Comments Add Comment

दिल्लीको धार्मिक सभामा सहभागी थिए वीरगञ्जका कोरोना संक्रमित

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ ।

संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो ।

यो पनि पढ्नुहोस वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

१ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । धार्मिक सभामा करिब ८ हजार मानिस सहभागी भएका थिए । वीरगञ्जका संक्रमित ६ मार्चमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई ११ मार्च अर्थात २८ फागुनमा नेपाल फर्केका थिए । त्यसको डेढ महिनापछि कोरोना संक्रमण पुष्टि भएको छ ।

एकसाता अघिदेखि उनी वीरगञ्जको सिदार्थ मावि क्वारेन्टाइनमा थिए । आइतबार डिस्चार्ज भएका तीन भारतीय संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी फेला परेका थिए ।

कोभिड–१९ संक्रमणको पुष्टि भएपछि आइतबार नै उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने परिवारका चार सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङको क्रममा मार्चमा उनी दिल्लीको धार्मिक सभामा सहभागी भएको खुलेको वीरगञ्जस्थित नेपाली सेनाको चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिए । ‘कोभिड–१९ संक्रमणको पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ शुरु गरेका छौं । उनीसँगै धार्मिक सभामा सहभागी अर्का एक जमाति पनि भेटिएका छन् ।’

उनीसँगै दिल्लीको धार्मिक सभामा सहभागी अर्का एक व्यक्ति र लकडाउनमा वीरगञ्ज पुगेर आएका घण्टाघरका एक व्यापारीलाई सिदार्थ मावि क्वारेन्टाइनमा राखिएको छ ।

पीसीआर नेगेटिभ आएका ३७ जनाको विदाई

क्वारेन्टाइनमा १४ दिन पुरा गरी पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि ३७ जनालाई विदाई गरिएको छ ।

एक नेपालीसहित २८ जना भारतीय जमातीको जिम्मा नेपाली मुस्लिम समुदायले लिएका छन् । उनीहरुलाई राख्न छपकैया– २ यतिम खाना मस्जिद नजिकै खाली घरमा बसोबासको व्यवस्थापन मिलाईएको छ । बाँकी ९ जना पर्साको पर्सागढी, बारा र सुनसरीको रहेको र उनीहरुलाई सम्बन्धित वडाका वडा अध्यक्षहरुको जिम्मा लगाएर पठाइएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आएकाले ७ दिन होम क्वारेन्टाइन बस्न आग्रह गर्दै घर पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

परीक्षण सामाग्रीको अभाव

जिल्लामा संक्रमित थपिएपछि परीक्षणका लागि आवश्यक सामाग्रीको अभाव देखिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको आरडीटी र पीसीआर विधिबाट परीक्षणका लागि आवश्यक सामान केन्द्रिय संकट व्यवस्थापन केन्द्रसँग माग गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘वीरगञ्जमा दुईजना संक्रमित थपिएका छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा मानिसहरुको परीक्षण गर्दै जानुपर्नेहुन्छ । झन महानगरपालिकाको सरसफाईकर्मी नै संक्रमित भएकाले धेरै मानिस सम्पर्कमा हुन सक्छन्,’ उनले भने, ‘आवश्यक चेकजाँचमा समस्या नहोस् भनेर ५०० थान आरडीटी किट र २०० भीटीएम माग गरेका छौं ।’

साथै जिल्लामा लकडाउनलाई थप कडाई गर्ने, छपकैया क्षेत्रमा गरिएको शिललाई कायम राख्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस दिल्लीको धार्मिक सभामा सहभागी अधिकांश रौतहटका, सबै क्वारेन्टाइनमा यो पनि पढ्नुहोस भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा सहभागी भएका थिए १९ नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment