियौँ ।  लकडाउन लम्बियो भने हल चाँडै नै भत्काउन सुरु गर्छौँ ।’

गोपीकृष्णमा कुनै चलचित्रले बम्पर कारोबार गर्यो भने शनिबार ६ लाख हाराहारीको व्यापार हुन्छ । शुक्रबार र शनिबार सुखद् व्यापार भए पनि अरू बेलाको व्यापार औसत हो ।

गोपीकृष्ण हल देशभरका हलहरूको प्रतिनिधि हल मात्र हो । यस्ता समस्या देशभरका हलमा छ । जसले, हलको व्यापार चौपट हुँदै गएको छ। हलको व्यापार चौपट हुँदा त्यहाँ कार्यरत हजारौं मजदुर तथा कामदार र उनीहरूमा आश्रित परिवारको बिचल्ली हुने अवस्था छ ।

अनिश्चित भविष्य

दैनिक करोडभन्दा बढी कारोबार गर्ने हलहरू लामो समयसम्म बन्द हुँदा यसले केही हल सञ्चालकहरूलाई उठ्नै नसक्ने गरी थला पार्ने निश्चित छ । अझै यो संकट कहिलेसम्म जारी रहला भन्ने अनिश्चितताले गर्दा हल सञ्चालकहरू बढी चिन्तित छन् । लकडाउन खुलिहाले पनि दर्शक हलसम्म लाग्न धेरै समय लाग्ने अनुमान छ ।

चलचित्र संघका अध्यक्ष प्रधान भन्छन्-‘लकडाउन खुलेपछि पनि हलमा दर्शक आइहाल्ने अवस्था रहँदैन । यसका लागि हामीले वातावरण बनाउनुपर्छ । हामी, हललाई सुरक्षित कसरी बनाउन सक्छौँ भनेर सल्लाह पनि गरिरहेका छौँ। लकडाउन खुकुलो भएपछि सबै भेला भएर यसबारेमा ठोस निर्णय लिन्छौँ ।’

लकडाउन केही समय खुलिहाल्यो भने पनि भदौ महिना अगाडि हलमा दर्शक नआउने मात्र होइन। ठूला चलचित्र रिलिज हुने सम्भावना पनि छैन । यसैले, कोरोनाले चलचित्र हलहरूलाई अहिलेसम्मकै ठूलो संकटमा पारिदिएको छ । भूकम्पको बेलाभन्दा निकै ठूलो क्षति हलहरूले व्यहोर्नुपर्ने देखिएको छ ।

हल सञ्चालक राणाले लकडाउन खुलेपछि दर्शकलाई हलसम्म ल्याउने वातावरण बनाउन जरुरी रहेको बताए । यसका लागि हल सञ्चालनको शैली परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment