Comments Add Comment

अनलाइन कक्षा निर्देशिका जारी, आदरार्थी शब्द प्रयोग नगरे कारबाही

सरोकारवाला भन्छन्- पूर्वाधार विनाको हल्ला

१५ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ ।

त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र नगरे कारवाही गरिने निर्देशिकामा उल्लेख छ ।

‘विद्यार्थीहरूले शिक्षकहरूसँग सम्वाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नुहुँदैन’ निर्देशिकामा भनिएको छ ।

कक्षामा सहभागी हुँदा शिक्षक र विद्यार्थीले अनिवार्य औपचारिक पोशाक लगाउनु पर्ने, विद्यार्थी र शिक्षकले अनलाइन कक्षामा प्रयोग गरिएका सामग्री फेसबुकमा सार्वजनिक गर्न नपाइने भनिएको छ ।

पूर्णकालीन शिक्षकहरूले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन नपाइने आचार संहिता खण्डमा उल्लेख छ ।

निर्देशिकामा उल्लेख आचार संहिता पालना नगर्ने विद्यार्थी, शिक्षक वा कर्मचारीलाई विश्व विद्यालयको नियम अनुसार कारवाही गरिने भनिएको छ ।

यसरी हुन्छ कक्षा सञ्चालन

अनलाइन सञ्चालनका लागि शिक्षकले जुम, गुगल क्लास र एमएस टीम मध्ये एउटा छनोट गर्नेछन् । कक्षा सञ्चालन (होस्ट) को जिम्मेवारी विषय शिक्षकले पाएका छन् ।

विद्यार्थी जानकारी सिट, अनलाइन कक्षा तालिका अगि्रम रुपमा उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड समेत राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । तोकिएका कर्मचारीले हाजिरी राख्ने र निकाय प्रमुखले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाजिरी नभएको अवस्थामा भने शिक्षक तथा कर्मचारीले पारिश्रमिक पाउने छैनन् । अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउनु परेमा सो अवधिको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन सकिने निर्देशिका उल्लेख छ ।

शिक्षकले एक्सल, वर्ड, गुगल ड्राइभ आदिबाट विद्यार्थीलाई गृहकार्य दिने भनिएको छ । त्यस्तै, कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्री पछि उपलब्ध गराउन सकिन्छ ।

कतिपय विद्यार्थी भर्ना भएका तर कक्षा सञ्चालन हुन नसकेका कार्यक्रमहरुको अनलाइनबाट अभिमुखीकरण गरेर पनि कक्षा संचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

‘पाँच पैसाको झिटी छैन, पचास रुपैयाँको फुटानी’

त्रिविकै कतिपय प्राध्यापकले भने पूर्वाधारको अभावले गर्दा निर्देशिकामा उल्लेख भएअनुसार अनलाइन कक्षा सम्भव नभएको बताएका छन् ।

मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा. डम्बर चेम्जोङ विश्वविद्यालयको अनलाइन लाईब्रेरी, जहाँसुकैबाट ब्राउज गर्न सकिने प्रणाली, विद्यार्थीका लागि नेट आइडी जस्ता व्यवस्था नगरी अनलाइन कक्षा सञ्चालन गर्नुको अर्थ नहुने बताउँछन् ।

९० प्रतिशत शिक्षकहरू प्रविधिमैत्री नभएको चेम्जोङको भनाइ छ । अड्को पड्को तेलको धुप जस्तो कक्षाका लागि ५० वर्षे कार्यक्रमको जस्तो नियम बनाएको उनको टिप्पणी छ ।

‘यो त पाँच पैसाको झिटी छैन पचास रुपैयाँको फुटानी भनेको जस्तो भयो’ उनले टि्वट गरेका छन्, ‘अनलाइनका कक्षका लागि पूर्वाधार शुन्य छ, कक्षा अनुशासनको फेहरिस्त ? सक्दो कडिकडाउ गर, तिमीहरू प्राज्ञ होइन प्रहरी हौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment