Comments Add Comment

सागमा पदक जिताउने प्रशिक्षकको गुनासो : हामीले पुरस्कार कहिले पाउने ?

१६ वैशाख काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक जिताउने खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाए पनि प्रशिक्षकले अझै पाएका छैनन् ।

गत मंसिर १५ देखि २५ गतेसम्म नेपालमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण सहित २०७ पदक जित्दै दोस्रो भएको थियो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार घोषणा गरेका थिए । जुन पुरस्कार खेलाडीले हालै बैंक खातामा पाएका छन् । कतिपय खेलाडीले अझै नपाएको गुनासो गरेका छन् ।

पुरस्कार तथा सम्मान कार्यविधिमा पनि खेलाडीसंगै प्रशिक्षक सहायक प्रशिक्षक खेल संघहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ ।

तर प्रशिक्षकका लागि खेलकुद मन्त्रालयले रकम निकासा गरेको छैन । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट सिफारिस सूची प्राप्त भएपछि मात्र पुरस्कार रकम पठाउने बताएको छ ।

किन त?

पुरस्कार प्राप्त गर्नका लागि राखेपबाट लिएको पेश्की रकम फर्छ्यौट हुनुपर्ने व्यवस्था पनि कार्यविधिमै उल्लेख छ ।

खेलाडीको कुनै पेश्की बाँकी नरहेकोले रकम निकासा गरिएको हो । तर कतिपय प्रशिक्षकले लिएको पेश्की रकम फरछ्यौट नगरेकाले पुरस्कार रकम नपठाएको युवा तथा खेलकुद मन्त्रालयको भनाइ छ ।

पुरस्कार तथा सम्मान कार्यविधिमा पुरस्कार लिनका लागि ३ महिनाभित्र परिषदमा रहेको पेश्की फर्छ्यौट गरिसक्नुपर्ने उल्लेख छ । यस्तै नेपाल सरकारलाई तिर्न वा बुझाउन कुनै बेरुजु बाँकी नभएको स्वघोषणासमेत हुनुपर्ने उल्लेख छ ।

यस्तै खेलकुद सम्बन्धी संस्थाले पनि नेपाल सरकार र परिषदलाई तिर्न, बुझाउनपर्ने कुनै रकम बेरुजु नरहेको हुनुपर्ने उल्लेख छ ।

त्यही अनुसार खेलाडीको कुनै पेश्की बाँकी नरहेकोले पुरस्कार पठाइसकेको र प्रशिक्षकको हकमा केहीको पेश्की फर्छ्यौट हुन बाँकी रहेको भन्ने जानकारी राखेपले गराएको छ ।

१३ औं सागमा स्वर्ण जित्ने कराते टोलीका प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षकले पुरस्कार नपाएकामा सोमबार सामाजिक सञ्जालबाटै गुनासो पोखेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले खेलाडीलाई सफलता दिलाउन अहम भूमिका खेल्ने प्रशिक्षकको अपमान भएको बताएका छन् ।

‘प्रशिक्षकलाई चाहिँ विभिन्न कारण देखाउँदै सम्मान नगर्दा अपमान भएन र ?’ उनले प्रश्न गरेका छन्, ‘यस्तो निर्णय गरी प्रशिक्षकलाई अपमानित गर्दापनि अरुबेला सबै प्रशिक्षक कर्मचारीको अभिभावक संस्था हामी हौँ भन्नेहरु कुन दुलोमा छन् ?’

कुनै पनि प्रशिक्षकले आफ्नो रहरले पेश्की नलिएको भन्दै पेश्की लिएकै कारण प्रशिक्षकलाई पुरस्कार नदिनु कत्तिको न्यायोचित हो भनी उयनले प्रश्न गरेका छन् ।

पुरुष यू – २३ फुटबल टोलीले स्वर्ण जित्दामा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि पेश्की फर्छ्यौट गरेर परस्कार लिने कुरा उचित नभएको बताए ।

‘२० वर्षपछि नेपालमा भएको सागमा हामीले ऐतिहासिक सफलता पायौँ । यसमा खेलाडीको मात्र होइन प्रशिक्षकको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले पेश्की लिएको छ पुरस्कारका लागि त्यो फर्छ्यौट गर्नुपर्छ भन्दा जायज नहोला कि ?’

१३ औं साग सचिवालय प्रमुख रहेका कमल खनालले सरकारकै निर्णय र नियम भएकाले प्रशिक्षकहरुले मान्नुपर्ने बताए । ‘सरकारको निर्णय हो नियम हो मान्नैपर्‍यो । जसको पेश्की छैन हामी उहाँहरुको नाम फरवार्ड गरिहाल्छौँ’ उनले भने ।

बाँकीले पेश्की क्लियर गरेपछि मात्र नाम पठाउने खनालले बताए । पेश्की बाँकी नरहेका प्रशिक्षकलाई अब पुरस्कार रकम पठाउन थाल्ने पनि उनले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदका अनुसार पुरस्कार पाउने प्रशिक्षकको संख्या एक सय हाराहारी छ । त्यसमा पेश्की बाँकी नभएका प्रशिक्षक आधा भन्दा बढी छन् ।

१३ औं सागमा स्वर्ण जित्ने प्रशिक्षकले ५ लाख पाउनेछन् भने रजत जित्नेले ३ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै सहायक पशिक्षकमा स्वर्ण जित्नेले ३ लाख रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख पाउनेछन् । यसैगरी खेलसंघतर्फ स्वर्ण जित्नेले ५ लाख रजत जित्नेले ३ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment