Comments Add Comment

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

१६ वैशाख, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्‍त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ ।

यो पनि पढ्नुहोस भरतपुर कोरोना अस्पताल : कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका ती सबै कागजात लिएर टोली हेटौंडा फर्किएको अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले जानकारी दिए । कोरोना विशेष अस्पतालका विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । यस अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

विवादास्पद खर्च अनुमोदन

यसैबीच अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले विवादस्पद खर्च अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले बताए । तर केही सदस्यहरुले भने यसबारे अनभिज्ञता प्रकट गरे ।

प्रदेश सरकारको १ करोड सर्शत अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पेश्की लिएको ६ लाख ५० हजार रकमलाई आम्दानी देखाइएको छ भने, खर्च १ करोड २६ लाख ४८ हजार देखाइएको छ ।

प्रदेश सरकारबाट चैत २० गते आएको सर्शत अनुदानको एक करोड रकम कोरोना अस्पतालको खातामा नै पठाइएको महानगरका लेखा अधिकृत जगन्नाथ आर्यालले जानकारी दिए । अडिट गर्ने/गराउने आर्थिक नियम ऐ अनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव एवम् प्रवक्ता डा. भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालले दिएको विवरण अनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । क्वारेन्टाइन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८,एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधी खरिद/मेशिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । अस्पतालले कति कुन कुन औषधि खरिद गरेको हो भन्ने विवरण दिएको छैन ।

छानविन समितिका संयोजकले दिए राजीनामा

यसैबीच कोरोना अस्पतालमा भएको भनिएको चोरीबारे छानविन गर्न बनाइएको  समितिका संयोजक राजु पौडेलले राजीनामा दिएका छन् । चितवन उद्योग संघका अध्यक्ष समेत रहेका उनले घटनाबारे राजनीतिक हिसावले टिकाटिप्पणी भएका कारण समितिमा बसेर काम गर्न नसक्ने अवस्था आएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment