Comments Add Comment

यिस्ट संक्रमणबाट कसरी बच्ने ?

यिस्ट एक फंगस हो, जुन योनीमा कम संख्यामा हुन्छ । तर, योनीमा विविध कारणले यसको संख्या एकदमै बढ्न पुग्छ । यसलाई भेजाइनल यिस्ट इन्फेक्सन भनिन्छ ।

यो आफैँमा कुनै रोग होइन । तर, यो समस्या त्यही महिलालाई बढी हुन्छ, जो यौन क्रियामा अक्सर सक्रिय हुन्छन् । कहिलेकाहीँ एन्टिबायोटिक्सले पनि यस्तो समस्या निम्त्याउँछ ।

जब यिस्ट इन्फेक्सन हुन्छ, त्यसले शरीरलाई चिलाउने र दुख्ने हुन्छ । यिस्ट इन्फेक्सन भए-नभएको केही संकेत मिल्छ ।

१. चिलाउने, दुख्ने वा योनी आसपास पीडा हुने ।

२. पिसाब फेर्न वा यौन सम्पर्क गर्दा दुखाइ वा जलन हुने ।

३. योनीद्वारबाट गाढा सेतो तरल पदार्थ बग्नु । (तर, सबै महिलामा यस्तो लक्षण नदेखिन सक्छ)

सम्भावित कारणबारे विचार गरौँ

यिस्ट इन्फेक्सन भए/नभएको थाहा पाउन शारीरिक रुपमा देखिने निम्न समस्याको बारेमा ख्याल राख्न सकिन्छ ।

एन्टिबायोटिक्सः कतिपय महिलामा केही दिनसम्म एन्टिबायोटिक्स लिएपछि यिस्ट इन्फेक्सन हुन्छ । एन्टिबायोटिक्सले हाम्रो शरीरमा रहेको ब्याक्टेरियालाई नष्ट गरिदिन्छ । यसमा यिस्टलाई बढ्नबाट रोक्ने ब्याक्टेरिया पनि पर्छ । त्यही कारण यिस्ट इन्फेक्सन हुन्छ । यदि योनी चिलाउने वा दुख्ने हुन्छ भने यिस्ट इन्फेक्सन भएको हुन सक्छ ।

मासिक श्रावः कुनैपनि महिलामा मासिक श्रावको बेला यिस्ट इन्फेक्नस हुने अधिक सम्भावना हुन्छ । यदि माथि उल्लेख गरिएको लक्षण देखिएमा यिस्ट इन्फेक्सन भएको हुनसक्छ ।

बर्थ कन्ट्रोलः  गर्भनिरोधक चक्की वा एक पटक लिइने ‘मर्निङ आफ्टर’ पिल्सको कारण हर्मोन लेभलमा परिवर्तन आउँछ । यसले पनि यिस्ट इन्फेक्सन हुने सम्भावना रहन्छ ।

एचआईभी वा मधुमेहः  मधुमेह वा एचआईभी संक्रमण भएमा पनि यिस्ट इन्फेक्सनको सम्भावना रहन्छ ।

गर्भावस्थाः  गर्भावस्थाको समयमा हुने हर्मोनल परिवर्तनको कारण यस समयमा यिस्ट इन्फेक्सन हुने सम्भावना हुन्छ ।

सामान्य अवस्थाः  कमजोरी, मोटोपन, कम सुत्ने बानी, तनाव आदि कारणले यिस्ट इन्फेक्सनको सम्भावना रहन्छ ।

योनी संक्रमणको प्रकार

योनीमा इन्फेक्सन मुख्य तीन प्रकारको हुन्छ ।

१. योनीमा यिस्ट संक्रमण – यो सबैभन्दा आम प्रकारको योनी संक्रमण हो । क्यानडिडा नामक फंगसको कारण यिस्ट संक्रमण हुन्छ ।

२. योनीमा ब्याक्टेरियल संक्रमण – यिस्टका साथै ल्याक्टोबेसिलस ब्याक्टोरिया पनि योनीमा हुन्छ । जब यसको संख्या एकदमै कम हुन पुग्छ यो ब्याक्टेरियल भेजिनोसिसको कारण बन्छ ।

३. ट्राइकोमोनिएसिस – तीन किसिमको योनी संक्रमणमा ट्राइकोमोनिएसिस एकमात्र यस्तो संक्रमण हो । जो यौन सञ्चारित संक्रमण हो । सामान्यतः यसलाई ट्रिच पनि भनिन्छ । यो संक्रमण यौन सम्पर्कको क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

के छ उपचार ?

– सकेसम्म योनीलाई सुख्खा राख्न प्रयास गर्ने । पिसाब गरिसकेपछि सफा पानीले धुने र सफा कपडाले पुछ्ने ।

-योनीको बाहिरी भाग सफा र सुख्खा राख्ने ।

–  जाली भएको वा नगुम्सिने खालको पेन्टी प्रयोग गर्ने । पोली प्रोयाइलीन, सिन्थेटिक मटिरियलको पेन्टी सुरक्षित हुन्छ ।

-सक्रिय ब्याक्टेरिया कल्चरका साथ दही सेवन गर्ने । योनीमा सामान्य ब्याक्टेरियाको स्टर बढाउनका लागि एसिडोफाइलस पनि लिनुपर्छ । यसका साथै पर्याप्त क्रेनबेरी जुस पिउनुपर्छ । यसले योनीलाई एसिडिक बनाउँछ, जसले यिस्ट प्रतिरोधी काम गर्छ ।

-चिनीजन्य पदार्थ सेवन गर्नुहुँदैन । चिनीजन्य खानेकुराले यिस्ट संक्रमणमा बढावा दिन्छ ।

-दही खानु लाभदायक हुन्छ । साथै योनी क्षेत्रमा दही लगाउन पनि सकिन्छ ।

चेतावनी

– यौन सम्पर्क गर्नुअघि यिस्ट इन्फेक्सन ठिक हुन दिनुपर्छ ।

– यदि एक वर्षमा चार पटकभन्दा बढी पटक यिस्ट इन्फेक्सन भयो भने चिकित्सकलाई देखाउनैपर्छ ।

-उपचारपछि पटक पटक यसको लक्षण देखिएमा पनि चिकित्सकलाई देखाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment