News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सामान्य थकानका कारण सेनाको हेलिकप्टर र स्काइट्रक प्रयोग गरी काठमाडौँ फर्किएका छन् ।
- अस्पताल भर्ना हुनु नपरेका मन्त्री लम्साल सिकिस्त नभएको पुष्टि भएपछि यसबारे प्रतिनिधिसभामा समेत विरोध सुरु भएको छ ।
- सचिवालयले मन्त्री गम्भीर बिरामी भएको दाबी गरे पनि उनी उपचारविना नै घर फर्केर आराम गरिरहेका छन् ।
१ भदौ, काठमाडौं । लामो समयदेखि देश दौडाहामा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ३० साउनमा आफैं गाडी हाँकेर दार्चुलाबाट बैतडी पुगे । उनको स्वागतमा बैतडीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता-कार्यकर्ताको बाक्लै उपस्थिति थियो।
तर, मन्त्री लम्साल उनीहरू कसैको स्वागत-सम्मान ग्रहण गर्ने मनस्थितिमा थिएनन् । त्यही भएर उनी सुइँसुइँ ‘रेस्ट’ गर्न कोठातिरै लागे।
बैतडीको प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार साउनको ३१ गते मन्त्री लम्साललाई जिल्लामा चलिरहेको आयोजनाहरूको ब्रिफिङ र समग्र वस्तुस्थितिको जानकारी गराउने कार्यक्रम थियो। तर लम्सालले आफू बिरामी भएको भन्दै सचिवालय सदस्यहरूको नेतृत्वमा बैठक चलाउन निर्देशन दिए । त्यसैअनुसार बैठक लामो समयसम्मै चल्यो ।
बिहानदेखि ‘रेस्ट मोड’मा रहेका मन्त्री लम्साल सिकिस्त बिरामी भएको समाचार करिब चार बजे सञ्चार माध्यममा फैलियो। लगत्तै उनी सुर्खेतमा रहेको सेनाको हेलिकप्टर बैतडी झिकाएर धनगढी ओर्लिए र सेनाकै स्काइट्रकबाट सिधै काठमाडौँ फर्किए।
खासमा के भएको थियो मन्त्री लम्साललाई? हेलिकप्टरबाट उद्धार गरिहाल्नुपर्ने स्थितिमा उनी थिए वा थिएनन्? सिकिस्त बिरामी भनेर काठमाडौँ झिकाइएका उनलाई कहाँ भर्ना गरियो?
अनलाइखबरको सोधीखोजीमा मन्त्री लम्साल सामान्य बिरामी भएको मात्रै भेटियो। लामो समयसम्म गाडी चलाएको र लामो यात्रा गर्दा विभिन्न स्थानको खानपिनले गलेका उनी अत्यधिक थकाइका कारण क्लान्त बनेका हुन्।
लम्साल सिकिस्त बिरामी नभएको र आकस्मिक उपचारको प्रबन्ध बैतडीमै मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्यालसँगै कुराकानी गर्दा पुष्टि हुन्छ। उनका अनुसार मन्त्री लम्साल बैतडी पुगेकै राति डाक्टर बोलाइएको थियो।
‘मन्त्रीजी साँझ आउँदा नै एकदमै थाकेको देखिनुभएको थियो । अलिक बिरामी नै भएको जानकारी आएपछि हाम्रै अगाडि डाक्टर बोलाएर जाँच्न लगाइयो,’ अर्यालले अनलाइनखबरसँग भनिन्, ‘तर ठ्याक्कै डाक्टरको रिपोर्टमा के आयो हामीले बुझ्न सकेनौं।’
मन्त्री लम्सालको विषयमा अलिक ठोस कुरा बुझ्न अनलाइनखबरले उनकै समूहमा रहेका एक सदस्यलाई सम्पर्क गर्यो। ती सदस्यका अनुसार लम्साललाई शरीर दुखेर थकान महसुस भएको थियो। पछि ज्वरो नै आउला कि भनेर मात्रै उनी भ्रमण नलम्ब्याइ काठमाडौँ फर्किने निर्णयमा पुगेका थिए।
‘हुन त एकरात बैतडीमै आराम गरेर भोलिपल्ट काठमाडौँ आउँदा पनि हुन्थ्यो,’ ती सदस्यले भने, ‘तर उहाँले तत्कालै काठमाडौँ फर्किन्छु भनेपछि सेनासँग कुरा भएको हो।’
सैनिक अस्पतालबाट राति नै घर
धनगढीबाट स्काइट्रक चढेर काठमाडौँ आएका मन्त्री लम्साल सेनाकै रोहवरमा छाउनीस्थित सैनिक अस्पताल पुगेका थिए। तर उनी भर्ना नभएर आफ्नै निवास फर्किए। सिकिस्त बिरामी नभएको, हेलिकप्टरमा आफैं चढेको र आकस्मिक रूपमा काठमाडौँ उत्रिएर पनि अस्पताल भर्ना हुन नपरेको तथ्यले नै उनी कति बिरामी थिए भन्ने प्रष्ट हुन्छ ।
यद्यपि, मन्त्री लम्सालका सचिवालय सदस्य इन्जिनियर दिनेश रावत भने लम्साल गम्भीर बिरामी भएरै सेनाको सहायतामा काठमाडौँ फर्किएको तर्क गर्छन्। उनका अनुसार लामो यात्रा र थकानले मन्त्री लम्साललाई पखाला, उच्च ज्वरो र निरन्तर बान्ता आइरहेको थियो।
रावतको यस्तो जवाफमा अनलाइनखबरले ‘मन्त्री लम्साल साँच्चै सिकिस्त थिए भने बैतडी वा धनगढीमै किन तुरुन्तै भर्ना गरिएन?’ भनेर सोधेको थियो। जवाफमा रावतले लम्साल आफैंले काठमाडौँ फर्किने भनेको बताए। लम्साल काठमाडौँ आएर पनि किन कुनै अस्पतालमा भर्ना भएनन्? भन्ने प्रश्नमा उनले आफूलाई यो विषयमा जानकारी नभएको बताए।
उनको सचिवालयका अनुसार पाँच दिनका लागि सामान्य औषधि दिइएको छ । हाल उनी त्यो औषधि सेवन गरिरहेका छन् ।
मन्त्री लम्सालका स्वकीय सचिव प्रतीक श्रेष्ठ भने सुरुमा गाडीमै फर्किने कुरा भए पनि अत्यधिक थकाइका कारण गाडी चलाउने अवस्था नहुँदा सेनाको हेलिकप्टर र स्काइट्रक प्रयोग गर्नुपरेको बताउँछन्। उनका अनुसार आत्तिनुपर्ने अवस्था हिजो पनि थिएन, आज पनि छैन।
‘गाडीमा आउँदा हुन्थ्यो तर पहिल्यै थाकिसकेको र फेरि लामो बाटो गुडाउनुपर्ने भएर मात्र हो,’ श्रेष्ठले अनलाइलखबरसँग भने, ‘अहिले उहाँलाई ठिक छ। सबै नर्मल छ। केही समय आराम जरुरी छ।’
मन्त्री लम्सालकै एक निकटस्थ भने अवस्था नर्मल हुँदाहुँदै सेनाको हेलिकप्टर र स्काइट्रक प्रयोग गर्नु राम्रो नभएको बताउँछन्। उनका अनुसार बैतडी र धनगढीमै सुविधासम्पन्न अस्पताल थिए ।
‘केटाहरू के गरिरहेका छन् बुझ्नै नसकिने भइयो,’ उनले हाँस्दै भने, ‘काठमाडौँ तुका तु फर्किन मन लाग्दैमा सोझै हेलिकप्टर र स्काइट्रक नै प्रयोग गर्ने त होइन नि।’
सामान्य बिरामी हुँदा पनि नेपाली सेनाले किन मन्त्री लम्सालका लागि हेलिकप्टर र स्काइट्रक उडाएको भन्ने विषयमा प्रतिक्रिया लिन अनलाइनखबरले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतलाई सम्पर्क गरेको थियो। तर उनी आफू भारतीय प्रधानसेनापतिका लागि आयोजित कार्यक्रममा व्यस्त भएको बताए।
स्काइट्रकमा उडेर काठमाडौँ फर्किएका मन्त्री लम्साल घरमा आराम गर्दै गरेको खबरले प्रतिनिधिसभा समेत तरंगित बनेको छ । आजको बैठकमा केही सांसदले विरोध जनाएका छन् ।
प्रतिक्रिया 4