Comments Add Comment

कपुर खानदान : बराजुदेखि पनाती पुस्तासम्मको बलिउड यात्रा

ऋषि कपुरलाई कसरी चिनाउने ? उनी आफ्ना जमनाका प्रिय अभिनेता । अहिलेका पुस्ताले उनलाई रणवीर कपुरका पिता भन्न सक्छन् । अघिल्लो पुस्ताले उनलाई निर्माता-निर्देशक एवं अभिनेता राज कपुरका छोरा भन्न सक्छन् । सजिलो ढंगले चाहि यसरी चिन्न सकिन्छ, उनी कपुर खानदानका एक सन्तान हुन् जसले पूर्खाले हिँडेका पाइलाका डोब पच्छ्याउदै बलिउडको सिलसिला जारी राखे ।

ऋषि कपुरले ‘मेरा नाम जोकर’मा बाल कलाकारको रुपमा काम गरेका थिए । उनको पहिलो फिल्म ‘बाबी’ थियो, जसले उनलाई बेस्ट एक्टरको अवार्ड पनि दिलायो ।

ऋषि कपुरको विवाह अभिनेत्री नीतू सिंहसँग भयो । उनीहरुको कोखबाट जन्मिएका रणवीर कपुर अहिले बलिउडका चल्तापूर्जा अभिनेतामा गनिन्छन् । ऋषि कपुरकी एक छोरी छिन्, रिद्धिमा कपुर ।  ऋषिले आफ्नो करियरमा ‘खेल खेल मे’, ‘अमर अकबर एन्जोनी’ ‘हीना’ जस्ता फिल्म खेलेका छन् ।

उनी राज कपुरका छोरा, पृथ्वीराज कपुरका नाती हुन् । पृथ्वीराज कपुर नै त्यो उद्गम विन्दु हो, जहाँबाट कपुर खानदानको बलिउड यात्रा सुरु हुन्छ ।

आखिर कपुर खानदानको उद्गम को हुन् ? कसरी कपुर खानदानले बलिउडमा आफ्नो वर्चश्व कायम राख्यो ?

पृथ्वीराज कपुरको हाँगाबिगा 

कपूर खानदानको मियो हुन्, पृथ्वीराज कपूर । पृथ्वीराज कपुरकै हाँगाबिगाले अहिले बलिउड ढाकेको छ । पृथ्वीराजका छोरा, नाती र पनाती पुस्ताले बलिउडमा आफ्नो पकड जमाइरहेका छन् ।

 

चाहे राज कपुरको कुरा गरौं वा शम्मी कपुरको, ऋषि कपुरको कुरा गरौ वा रणधीर कपुरको । करिष्मा कपुरको कुरा गरौ वा रणबीर कपुरको । पृथ्वीराज कपुरले सिनेमा क्षेत्रमा डोब नबनाएको भए उनीहरुको पाइला कता मोडिन्थ्यो ? यसै भन्न सकिदैन ।

पृथ्वीराज कपुर, जसको जन्म सन् १९०१ नोभेम्बर ३ मा भएको थियो । उनी हिन्दी सिनेमा जगत एवं भारतीय रंगमञ्चको एक होनाहार व्यक्तित्व थिए । उनले मूक फिल्मबाट आफ्नो करियर सुरु गरे । र, उनैले पहिलो पटक आवाज सहितको हिन्दी फिल्म ‘आलम आरा’मा मूख्य भूमिका निर्वाह गरे । ६ फिट २ इन्च अग्ला पृथ्वीराज कपूरले ‘मुगल ए आजम’मा अकबरको भूमिका निभाएका थिए ।

पृथ्वीराज कपूरले सन् १९४४ मा मुम्बईंमा ‘पृथ्वी थिएटर’ स्थापना गरे । यही थिएटरले देशभर घुमेर नाटक प्रदर्शन गथ्र्यो ।

पृथ्वीराज कपूरका तीन छोरो जन्मिए, राज कपूर, शम्मी कपूर र शशी कपुर । उनका एक छोरी थिइन्, उर्मिला सियाल ।

बलिउडका ‘शो म्यान’

पृथ्वीराज कपुरका छोरो राज कपुरले कपुर खानदानको विरासतलाई अगाडि बढाए । उनलाई बलिउडमा ‘शो म्यान’ भनिन्थ्यो ।

राज कपुरले हिन्दी सिनेमामा यस्ता शानदार सिनेमा दिए, जसले सिनेमा एक उद्योगमा रुपान्तरण भयो । आवरा, मेरा नाम जोकर, र श्री ४२० जस्ता फिल्मपछि नै हिन्दी फिल्मले काँचुली फेरेको हो ।

राज कपुरको विवाह कृष्णा कपुरसँग भयो । उनीहरुको तीन छोरा जन्मिए, रणधीर कपूर, ऋषि कपूर र राजीव कपुर ।

यसका साथै उनीहरुको दुई छोरी जन्मिए रीमा जैन र रितु नन्द ।

कृष्णा कपुर त्यसबेला कपूर खानदानको सबैभन्दा सिनियर सदस्य थिए, जो सामाजिक कार्यमा अग्रसर देखिन्थे ।

शम्मी कपूरको डान्सिङ स्टाइल

पृथ्वीराज कपुरका दोस्रो छोरो हुन् उनी जसले ‘तुमसा नही देखा, ‘कश्मीर की कली’, ‘जानवर’ र ‘पगला कहीं का’ जस्ता केही फिल्ममा अभिनय गरे । आफ्नो चर्चित डान्सिङ स्टाइलका कारण उनलाई ‘एल्भिस प्रिस्ले अफ इन्डिया’ भनिन्थ्यो । उनको विवाह गतिा बलीसँग भयो । उनीहरुको कोखबाट दुई सन्तान भए, आदित्य राज कपुर र कंचन देसाई ।

सन् १९५० देखि १९७० सम्म आफ्नो अभिनय र नृत्य क्षमताले सबैको दिवाना बनेका शम्मी कपुरले नेशनल अवार्ड पनि जिते ।

शम्मीले पछि अर्को विवाह पनि गरे । पहिलो गीता बाली र दोस्रो नीला देवी । खासमा नीला देवी शाम्मीका फ्यान थिइन् । शाम्मीको निधन मिर्गौला फेल भएर भएको थियो । उनको अन्तिम फिल्म ‘रकस्टार’ थियो, जसमा रणबीर कपूरले मूख्य भूमिका निर्वाह गरेका छन् ।

शशि कपूर

पृथ्वीराज कपूरका कान्छो छोरा हुन् शशि कपुर । खासमा उनको नाम बलबीर राज कपुर थियो । फिल्ममा आएपछि उनले नाम परिवर्तन गरेका हुनु । उनको विवाह जेनिफर केन्डलसँग भयो, जसको ५१ बर्षको उमेरमा क्यान्सरले मृत्यु भयो ।

शशीका तीन सन्तान छन्, कुणाल कपुर, करन कपुर र संजना कपुर । शशी अभिनेताका साथसाथै निर्माता र निर्देशक पनि हुन् । उनले ‘सत्यम शिवम सुन्दरम’, ‘दिवार’ र कभी–कभी’ जस्ता फिल्ममा काम गरे । उनले सन् १९९९ पछि स्वास्थ्यका कारण फिल्मबाट सन्यास लिए ।

रणधीर कपुर

रणधीर कपुरले पनि बलिउडमा आफ्नो पहिचान बनाए । उनले ‘जीत, ‘कल आज और कल’ र ‘हीरालाल पन्नालाल’ जस्ता फिल्ममा काम गरे । उनको पहिलो फिल्म ‘श्री ४२०’ थियो, जसमा उनले बालकलाकारको रुपमा काम गरेका थिए । उनको दुई छोरी छन्, करिना कपुर र करिष्मा कपुर ।

करिष्मा कपुर

करिष्मा कपुर रणधीर कपुर र बबिताकी छोरी हुन् । उनले आफ्नो जमानामा बलिउडमा तहल्का मच्याइन्ु । त्यसो त उनी कपुर खानदानकी पहिलो चेली हुन्, जो अभिनय क्षेत्रमा तानिइन् । उनले ‘प्रेम कैदी’ फिल्मबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘अन्दाज अपना अपना’ जस्ता फिल्ममा काम गरिन् ।

उनको दिल्लीका व्यापारीसँग विवाह भएको थियो । तर पछि दुबै अलग भए । उनीहरुको दुई बच्चा छन्, समयारा कपुर र किआन राज कपुर ।

करिना कपुर

बलिउडमा बेबो नामबाट चर्चित करिना कपुर निकै चर्चित अभिनेत्रीमा गनिन्छन् । उनी रणधीर र बबिताकी छोरी हुन् । करिष्माकी बहिनी । करिनाले सन् २००० बाट ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरेकी थिइन् । अहिले उनले सैफ अलि खानसँग विवाह गरिन् । उनीहरुको एक छोरो छन्, तैमुर खान ।

कपुर खानदानको केही रोचक कुरा

-पृथ्वी थिएटरको तत्वाधानमा सन् १९४८ मा पिफल्म बनेको थियो ‘आग ।’ यो फिल्मलाई राज कपुरले निर्देशन गरेका थिए । त्यसबेला राज कपुर २४ बर्षका मात्र थिए । उनले युवा उमेरमै निर्देशनमा हात हालेर कान्छो युवा निर्देशक बन्ने सौभाग्य पाए ।

– राज कपुरले डिम्पल कपाडियालाई बाबी फिल्मबाट भित्र्याएका थिए ।

-राज कपुरका कान्छो भाई शशि कपुरले सन् १९५१ मा आवरा नामक फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरे । उनले फिल्म आगमा पनि भूमिका निर्वाह गरेका थिए ।

– शशि कपुरले एक ब्रिटिश अभिनेत्री जेनिफर केन्डलसँग विवाह गरे । उनीहरुको बच्चा भने बलिउडमा देखिएनन् ।

-शम्मी कपुर रिहर्सल बिना नै नाच्न रुचाउँथे ।

– रणधीर कपुरलाई घरमा डब्बु, ऋषि कपुरलाई चिन्टु नामबाट बोलाइन्थ्यो ।

-राज कपुरका कान्छो छोरो राजीव कपुरले बलिउडमा कुनै छाप छाड्न सकेनन् । केही फिल्ममा अभिनय त गरे तर उनले भनेजस्तो चर्चा पाएनन् ।

-राज कपुरकी छोरी रितु नन्दा, श्वेता बच्चनकी सासु हुन् । अमिताभ बच्चनकी छोरीको विवाह निखिल नन्दासँग भएको थियो, जो एस्कार्ट ग्रुपका मालिक हुन् ।

-कपुर खानदानकी करिश्मा कपुर यस्ती सदस्य हुन्, जो एकदमै कम लेखपढ गर्नेमा पर्छिन् । उनले ६ कक्षासम्म मात्र पढेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment