Comments Add Comment

वीरगञ्जमा राहत बाँड्न ल्याएको चामल गुणस्तरहीन

१८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१४ मा विपन्न नागरिकलाई वितरण गर्न लगिएको चामल गुणस्तरहीन पाइएको छ । बुधबार वितरणका लागि महानगरपालिकाले न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट ल्याएको नौ सय ५० किलो चामलमध्ये केही बोरा डल्लो परेको भेटिएको हो ।

राहत वितरण गर्न प्याकिङ गर्ने क्रममा चामलको बोरामा डल्ला भेटियो । बिन्दवासिनी ब्राण्डको बोरामा ६ महिनासम्म खान योग्य भनिए पनि उत्पादन मिति उल्लेख थिएन भने तौल पनि कम थियो । ९ सय ५० बोरा चामलमध्ये केही बोरा खोलेर हेर्दा गुणस्तरहीन देखिएको वडा अध्यक्ष भरतप्रसाद कुर्मीले बताए ।

‘प्याकिङ गराउन खोज्दा नयाँ पुराना चामल मिसिएको, डल्ला परेको चामल देखियो । कतिपय बोरामा उत्पादन मिति पनि थिएन, तौलमा पनि गडबड देखियो’ वडाध्यक्ष कुर्मीले भने ।

महानगरपालिकाले टेण्डर आह्वान गरी राहत वितरणका लागि चामल खरिद गरेको थियो । तर, कुहिएको चामल पठाइएकोबारे अनुसन्धान नै नगरी बदमासी गर्नेलाई उन्मुक्ति दिन खोजिएको छ। जनप्रतिनिधि स्वयं साढे ४ सय क्विन्टल चामलमा थोरै खराबी त आइहाल्छ भन्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् ।

वीरगञ्जमा गुणस्तरहीन चामल भेटिएमा अनुसन्धान गर्नुभन्दा त्यो चामल फिर्ता पठाई अर्को ल्याउने गरिएको छ। यसअघि पनि एक ट्रक चामल फिर्ता पठाएको वीरगञ्ज महानगरपालिकाका अधिकारी बताउँछन् ।

राहत वितरणको अनुगमन गर्न वीरगञ्ज महानगरपालिकाले कार्यपालिका सदस्य अरबिन्द गुप्ता, सुशील साह कानु र निरञ्जन सर्राफ रहेको अनुगमन समिति पनि बनाएको छ। अनुगमन समिति सदस्य अरबिन्द गुप्ता वडा नं १४ बाट मात्रै गुनासो आएको बताउँछन् ।

‘वडा नं १४ मा १/२ बोरा चामलमा ढिक्का परेको भेटिएको हो, पानीले भिजेको हुन सक्छ । तर, कहाँ भिजेको हो थाहा हुन सकेन । अन्यत्र बाँड्दा कतैबाट गुनासो आएको छैन ।’

४ लाख किलो चामल किन्दा १० किलो खराबी देखिनु ठूलो कुरा नभएको उनी बताउँछन् ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नं १४ मा बुधबार पठाएको ९ सय ५० किलो चामलमध्ये ३ वटा बोराको चामल डल्लो परेको भेटिएको स्वीकार गरे ।

‘उद्योगबाट सानो गाडीमा सिधै वडामा पठाइएको थियो, एउटा एउटा बोरा चेक गरेर ल्याउन सम्भव छैन । सानोतिनो समस्या देखिएपछि त्यो फिर्ता गरेर फ्रेस ल्याइएको छ’ नगर प्रमुख सरावगीले भने ।

४/५ सय टन किन्दा १० बोरा गुणस्तरहीन देखिनु सामान्य भन्दै उनले त्यो चामल वितरणको अनुमति नदिएको बताए । ‘तुरुन्तै फिर्ता गरेर नयाँ ल्याउनेगरी व्यवस्थापन गरेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment