Comments Add Comment

काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइयो

यात्रु फर्काउन नागढुंगा पुगेका प्रजिअ जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवाली लगायतको टोली ।

१५ वैैशाख, काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरूलाई नागढुंगा नाकाबाट फर्काइएको छ । गृहमन्त्रालयले परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरूलाई जहाँबाट आएको हो, त्यहीँ फर्काइएको छ ।

यात्रुहरूलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा पुगेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जहाँबाट आएका थिए, उतै फर्काउने काम भइरहेको छ ।’

सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरूमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो । सवारी पास भएकाहरूले आफन्तलाई नागढुंगा पुगेरै घरसम्म ल्याएका छन् । कोही नभएकाहरू भने नागढुंगामा सडक पेटीमा बसिरहेका छन्, नाकामै रोकिएकाहरूमध्ये कतिपय बच्चा बोकेकाहरूपनि छन् ।

गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । मानिसहरूको आवतजावत हुँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment