Comments Add Comment

बालबच्चालाई यी ६ काम गर्न कहिल्यै नरोकौं

कतिपय कुरामा बालबच्चामाथि अभिभावकले नियन्त्रण गरिरहेका हुन्छन्, जो आवश्यक हुँदैन । जब बालबच्चा खेल्नका लागि दौडन्छन्, आमाबुवालाई लग्छ बच्चा लड्न सक्छन् । चोटपटक लाग्न सक्छ । जब बच्चा हिलो एवं माटोमा खेल्न थाल्छन्, आमाबुवालाई लाग्छ बच्चाको लुगाफाटो फोहोर हुन्छ । रोग लाग्न सक्छ । जब बालबच्चा घरपालुवा पशुपंक्षीलाई छुन र खेल्न खोज्छन्, आमाबुवालाई लाग्छ बच्चालाई टोक्न सक्छ । त्यसैले बालबच्चालाई आफुखुसी सबै कुरा गर्न अभिभावकले छुट दिदैनन्, जबकी त्यस्ता क्रियाकलापबाट बच्चालाई हानी होइन बरु फाइदा हुनसक्छ ।

पानीमा भिज्न

सम्झनुहोस् त, सानो छँदा तपाईं बर्खे झरीमा बेपर्वाह भिज्दा कति रोमाञ्चित हुनुहुन्थ्यो ? आकासबाट दर्केको पानीमा भिज्दै खेल्न कति रमाइलो हुन्थ्यो ?

अहिले आफ्ना बच्चालाई आकासको पानीमा भिज्न दिन भने तपाईं त्यती रुची राख्नुहुन्न । बालबच्चा पानीमा भिजेर बिरामी हुन्छन् भन्ने धेरैलाई डर लाग्छ । यद्यपि पानीमा भिजेर खेल्नु अहिलेका बालबच्चाका लागि नौलो अनुभव हुनेछ । उनीहरु पानीमा भिज्दै खेलेर रमाउँदैनन् मात्र तगडा पनि हुन्छन् ।

हिलो र माटोमा खेल्न

बालबच्चा हिलो र माटोमा खेल्न खोज्छन् भने उनीहरुलाई रोक्न हुँदैन । खुला रुपले हिलो, माटोमा खेल्न दिनुपर्छ । यसरी खेल्न पाउँदा उनीहरु दंग पर्छन् । मोबाइल वा टिभीको लतबाट मुक्त हुन्छन् ।

घरभित्र सुकिलो–मुकिलो बनाएर राख्दा बालबच्चाको शारीरिक विकास राम्ररी हुँदैन । उनीहरुको मांशपेसी बलियो हुँदैन । जोर्नी, हड्डी आदि बलियो हुँदैन । जब हिलो माटोमा खेल्न थाल्छन्, उनीहरु शारीरिक रुपमा बलियो एवं तगडा हुन्छन् ।

बनजंगलमा खेल्न

बालबच्चाहरु बनजंगल जान वा झारपात, माटोमा खेल्न रुचाउँछन् भने उनीहरुलाई रोक्नु हुँदैन । जंगलमा खुला रुपले उफ्रिन, खेल्न दिनुपर्छ । रुखमा चढ्न दिनुपर्छ । विरुवाहरु गोडमेल गर्न, स्यहार गर्न सिकाउनुपर्छ । खोलानालामा खेल्न दिनुपर्छ । प्रकृतिसँग जति धेरै नजिक हुन्छन्, उनीहरु उत्तिनै खुसी र बलियो हुन्छन् ।

घरपालुवा जनवारसँग खेल्न

गाईबस्तु, बाख्रा, कुखुरा, कुकुर आदिसँग बच्चाहरु खेल्न रमाउँछन् । आमाबुवाले आफ्नो निगरानीमा बालबच्चालाई घरपालुवा जनवारसँग खेल्न र रमाउन छुट दिनुपर्छ । यसबाट उनीहरुले जनवारको आनीबानी नजिकबाट नियाल्न वा अनुभव गर्न पाउँछन् । नयाँ नयाँ कुरा सिक्छन् ।

नयाँ कुरा चाख्न

बालबच्चा हरेक कुरा जान्न र अनुभव गर्न उत्सुक हुन्छन् । नयाँ कुरा देख्नसाथ चलाउने, खाने गर्छन् । नयाँ नयाँ परिकार देखेपछि चाख्न मन गर्छन् । यसमा पनि अभिभावकले उनीहरुलाई छुट दिनुपर्छ । यदी बालबच्चालाई हानी नगर्ने किसिमका खानेकुरा छन् भने चाख्न दिनुपर्छ ।

अनेक हर्कत गर्न

साना बालबच्चाले आफ्ना आमाबुवा वा दाजु दिदीको सिको गरेर अनेक हर्कत गरिरहेका हुन्छन् । कहिले ओंठभरी लिपस्टिक दल्छन्, क्रिम पाउडर लगाउँछन् । आफुलाई नमिल्ने लुगाफाटो लगाउँछन् । यस्ता गतिविधि पनि नियन्त्रण गर्न आवश्यक छैन । उनीहरुको यो बालशुलभ चञ्चतालाई नियन्त्रण गर्न आवश्यक छैन । बच्चालाई बच्चा जस्तै हुन दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment