Comments Add Comment

भरतपुर अस्पतालले बन्द गर्‍यो फेसबुक पेज

१७ वैशाख, काठमाडौं । विवादमा परेपछि भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले फेसबुक पेज बन्द गरेको छ । अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबुक एकाउण्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि अस्पतालको फेसबुक एकाउण्ट बन्द गरिएको हो ।

अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेपछि उनीहरुको पक्ष र विपक्षमा विज्ञप्तिबाजी चलिरहेको छ ।

पछिल्लोपटक दुई संगठनले पत्रकारलाई धम्क्याउँदै निकालेको विज्ञप्ति अस्पतालको फेसबुक पेजमा सेयर गरिएको थियो ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ जिल्ला समिति चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला समिति चितवनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा कर्मचारीले चोरी गरेको आरोप झुट भएको जिकिर गर्दै समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने धम्की दिइएको थियो । सो विज्ञप्ति अस्पतालकै फेसबुक पेजमा पोष्ट भएपछि पत्रकारहरुले विरोध जनाएका थिए ।

भरतपुर अस्पतालका अध्यक्ष तथा कोरोना नियन्त्रण कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले केही व्यक्तिको असावधानीका कारण अस्पतालको फेसबुकमा त्यस्तो पोष्ट भएको भन्दै अस्पतालको आधिकारिक धारणाका रुपमा नबुझिदिन सबैलाई अनुरोध गरेका छन् । ‘भूल र असावधानीका कारण त्यसमा पोष्ट गरेको रहेछ’, उनले भने, ‘मैले थाहा पाउनेबित्तिकै पोष्ट हटाउन लगाएँ र अहिले फेसबुक एकाउण्ट पनि बन्द गरिएको छ ।’ कोरोना विशेष अस्पताल भरतपुर अस्पतालकै एक अंग हो ।

सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा कोरोना विशेष अस्पतालका तीन कर्मचारी मिलेर स्टोरबाट सामान पोको पारेर बाहिर निकालेको देखिन्छ । उनीहरुको दाबीअनुसार ती सामान अर्को स्टोरमा सार्नका लागि पोको पारिएको हो । सदस्यसचिव डा. अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि यही दाबी गरिएको छ ।

यसको स्वतन्त्र छानबिन गर्नका लागि बनाइएको छानबिन समितिको संयोजकले नै काम गर्न नसक्ने भनेपछि भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् । उनले जिल्ला प्रशासनलाई चिठी लेखेर स्टोरको सामग्री चोरीको आरोपसहित अनलाइनखबर डटकमले समाचार लेखेको विषयमा छानबिन गरिदिन भनेका छन् । अस्पतालका अध्यक्ष डा. अधिकारीले जिल्ला प्रशासन कार्यालयले छानबिन अघि बढाइसकेको बताए । छानबिनपछि सबै सत्य आउने भन्दै केही समय धैर्य गरिदिन उनले सबैलाई अनुरोध गरेका छन् ।

अस्पतालमा लाखौंको आर्थिक अनियमितता भएकोसमेत सूचना सार्वजनिक भएपछि हिँजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment