+
+
Shares

बिरामी बोकेर विराटनगरका अस्पतालमा फनफनी

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख १८ गते १८:२४

१८ वैशाख, विराटनगर । आइतबार कोशी अस्पतालमा भर्ना भएका सुनसरी देवानगञ्ज–१ का रवीन्द्र यादवको स्वास्थ्यमा सुधार भएन ।

हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका उनको मिर्गौला र कलेजोमा समस्या देखियो । उनलाई भेन्टिलेटर आवश्यक भयो । कोशी अस्पतालमा भेन्टिलेटर छैन ।

त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैनजान रिफर गर्‍यो । कोशी अस्पतालबाट आफन्तले एम्बुलेन्समा राखेर नोबेल मेडिकल कलेज लगे । तर, ज्वरो देखिएको भन्दै बिरामीलाई गेटबाटै फर्काइदियो ।

त्यसपछि उनीहरू लाइफगार्ड अस्पताल पुगे । त्यहाँबाट उपचार नगरी उनीहरूलाई फर्काइयो । एकातिर रवीन्द्रको अवस्था नाजुक बन्दै थियो भने अर्कोतिर कुनैपनि अस्पतालले उनीहरूको भर्ना लिन मानेको थिएन । त्यसैले भाइ रामलालले मध्यरातमा बिरामी दाइ रवीन्द्रलाई घरमै फिर्ता लगे ।

पछि पैसा जोहो गरेर बिहानै घरबाट रामलालले नै दाइलाई लिएर हिँडे । बिरामीको ज्वरो भने घटेको थिएन । उनले नोबेल अस्पतालमा फोन गरे । तर, अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दियो । रामलाल बिरामी दाइलाई लिएर न्यूरो अस्पताल पुगे । त्यसपछि रवीन्द्रलाई ग्रिनक्रस अस्पताल लगियो, त्यहाँबाट गोल्डेन अस्पताल ल्याइयो । तर, सबैले ज्वरो नापे र गेटबाटै फर्काए ।

अन्यत्र लैजाने अवस्था थिएन । त्यसैले रामलालले रवीन्द्रलाई लिएर ९ बजे कोशी अस्पतालमा पुगे ।

उनको अवस्था झन् बिग्रिसकेको थियो । मुखबाट रगत आउन थालेको थियो । सास फेर्न गाह्रो थियो । स्वास्थ्य जाँचपछि चिकित्सकले तत्काल भेन्टिलेटर भएको स्थानमा लगेर डाइलसिस गर्न सुझाए । बिरामीको अवस्था नाजुक भएकाले रिफर गर्नु परेको कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले बताए ।

‘मृगौलामा समस्या आएकाले डायलासिसल गर्नुपर्ने थियो’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘लिभरमा पनि असर गरेका कारण उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो ।’

तर, विराटनगरको कुनै अस्पतालले भर्ना तयार भएन । त्यसैले दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले रवीन्द्रलाई धरान लगे । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि बिरामी भर्ना गर्ने÷नगर्ने दोधार थियो । तर, बिरामीले पाएको दुःख बेलिबिस्तार लगाएपछि भर्ना लिएको रवीन्द्रका बुबा जोगिलालले बताए ।

निरीह प्रदेश सरकार

भेन्टिलेटर भएका सबै अस्पतालले रवीन्द्रलाई भर्ना गर्न नमानेका विषयमा प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्तले आफ्नो निरीहता प्रस्तुत गरे । सुरुमा उनले बुझ्नुपर्छ भनेर पन्छिन खोजे ।

त्यसपछि निजी अस्पताललाई भर्ना गर्न निर्देशन दिनुको साटो उनले कोशी अस्पतालका अधिकारीहरूलाई फोन गरेर भर्ना गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?